नलैजाऔं ‘कोरोना कोसेली’

नलैजाऔं ‘कोरोना कोसेली’

काठमाडौं कात्तिक ७ गते ।  कोरोना भाइरस परीक्षण र उपचार स्वयं गर्नुपर्ने भन्दै सरकार पछि हटेको छ। भाइरस संक्रमण भने झन् तीव्र भइरहेको छ। कोरोनाका सक्रिय संक्रमित नै ४४ हजार ८ सय ७७ जना पुगेका छन्। एकै दिन ५ हजार ७ सय जनासम्ममा कोरोना पुष्टि भएको छ। यस्तो बेला काठमाडौं उपत्यकासहित सहरी क्षेत्रबाट दसैं मनाउन घर जानेहरूले कोरोना गाउँतिर पु¥याउने जोखिम देखिएको छ। 

जनस्वास्थ्यविद् डा. शरद वन्त संक्रमितहरू पहिचान नभई चलायमान रहेको अवस्थामा सहरबाट गाउँ जानाले जोखिम बढेको बताउँछन्। ‘अहिले चाडपर्वमा मान्छेको मोबिलिटी बढेको छ। काठमाडौंलगायत सहरबाट मानिसहरू गाउँ जाँदा संक्रमण पनि अब गाउँमा फैलिने सम्भावना बढी छ’, डा. वन्त भन्छन्, ‘गाउँ मात्रै होइन, सहरभित्रै पनि अझै फैलिने चिन्ता र सम्भावना उत्तिकै छ।’ 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा.अनुप बाँस्तोला दसैंपछिका दुई–तीन सातामा संक्रमण देखिन थाल्ने अनुमान गर्छन्। ‘जहाँ छौं त्यहीं नै दसैं मानौं भन्ने सरकारको अनुरोधलाई नमानेर गाउँ जाने संख्या बढेको देखिन्छ’, डा. बाँस्तोला भन्छन्, ‘यसले गाउँमा पनि संक्रमण फैलने उच्च सम्भावना छ। दसैँपछिका दुई–तीन सातामा संक्रमण देखिन थाल्छ।’ संक्रमण अझै भयावह स्थितितर्फ जाने सम्भावना रहेकाले सबै जनाले सचेततापूर्वक रोकथाममा ध्यान दिनुपर्ने उनको भनाइ छ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी रामेश्वरप्रसाद यादवका अनुसार अहिले काठमाडांैबाट बाहिरिने यात्रुको संख्या सरदर दैनिक २३ हजार छ। फूलपातीदेखि कार्यालय बिदा भएपछि यो संख्या अझै थपिने एसपी यादव बताउँछन् । तथ्यांकअनुसार जाने मात्रै होइन, बाहिरबाट भित्रिनेको संख्या पनि उस्तै छ। 

डा. वन्त अब संक्रमण रोकथाम र संक्रमितको उपचार÷व्यवस्थापन दुई उपाय रहेको बताउँछन्। ‘संक्रमणलाई नियन्त्रण गर्ने दुई पाटो छ’, उनी भन्छन्, ‘संक्रमणको रोकथाम र संक्रमितको व्यवस्थापन। तर, अहिले दुवै कुरामा हामी चुक्यौं। संक्रमण रोकथामका लागि आमनागरिक र सरकार दुवैको भूमिका हुन्छ। अझ महŒवपूर्ण भूमिका आमनागरिकको हुन्छ। तर, संक्रमितको व्यवस्थापनको चरणमा गएपछि त्यसमा बढी भूमिका सरकारको हुन्छ। किनकि व्यवस्थापनका लागि नागरिक आफैंले अस्पताल बनाउने कुरा हुँदैन।’ संक्रमण रोकथाम  गर्न नसके स्थिति योभन्दा विकराल हुँदै जाने उनको अनुमान छ। 

डा. बाँस्तोला जम्मै कुरा स्वास्थ्यकर्मीको काँधमा छाडेर मात्रै नहुने बताउँछन्। ‘हाम्रो मात्रै जिम्मेवारी होइन। हामी पनि थाक्छौं। मानसिक तनाव हुन्छ। ८ महिनादेखि संक्रमितको उपचार गरिरहेका छौं। हामी स्वास्थ्याकर्मी ओभर लोडेड भएका छौं’, उनी भन्छन्, ‘संक्रमण रोकथाम गर्न जनमानसले साथ दिने कुरा हो।’ सबै जना सुरक्षा मापदण्डअनुसार चल्नुपर्ने उनको सुझाव छ। 

सतर्कता अपनाई मापदण्ड पालना गर्न डा.वन्तको सुझाव छ। ‘हामीसँग संक्रमण रोक्ने उपाय अझै छन्’, उनी भन्छन्, ‘संक्रमण न्यून गर्ने मुख्य उपाय हाम्रो चाललाई सकेसम्म न्यून गरौं। संक्रमण फैलिएको ८ महिना बितिसक्दा पनि अझै सुरक्षा अपनाउन सकेका छैनौं। सुरक्षा मापदण्डअनुसार चलौं।’ अन्नपूर्ण पोस्ट्बाट साभार ।

प्रतिक्रिया