गरिबीको मार : दुवै मृगौला फेल, प्रत्यारोपण गर्ने रकम नहुँदा अस्पातलको शैयामा छट्पटाउँदै

गरिबीको मार : दुवै मृगौला फेल, प्रत्यारोपण गर्ने रकम नहुँदा अस्पातलको शैयामा छट्पटाउँदै

हिक्मतबहादुर नेपाली
दैलेख कात्तिक १८ गते ।

रिमा विक, सुरुमा शरिरलाई रोगले च्यापेको पत्तै भएन् । लामो समयपछि मात्रै दैलेख अस्पतालमा जाँच गरिन् । जाँच गर्दासम्म सुगरले च्यापिसकेको थाहा पाइन् । सुगरले थलिएकी रिमालाई थप उपचार गर्नुपर्ने भयो । उपचार गर्ने आर्थिक स्रोत नहुँदा ऋण खोजेर उपचारका लागि भारत पुगिन् । झण्डै पाँच महिनाको उपचारपछि सामान्य निको भएर घर फर्किएकी रिमालाई २०७२ बैशाखमा रोगले झनै च्याप्यो । उनको स्वास्थ्य समस्या जटिल हुन थालेपछि परिवारले २०७२ बैशाख १२ गते भुकम्प गएकै दिन पुनः दैलेख अस्पताल ल्याई पु¥याए । अस्पतालले नेपालगंज रिफर गरिदियो । त्यहाँ जाँच गर्दा मृगौलामा समस्या रहेको पत्ता लाग्यो । उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा जाने उनको परिवारसँग आर्थिक स्रोत थिएन् । त्यस यता सामान्य उपचारमै दैलेख, सुर्खेत, नेपालगंज लगाएतका अस्पताल चाहारिन् । तर, निको भएन् ।
अन्ततः उनका पति मनिलाल विकले ऋण काटेर पत्नीलाई काठमाडौं पु¥याए । त्यहाँ जाँच गर्दा दुवै मृगौला फेल भएको पत्ता लाग्यो । फोक्सोमा पानी जमेको र मुटुमा समेत समस्या देखिएको रिमाकी छोरी प्रतिक्षा विकले बताइन् । दुईवटै मृगौला फेल भएकी ३८ बर्षिया रिमा हाल महाराजगञ्जस्थित शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा जीवन मरणको दोसाधमा छिन् । उनि अस्पतालको बेडमा उपचारको पर्खाइमा छिन् ।
चिकित्सकका अनुसार उनको मृगौला फेर्नुको विकल्प छैन् । रिमाको मृगौला प्रत्यारोपण तथा डायलासिस गर्न आर्थिक क्षमता नभएपछि सहयोगको याचना गर्नुपरेको रिमाका पति मनिलालले बताए । ज्याला मजदुरी गरेर जीविकोपार्जन गरेको यो परिवार सात बर्ष अघि दैलेखको नौमूले गाउँपालिका–१ तोलीबाट घर जग्गा बेचेर नारायण नगरपालिका–६ काँडाचौरमा बसाई सरी आएको थियो । उनिहरु कोठाभाडामा बसेर ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् । रिमाका चार छोराछोरी छन् ।
‘आमाको उपचारमा हालसम्म १५ लाख खर्च भईसकेको छ,’ छोरी प्रतिक्षाले भनिन ‘अस्पतालले मृगौला प्रत्यारोपण र मुटुको अप्रेसनका लागि झण्डै ५० लाख खर्च लाग्छ भनेको छ, यति ठूलो रकम कहाँबाट ल्याउँ ।’ आमालाई बचाउन मृगौला दिन आफुहरु तयार रहेपनि आर्थिक क्षमता नभएको प्रतिक्षा बताउँछिन् । आमाको उपचारमा सबै रकम सकिएपछि कोठा भाडा तिर्न समेत नसकेको छोरी प्रतिक्षा बताउँछिन् । उनले आमाको उपचारमा सहयोग गरिदिन सबैलाई आग्रह गरिन् । निम्न आर्थिक अवस्था भएका यो परिवारले रिमाको हालसम्म उपचार गराउँदा भएभरको जायजेथो सकिएपछि जीवन बचाइदिन सबैसँग सहयोग याचना गरेको छ । साथीभाइ सबैसँग सरसापटी गर्दासमेत पत्नीको मृगौला फेर्न नसकेको रिमाका पति मनिलाल बताउँछन् ।

प्रतिक्रिया