राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण

राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण

भत्ता बुझ्न हस्ताक्षर गर्दै राउटे समुदायका एक बालक ।

– प्रदेशबाट भत्ता नआएपछि राउटे नागरिकले पोखे असन्तुष्टी
हिक्मतबहादुर नेपाली
दैलेख
: कर्णाली प्रदेश सरकारले दिने भनेको थप भत्ता नपाएपछि राउटे नागरिकले असन्तुष्टि व्यक्त गरेका छन् । गत कात्तिक ८ गते कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राउटे नागरिकहरुलाई थप दुई हजार रुपैयाँ भत्ता प्रदान गर्ने घोषणा गरेका थिए । सुर्खेतको चिङ्गाड गाउँपालिका–४ मा बसोबास गर्दै आएका राउटे समुदायको बस्तीमै पुगेर मुख्यमन्त्री शाहीले राउटे समुदायका सदस्यहरुलाई मासिक २ हजार रुपैयाँ भत्ता प्रदान गर्ने घोषणा गरेका थिए । सामाजिक विकास मन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसी, गुराँस गाउँपालिकाका अध्यक्ष खेमराम ओली सहित बस्तीमा पुगेका मुख्यमन्त्री शाहीले राउटेलाई थप भत्ता दिने घोषणा गरेका थिए । राउटे नागरिकहरुले शुक्रवार संघीय सरकारले दिने भत्ता वितरण गर्न पुगेका गुराँस गाउँपालिकाका जनप्रतिनीधि र कर्मचारी समक्ष प्रदेशले दिने भत्ता किन नआएको भन्दै असन्तुष्टि पोखेका हुन् ।
मुख्यमन्त्रीको घोषणापछि थप भत्ता पाउने आशमा बसेका राउटे नागरिकहरुले भत्ता नपाएपछि असन्तुष्टि व्यक्त गरेका हुन् । ‘मुख्यमन्त्रीले तीन हजारले पुग्छ की पुग्दैन भनेर सोध्नुभयो, संघीय सरकारले दिने तीन हजार भत्ताले महिना दिनसम्मका लागि चाहिने चामल किन्न समेत पुग्दैन् त्यसैले हामीले तीन हजारले पुग्दैन भनेपछि थप दुई हजार दिन्छौ भनेर जानु भयो तर, भत्ता पाएनौ,’ राउटे मुखिया सुर्यनारायण शाहीले भने ‘मुख्यमन्त्रीले भनेपछि अब पाँच हजार भत्ता आउँछ होला भनेर ढुक्क थियौ तर, आएन ।’ कर्णालीका गहनाको रुपमा रहेको राउटे समुदायका नागरिकहरुले संघीय सरकारले लोपोन्मुख जाती अन्तरगर्त मासिक ३ हजार सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।
प्रदेशले दिने भनेको थप दुई हजार भत्ता नआएपनि राउटे नागरिकहरुले संघीय सरकारमार्फत पाउने तीन हजार रुपैयाँ भत्ता बुझेका छन् । चिङ्गाड गाउँपालिका–५ मटेलाखोला किनारको तामाखानीमा रहेको राउटे बस्तीमा पुगेर गुराँस गाउँपालिकाले भत्ता वितरण गरेको हो । राउटे समुदायका सदस्यहरुलाई कात्तिक महिनाको प्रतिव्यक्ति तीन हजारका दरले भत्ता वितरण गरिएको गुराँस गाउँपालिका–८ का वडाध्यक्ष पूर्णबहादुर ओलीले बताए । फिरन्ते रुपमा जिवनयापन गर्दै आएका राउटे समुदायका व्यक्तिहरुलाई गुरासँ गाउँपालिकाले स्थायी ठेगाना भएको परिचयपत्र वितरण गरेर गाउँपालिकामार्फत भत्ता दिँदै आएको छ । ।
राउटे बस्तीमा एईआईएन लक्जेम्वर्गको आर्थीक सहयोगमा सोसेक दैलेख मार्फत राउटे परियोजना सञ्चालित छ । परियोजना मार्फत तीन जना कर्मचारी खटिईएका छन् । एक जना अहेव र दुई जना जोडी शिक्षक समुदायमा कार्यरत छन् । अघिल्लो साता राउटे समुदायका किशोर टेकराज शाही भीरबाट लडेर मृत्यु भएपछि बस्तीको अवस्था बुझ्न पुगेका संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापाका अनुसार अहेवले राउटे नागरिकहरुको स्वास्थ्य उपचार र अन्य दुई जनाको जोडी शिक्षकहरुले राउटे नागरिकहरुको आनीवानीमा परिवर्तन, पोषण, बाल संरक्षण र शिक्षाका लागि अनौपचारिक कक्षा संचालन गरिरहेका छन् । हाल ४४ घरपरिवारका राउटेको जनसंख्या एक सय ४५ रहेको छ ।

प्रतिक्रिया