बैतडी बस दुर्घटना अपडेट : मृतक ९ जनाकै सनाखत, ३४ जना घाइतेको उपचार हुँदै

बैतडी बस दुर्घटना अपडेट  : मृतक ९ जनाकै सनाखत, ३४ जना घाइतेको उपचार हुँदै

बैतडी : दशरथचन्द राजमार्गअन्र्तगत बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बिहीबार राती दुर्घटनामा मृत्यु भएका ९ जनाको सनाखत भएको छ । दुर्घटना परी मृत्यु हुनेमा बैतडीको दोगडाकेदार ६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार ६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी, कञ्चनपुरको भिमदत्त नगरपालिका ८ तिलाचौरका १५ वर्षीया कृतिका कार्की र दार्चुलाको लेकम ४ का र्तकराज गिरी रहेका छन् । 

दार्चुलाको मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझा, कञ्चनपुरको भीमदत्त नगरपालिका १० विजना धामी, कैलालीको धनगढी उपमहानगरपालिका ४ का नरेन्द्र चौधरी र धनगढी उपमहानगरपालिका १८ का ऋषिराम चौधरीको पनि सोही दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।

मृतकमध्ये कृतिका कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भने अन्य ८ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रिफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर दुर्घटनामा परेको हो । सानो घुम्तीबाट बस ६ सय मिटर जति तल खसेको छ । 

दुर्घटनाको कारण खुल्न सकेको छैन् । साहु समेत रहेका चालक बैतडीको दोगडाकेदार ७ खोचलेकका विरेन्द्र कार्की समेत घाइते छन् । क्षमताभन्दा बढी यात्रु बोकेको  र बसका चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया