गुराँसेकाे भ्यु टावरमा बढे पर्यटक

गुराँसेकाे भ्यु टावरमा बढे पर्यटक

दैलेख कात्तिक ४ गते ।  जिल्लाको गुराँस गाउँपालिका–५ गुराँसे क्षेत्रमा भ्यु टावर निर्माण गरिएको छ। दृश्यावलोकनका लागि उपयुक्त स्थानको रूपमा रहेको गुराँसे क्षेत्र जिल्लाको अब्बल पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले भ्यु टावर निर्माण गरिएको हो। योसँगै यहाँ अवलोकन गर्न आउने पर्यटकको संख्या बढेको छ।

६१ लाख ९५ हजारको लागतमा भ्यु टावर निर्माण भएको हो। २०७५/०७६ मा २७ लाख ७५ हजार ०७६÷०७७ मा ३४ लाख २० हजार बजेट भ्यु टावर निर्माणमा खर्च गरिएको छ। त्यसमध्ये स्थानीयले ५ लाख ७० हजार बराबर जनश्रमदान गरेका छन्। कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत डिभिजन वन कार्यालयको अनुदान तथा गुराँस गाउँपालिकाको समन्वयमा सरस्वती सामुदायिक वनमा भ्यु टावर निर्माण गरिएको हो। हाल भ्यु टावर निर्माण, घेरबार, गुराँसको रूख निर्माण तथा पत्थर बिछ्याउने कार्य सकिएको छ। एक मौसममा मात्रै फुल्ने गुराँसलाई बाह्रैमहिनासम्म झल्काउने गरी गुराँसको रूख नै बनाइएको डिभिजन वन कार्यालय दैलेखका डिभिजनल वन अधिकृत मुनबहादुर रावतले बताए। गुराँसको बिरुवामा बाघ, डाँफे, गिद्ध, चरा, सर्पलगायत आकृतिसमेत निर्माण गरिएको छ। भ्यु टावरको केही काम बाँकी नै छ। ‘भ्यु टावरलाई अझै आकर्षक बनाउन बाँकी छ’, सहायक वन अधिकृत नवराज पौडेलले भने। भ्यु टावर निर्माणको केही काम बाँकी छँदै यहाँ आन्तरिक पर्यटकको भीड लाग्न थालेको पौडेलको भनाइ छ। 

जैविक विविधता झल्कने संरचना निर्माण भएको आन्तरिक पर्यटक तेजकुमारी जीसीले बताइन्। ‘भ्यु टावरसँगै गुराँसको रूखमा बाघ, डाँफे, गिद्ध, चरा, सर्पलगायत आकृति हेर्न आउनैपर्छ’, उनले भनिन्। कलात्मक शैलीमा निर्माण गरिएका संरचना अवलोकनका लागि महत्त्पूर्ण रहेको नारायण नगरपालिकाका झलकप्रसाद कोइरालाले बताए। भ्यु टावरबाट सुर्खेत र अछामका विभिन्न भू–भाग, बर्दियाका फाँट, सिंगो दैलेखलगायत सिस्ने हिमाल, अपि सैपालको दृश्यावलोकन गर्न सकिन्छ। गुराँसे क्षेत्रमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट करिब एक घण्टाको नागबेली सडकको यात्रापछि पुग्न सकिन्छ। सुर्खेत दैलेख सडक खण्ड हुँदै दिनहुँ हजारौं यात्रु यात्रा गर्छन्। यो सडक हुँदै ओहोरदोहोर गर्नेका लागि भ्यु टावर रोजाइमा पर्ने गरेको छ।

प्रतिक्रिया