बाँकेमा कोरोनाबाट ३ दिनमा ८ जनाको मृत्यु

बाँकेमा कोरोनाबाट ३ दिनमा ८ जनाको मृत्यु

नेपालगन्ज कार्तिक १७ : बाँकेमा शनिबारदेखि सोमबारसम्म तीन दिनमा दुई ठूला अस्पतालमा उपचार गराइरहेका ८ संक्रमितको ज्यान गएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बाँकेका ४, दाङका तीन र कैलालीका एक जनाको कोरोनाबाट मृत्यु भएको हो । आइतबार ४ जना, शनिबार ३ जना र सोमबार एकजनाको ज्यान गएको थियो । 
सोमबार बिहान १०:३० बजे नेपालगन्ज उपमहानगरपालिका–२ की वडा सदस्य ६७ वर्षीया शान्तिदेवी परियारको निधन भयो । ३ असोजमा कोरोना संक्रमण भएकी उनलाई स्वासप्रस्वास सम्बन्धी समस्या थियो । 

आइतबार चारजनाको कोरोनाबाट ज्यान गएको थियो । मृत्यु हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका ९ का ४८ वर्षका पुरुषको भेरी अस्पतालमा, बिहान साँझ ५ बजे भेरीमै नेपालगन्ज उपमहानगरपालिका १६ की ७० वर्षीया महिलाको, राति १ बजे कैलालीको टीकापुर नगरपालिका–१ का ६० वर्षका पुरुषको भेरीमै र साँझ ५:३० बजे खजुरा गाउँपालिका–३ बीगाउँका ४० वर्षका पुरुषको पनि मृत्यु भएको थियो । 

शनिबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा दाङ घोराही उपमहानगरपालिका–४ का ७० वर्षीय पुरुषको, तुलसीपुर उपमहानगरपालिका–१८ का ७० वर्षका पुरुषको दिउँसो २ : ४५ बजे र नेपालगन्ज उपमहानगरपालिका २० की ६० वर्षीया महिलाको साँझ ५:३० बजे मृत्यु भएको हो ।

योसँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुने संख्या ३४ र भने बाहिरी जिल्लाबाट उपचार गर्न आएका २१ गरी ५५ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।  

प्रतिक्रिया