विकसँगै वेपत्ता प्रहरी जवान साउदको शव पनि मोहना नदीमै भेटियो

विकसँगै वेपत्ता प्रहरी जवान साउदको शव पनि मोहना नदीमै भेटियो

धनगढी कात्तिक ४ गते । प्रहरी सहायक निरीक्षक गोबिन्द विकसँगै वेपत्ता रहेका कैलालीको जुगेडा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको मोहना नदीमै शव फेला परेको छ । शनिबार राती तस्करहरुले प्रहरी सहायक निरीक्षक गोविन्द विकको हत्या गरेपनि जवान साउद भने वेपत्ता थिए । जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेकाको प्रारम्भिक बयानका आधारमा जवान साउदको शव फेला परेको जनाएको छ । उनको शव प्रहरी सहायक निरीक्षक विकको शव पाएको भन्दा उत्तरतिर मोहना नदीकै बीचमा बालुवामुनि पुरिएको अवस्थामा फेला परेको हो ।

घटना विवरण अनुसार शनिबार राती असई विकलाई ठूलो परिमाणमा सामान भारततिर तस्करी भइरहेको सूचना आएको थियो । बेलुकीको खाना खाएर, उनी जवान साउदलाई साथमा लगेर मोहना नदी भएको सीमातिर लागे । दुबैजनाले चढेको मोटरसाइकल बस्तीमा एकजनाको घरमा राखे र तस्करी हुने स्थानमा ढुकी राखे ।रातीको १० बजेतिर तस्करीको चार डल्लब सामान सीमामा पुग्यो । असई विक र जवान साउदले सो सामान पक्राउ गर्न खोज्दा तस्करसँग मुठभेड भएको प्रहरीको अनुमान छ । असई विकको शव मोहना नदीमा आइतबार बिहान फेला परेको थियो । उनको सोमबार कञ्चनपुरको दोदा नदीमा दाहसंस्कार गरिएको छ । ‘घटनास्थलमा असई विकको स्लिपिङ ब्याग रुखको हाँगोमा झुण्ड्याइएको अवस्थामा भेटिएको थियो, त्यसका आधारमा उनीहरु केही बेर तस्करलाई समात्न ढुकिरहेको प्रष्ट हुन्छ,’ एकजना प्रहरी अधिकृतले भने।

प्रहरीले तस्करीमा संलग्न र हत्यामा संलग्नको पहिचान गरिसकेको छ । ‘केही पक्राउ परेका छन, केही अहिले पनि फरार छन,’ ती प्रहरी अधिकृतले भने। अहिले प्रदेश भरीका अपराध अनुसन्धानमा दख्खल भएका सबैजनालाई परिचालित गरिएको छ ।तीन महिनाअघि मात्रै अस्थाई प्रहरी चौकीमा खटाइएका असई विक तस्करका लागि कडा रुपमा प्रस्तुत भएका थिए । उनले तीन महिनामा चार पटक तस्करीको सामान बरामद गरेका थिए । जुगेडा क्षेत्र प्रदेशको सदरमुकाम धनगढी भएर सुदूरपश्चिमका ९ वटै जिल्लाका लागि सामान तस्करी हुने स्थान मानिन्छ । त्यहाँ नेपाल र भारतका तस्करहरु राती हतियारसहित तस्करी गर्ने गरेको स्थानीयले बताएका छन् । 

‘कोभिडका कारण दुबै देशको सीमाना बन्द छ, तर तस्कररका लागि कोभिड दुहुनो गाई जस्तै भएको छ, अहिले सामान्य अवस्था भन्दा तस्करी बढेको छ,’ एकजना स्थानीयले भने । ‘तस्करहरुका बारेमा स्थानीय सबैलाई थाहा छ, तर बोल्ने कस्ले ? उनीहरु हतियारसहित राती राती तस्करी गर्छन,’ उनले थपे ।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घटनास्थलमा दुईवटा तस्कर समूहले प्रहरीको हत्या गरेको खुलेको छ । ‘पहिला भेटिएको तस्करको समूहले प्रहरीमाथि आक्रमण गरेको र असई विकको हत्या गरी नदीमा शव फाल्यो, त्यसपछि आएको अर्को तस्करको समूहले बाटोमै जवानको शव भेटेको र त्यसलाई पनि नदीको बीचमा गाढेको जस्तो देखिन्छ,’ एकजना प्रहरी अधिकृतले भने । 

घटना विवरण बारेमा प्रहरीको आधिकारिक भनाई भने बाहिर आएको छैन । घटना भएको दिनदेखि प्रहरीले १३ जनालाई अनुसन्धानका लागि पक्राउ गरेको छ । ‘ती मध्ये पनि एकले अर्कालाई नचिन्दा रहेछन, त्यसबाट के बुझिन्छ भने दुई वटा फरक फरक तस्करका समूह मोहना नदीको घाटमा सँगसँगै भेटिए,’ प्रहरी अधिकृतको भनाइ छ ।अस्थाई प्रहरी चौकी धनगढी उपमहानगरपालिकाको वडा नम्बर १२ मा राखिएको छ भने त्यो चौकीले धनगढीको वडा नम्बर ९, १० र १२ को सीमा क्षेत्र हेर्नुपर्छ । धनगढी वडा नम्बर १० को सीमा क्षेत्र (सव पिलस नं. १६४ ए) को आसपासको क्षेत्र तस्करीको मुख्य विन्दु हो ।

अहिले नेपालबाट, मटरको भारी मात्रामा भारततिर तस्करी भइरहेको छ । नेपालमा चाईनाको मटर आउने र त्यो मटर भारत तस्करी हुने गरेको हो । भारतले मटर आयातमा प्रतिवन्ध लगाएको छ । भारतको भन्दा आधा मुल्यमा चीनको मटर पर्ने भएकाले तस्करी बढेको हो । मुठभेड भएको स्थलमा केही मटर पनि खसेकाले, नेपालबाट मटरको तस्करी गर्नेहरुको हत्यामा संलग्नता हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया