सुर्खेत सिटी बसपार्क :निर्माण थालिएको ९ वर्षपछि सञ्चालनमा आउने

सुर्खेत सिटी बसपार्क :निर्माण थालिएको ९ वर्षपछि सञ्चालनमा आउने

सुर्खेत : वीरेन्द्रनगरस्थित सुर्खेत सिटी बसपार्क निर्माण कार्य थालिएको ९ वर्षपछि सञ्चालनमा आउने भएको छ । अदालतसम्म पुगेको विवाद सुल्झिएपछि मंसिर १५ (सोमबार)देखि बसपार्क सञ्चालनमा आउने भएको हो । २०६८ सालदेखि निर्माण कार्य थालिएको सिटी बसपार्क दुई वर्षमै सम्पन्न हुनेगरी सम्झौता भएको थियो । तर बसपार्क निर्माणको जिम्मा पाएको कम्पनीले राम्रोसँग काम गर्न नसकेपछि २०७२ माघदेखि निर्माणकार्य अघि बढेको थियो ।

यो बीचमा पनि दुई पटक म्याद थप गरेपछि गत वर्ष असारमा बसपार्क निर्माणको काम सकिएको थियो । नगरपालिकाले बसपार्क व्यवस्थापनको जिम्मेवारी निजी कम्पनीलाई दिने तयारी गरेपछि सोही स्थानमा निर्माण पूर्वव्यवसाय गरिरहेका व्यवसायीहरु अदालत पुगेका थिए ।पुराना व्यवसायी अदालत पुगेपछि निर्माण सकिएको करिब डेढ वर्षपछि सिटी बसपार्क सञ्चालन गर्न लागिएको वीरेन्द्रनगरका मेयर देवकुमार सुबेदीले जानकारी बताए । ‘बसपार्क सञ्चालनमा देखिएका सबै विवाद सुल्झिएका छन् । हामीले यातायात व्यवसायी र सुरक्षा निकायसँग पनि छलफल गरिसकेका छौं,’ मेयर सुबेदीले भने, ‘भोली १५ गतेबाट बसपार्क पुर्णरुपमा सञ्चालनमा आउँछ ।’

६ करोड ८२ लाख ७५ हजार ८७९ रुपैयाँमा सिटी बसपार्क निर्माण सम्झौता भएपनि पछि मूल्य समायोजन सहित ७ करोड ४४ लाख रुपैयाँ लागेको नगरपालिकाका इन्जिनियर विशाल अधिकारीले जानकारी दिए । उपत्यका नगर विकास समिति र वीरेन्द्रनगर नगरपालिकाको ऋण तथा अनुदान सहयोगमा बसपार्कको बनेको हो । बसपार्कमा ५४ सटर, ग्यारेज, टिकट काउन्टर, शौचालय, पार्किङस्थल निर्माण गरिएको छ । त्यस्तै यात्रुलाई बस्नका लागि बेग्लाबेग्लै टर्मिनल, गाडी मर्मतका लागि वर्कसप भवन, टिकट काउन्टर, शौचालय निर्माण गरिएका छन् ।

नगरपालिकाले मासिक ३१ लाख आम्दानी गर्ने

सिटी बसपार्क सञ्चालनमा आएपछि सञ्चालनको जिम्मा पाएको कन्स्ट्रक्सनले नगरपालिकालाई मासिक ३१ लाख १५ हजार रुपैयाँ तिर्नुपर्ने छ । सिटी बसपार्क सञ्चालनसम्बन्धी नगरपालिकाले बनाएको कार्यविधिमा यस्तो व्यवस्था गरिएको छ ।भक्तपुरको पीआर कन्स्ट्रक्सनले बसपार्क सञ्चालनको जिम्मा पाएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशसकिय अधिकृत टिकाराम ढकालले बताए ।‘सञ्चालनको जिम्मा पाएको कन्स्ट्रक्सनले नगरपालिकालाई मासिक ३१ लाख रुपैयाँ तिनुपर्ने हुन्छ । सटरहरुको भाडा निर्धारण गर्ने जिम्मा कन्स्ट्रक्सनलाई नै दिइएको छ,’ उनले भने ।

कन्स्ट्रक्सनले बसपार्क भित्रका ५४ वटा सटरहरुसँगै त्यहाँका ग्यारेज, रेष्टुरेष्ट तथा प्रवेश र पार्किङ शुल्क उठाउन पाउने कार्यविधिमा उल्लेख छ ।व्यापारिक प्रयोजनका लागि भाडामा दिइने ५४ वटा सटरलाई स्थानका आधारमा फरकफरक मूल्य निर्धारण गरिएको कन्स्ट्रक्सनका प्रबन्धक सञ्जय खड्काले बताए । अनलाइनखबर

प्रतिक्रिया