दैलेखका सात तहमा अस्पताल

दैलेखका सात तहमा अस्पताल

हिक्मतबहादुर नेपाली
दैलेख :
जिल्लाको पश्चिममा पर्ने आठबीस नगरपालिकालाई कर्णाली राजमार्गले छिचोलेको छ । नगरमा सुविधायुक्त अस्पताल छैन् । अस्पताल नहुँदा यहाँका नागरिकहरुले धेरैपटक स्वास्थ्योपचारमा जोखिम बेहोरेका छन् ।राजमार्गमा प्राय सवारी दुर्घटना भइरहन्छ । दुर्घटनामा परी घाइते भएकाहरुले समयमै उपचार नपाउँदै ज्यान समेत गुमाएका छन् । स्वास्थ्य चौकीकै भरमा रहेका यहाँका नागरिकहरुले अब भने स्वास्थ्योपचारमा जोखिम मोल्न नपर्ने भएको छ । 

नगरको राकमकर्णाली बजार नजिकै नैनलमाडुमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भनेपछि स्थानीयले राहत महसुस गरेका छन् । नगरका मेयर खड्गराज उपाध्यायले १५ शैयाको अस्पताल शिल्यान्यास गरेका छन् ।’अस्पताल निर्माण भएपछि आठबीस मात्रै नभई कालिकोट र सुदुरपश्चिम प्रदेशको अछाम जिल्लाको केहि भू-भागका नागरिकहरुले गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन्, मेयर उपाध्यायले भने, ‘संघीय सरकारको लगानीमा अस्पताल निर्माण थालनी भएपछि खुसी लागेको छ ।’

नगरपालिका, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्रदेश सरकारको संयुक्त प्रयासमा आठबीस नगरपालिका–३ जाक्सीमा एक सय शैयाको अस्पताल निर्माण गरिने मेयर उपाध्यायले बताए ।  त्यतिमात्रै नभइ नगरमा ट्रमा सेन्टर समेत स्थापनाको तयारी थालिएको छ । दैलेख सुर्खेत सडक खण्डमै पर्ने गाउँपालिकामा हो, गुराँस । सडक खण्डले छिचोलेको यो गाउँपालिकाका सर्वसाधरणहरु बिरामी हुँदा उपचारका लागि जिल्ला सदरमुकाम दैलेख, प्रदेश राजधानी सुर्खेत, लुम्बिनी प्रदेशको कोहलपुर तथा नेपालगंजका साथै भारतमा जानुपर्ने बाध्यता छ । सामान्य बिरामी भए पनि ठूलो रकम खर्चिएर नेपालगंज देखि भारतसम्म जानुपर्ने बाध्यता अब अन्त्य हुनेमा स्थानीय विश्वस्त छन् ।

गुराँस गाउँपालिका–४ मा १५ शैयाको अस्पताल बन्ने भएपछि स्थानीय खुसी छन् । बराहस्थित सेरीबाडा स्वास्थ्य चौकी परिषरमा प्रतिनिधि सभाका सदस्य पार्वतीकुमारी विशुन्केले अस्पतालको शिलान्यास गरेकी छन् । आठबीस नगरपालिका र गुराँस गाउँपालिका सहित जिल्लाका ७ वटा स्थानीय तहमा अस्पताल निर्माण हुनेछ । जिल्लाको आठबीस नगरपालिका, गुराँस गाउँपालिका, नौमूले गाउँपालिका, भैरबी गाउँपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका, ठाटीकाँध गाउँपालिकामा १५/१५ शैया र महाबु गाउँपालिकामा १० शैयाको अस्पताल निर्माण हुने भएको हो । ठाटीकाँध र नौमूले गाउँपालिकामा यसअघिदेखि नै प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन् ।

देशभरका सबै पालिकामा आधारभूत स्वास्थ्य सेवा पुर्याउन सरकारले अघि सारेको ५ देखि १५ बेडसम्मका अस्पताल निर्माण अन्तरगर्त दैलेखका सात वटै तहका अस्पतालहरु शिलान्यास गरिएको छ ।यद्दपी जिल्लामा रहेका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी र पर्याप्त उपकरण नहुँदा स्तरीय सेवा पु¥याउन नसकिरहेका बेला नयाँ संरचनाको शिलान्यास गरिए पनि भरपर्दो सेवा प्रवाह हुन सक्नेमा भने स्थानीय नागरिकहरु विश्वस्त छैनन् । तर, जनप्रतिनीधिहरु भने अस्पताल निर्माण भएपछि जनता गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुग्ने दाबी गरेका छन् ।

प्रतिनीधि सभा सदस्य पार्वतीकुमारी विशुन्केले अस्पताल सञ्चालनमा आएसँगै स्थानीय नागरिकहरुले घरदैलोमै स्वास्थ्य सेवा पाउने बताउँछिन् । गुराँस लगाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बहुवर्षीय योजनामा निर्माण हुन लागेको अस्पतालबाट सर्वसाधरणको स्वास्थ्यमा पहुँच बृद्धि हुने बताउँछन् । ‘अस्पताल स्थापनाको लागि छिट्टै टेन्डर प्रक्रिया हुने र कुनै अवरोध बिना अस्पताल बनाउन स्थानीय बासीले सहयोग गर्नुपर्छ, अध्यक्ष ओलीले भने, ‘अस्पताल बनेपछि उपचारका लागि बाहिर जानुपर्ने समस्याको अन्त्य हुनेछ ।’ 

प्रतिक्रिया