सोसेकको पारदर्शिता नै मन पर्छ ः वडाध्यक्ष शाही

सोसेकको पारदर्शिता नै मन पर्छ ः वडाध्यक्ष शाही

आठबीस नगरपालिका–३ का वडाध्यक्ष प्रयागबहादुर शाहीले सामाजिक सेवा केन्द्र (सोसेक)को पारदर्शी कार्यशैली र आपतकालिन सहयोग गर्ने तरिका आफूलाई मन परेको बताएका छन् । सो वडाको कुमालखाडा गाउँको डाँडाखोला पोखरी निर्माण गरेका स्थानीय उपभोक्ताहरुलाई मजदूरीको रकम वितरण कार्यक्रममा उनले त्यस्तो बताएका हुन् ।

‘आफ्नै पाखो बारीमा तरकारी खेती गर्न गाउँमै पोखरी निर्माण गरी सेवा उपभोग गरेकाहरुले दशैंको बेला हातहातमा रकम पाएको त्यो भन्दा अरु ठूलो खुशी के हुन सक्छ ? अरुले जे भनून म धेरै खुशी छु, यस्ता कार्यक्रम ल्याएर आइरहनुस् मिलेर काम गरिरहन चाहन्छौं’ वडाध्यक्ष शाहीले भने ।

त्यस बखत सामाजिक सेवा केन्द्र (सोसेक)का संस्थापक अध्यक्ष हीरासिंह थापाले कोरोना संक्रमणका कारण भारतमा समेत लकडाउन भएको बेला घर फर्किएकाहरुलाई गाउँमै रोजगारीको अवसर दिलाउने सानो प्रयास स्वरुप कुमालखाडामा सिंचाई पोखरीको काम गरिएको बताए ।

समुदायको आवश्यकताका आधारमा योजना छनौट गर्ने, कार्यक्रमको इमान्दारिता पूर्वक काम गर्ने र विकास गतिविधिलाई दिगो र जनजीविकालाई सहज बनाउन प्रयत्न गरिएको र भविष्यमा पनि समुदायको अग्रसरता भइरहेमा संस्थानले अरु श्रोतहरु पनि खोज्दै जाने प्रतिवद्धता जनाए ।

सामाजिक सेवा केन्द्र (सोसेक)ले डीसीएको सहयोगमा सञ्चालन गरेको साकार परियोजना ८ लाख ७५ हजार रुपैंयाँमा आठबीस नगरपालिका–३ कै निमायल कालो पोखरी मुहानबाट पानी कुमालखाडा गाउँको डाँडाखोला पोखरी निर्माण गरिएको हो ।

परियोजनाले पोखरी खन्न र पाइपलाइनमा स्थानीय उपभोक्ताले काम गर्न ५ लाख र करिब ३ लाख ७५ हजार रुपैंयाँ चाहिं पाइप, सिमेण्ट लगायतका निर्माण सामग्रीमा रकम बिनियोजन गरिएको छ । योजनाको करिव ९५ प्रतिशत काम सम्पन्न भएको बेला पानी सञ्चालन भइसकेको छ ।

गाउँको माथि डाँडापोखरीमा निर्माण गरिएको ६ मीटर चौडाई र ७ मीटर लम्वाईको निर्मित पोखरीबाट ३० घरले घरघरै पाइपबाट पानी लिई प्लास्टिक टनेल निर्माण, करेसाबारी तरकारी खेती गर्न सजिलो भएको साकार परियोजनाका कृषि प्रविधिक बितिा माझीले बताइन् ।

साकार परियोजनाले नमूना गाउँ भनेको कुमालखाडाका ३० घरमा कम्पोष्ट मल तयार पार्ने भकारो निर्माण गरेका परियोजनाका अर्का कृषि प्राविधिक कमल शाहीले बताए । उनका अनुसार भकारो बनाउन हरेक परिवारलाई ४ हजार नगद दिइएको र ४ हजारका निर्माण सामग्री संस्थाले उपलब्ध गराएको थियो ।

साकार परियोजना सञ्चालन भएका दैलेखको आठबीस नगरपालिकाको वडा नं. ३, ४, ५ र ८ अनि अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं. ४, ४, ८ र ९ मा लकडाउनपछि गाउँ फर्किएका युवाहरुलाई स्वरोजगार सिर्जना र उपार्जनका काममा लगाउने स्थनीय आवश्यकता योजनाहरु सञ्चालन भइरहेको साकार परियोजना संयोजकले जानकारी दिए ।

प्रतिक्रिया