लैङ्गिक मैत्री बजेटका लागि प्रतिबद्धता

लैङ्गिक मैत्री बजेटका लागि प्रतिबद्धता

दैलेख : नेपालमा संघीय शासन प्रणालीको अभ्याससँगै स्थानीय पूर्वाधारमा जनताको पहुँच स्थापना, सेवा प्रवाहमा प्रभावकारिता, रोजगारीको व्यवस्था र विपत् तथा महामारीको व्यवस्थापन गर्नमा स्थानीय तहको भूमिका बढ्दो क्रममा छ । स्थानीय तहबाट जनताको घरदैलोको सरकारका रूपमा जनचाहना अनुसार सरोकारवालाको सहभागितामा स्थानीय पूर्वाधार विकास गर्ने अभ्यासको थालनी भएको छ । यद्धपी तीनै तहका (स्थानीय, प्रदेश र संघ) सरकारको बार्षिक बजेट लैङ्गिक मैत्री नभएको टिकाटिप्पणी भईरहन्छ । गुराँस गाउँपालिकाका जनप्रतिनीधि र कर्मचारीहरुले भने लैङ्गिक मैत्री बजेट ल्याउने प्रतिबद्धता जनाएका छन् ।
गाउँपालिकाका उपाध्यक्ष दीपा बीसीले गाउँपालिकाले ल्याउने बार्षीक बजेट लैङ्गिक मैत्री बनाउन पहल गर्ने बताईन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तरगर्तको एलजीविटिआई (सोजी) परियोजनाद्धारा गुराँसेमा आयोजित सामाजिक तथा लैङ्गिक समावेशी र लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष बीसीले बार्षिक नीति तथा कार्यक्रम र बजेटलाई लैङ्गिक मैत्री बनाउन पहल गर्ने प्रतिबद्धता जनाएकी हुन् ।
अर्को प्रसंगमा उपाध्यक्ष विसीले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भएपनि बर्षैभरी हिंसा विरुद्धको अभियान सञ्चालन गरिने बताइन् । ‘लैङ्गिक हिंसाबाट महिला र पुरुषमात्रै सिकार हुन्छन् भन्ने होइन,’ उपाध्यक्ष बीसीले भनिन् ‘यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुपनि हिंसाको सिकार हुने गरेका छन् ।’
स्थानीय सरकार तथा सरोकारवाला निकायहरुसँग लैङ्गिक हिंसा विरुद्ध छलफल तथा सामाजिक तथा लैङ्गिक समावेशी सम्बन्धि जानकारी दिने उदेश्यले आयोजित कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मदनप्रकाश मल्लले गाउँपालिकाबाट लैङ्गिक मैत्री बजेट विनियोजन तथा व्यवस्थापनमा पहल गर्ने बताए । स्वास्थ्य इन्चार्ज सिता मल्लले लिङ्ग पहिचान गरेर भ्रुण हत्या गर्ने प्रवृति विरुद्ध कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाइन् ।
गाउँपालिकाका स्वास्थ्य र शिक्षा शाखा, प्रहरी चौकी रानीमत्ता, गुराँस गाउँकार्यपालिकाका सदस्यहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, सेभ द चिल्ड्रेन टिका विक, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यक्रम निर्देशक नवराज बिसी, मिला श्रेष्ठ लगाएत सहभागि कार्यक्रममा लैङ्गिक हिंसा अन्त्य सँगै सामाजिक तथा लैङ्गिक समावेशीका लागि स्थानीय तह नागरिक समाज तथा सरोकारवाला निकायहरुको भूमिकाबारे छलफल भएको परियोजना अधिकृत सजना सुनारले बताइन् ।
कार्यक्रमका सहभागिहरुले लिङ्गका आधारमा गरिने विभेद महिला र पुरुष मात्र नभई यौनिक तथा लैङ्गिक अल्पसख्य समुदायका व्यक्तिहरु पनि पर्ने गरेकोबारे समेत छलफल गरेका थिए । सहभागिहरुले बढिजसो गर्भावस्था, बाल्यावस्था, किशोरावस्था तथा बृद्धाअवस्थामा हिंसाको सिकार हुने गरेको, परिवार देखि सार्वजनिक स्थान र कार्यस्थलमा हिंसा हुने गरेको बताएका छन् । सहभासगिहरुले लैङ्गिक हिंसा अन्त्यसँगै सामाजिक तथा लैङ्गिक समावेशीका लागि प्रतिबद्धता समेत जनाएको परियोजना अधिकृत सुनारले जानकारी दिइन् ।

प्रतिक्रिया