सेनाले दैलेखको कोतगढी संरक्षण गर्ने

सेनाले दैलेखको कोतगढी संरक्षण गर्ने

सुर्खेत : नेपाली सेनाले स्थानीय तहसँगको सहकार्यमा बयालकाँडा गढीको संरक्षण तथा पुनर्निर्माण गर्ने भएको छ । रणनीतिक महत्त्व बोकेका देशभरका ऐतिहासिक गढी तथा किल्लाहरुको ‘राष्ट्रिय एकीकरण मार्ग’ अन्तर्गत गढीको संरक्षण अभियान थालिएको हो ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ गोठीकाँडामा अवस्थित बयालकाँडा गढी ५ कट्ठा १३ धुर जग्गामा रहेको छ । नेपाल एकीकरणको दौरान उक्त क्षेत्रको सुरक्षाको लागि बहादुर शाहको पालामा गोर्खाली फौजले गढी निर्माण गरेको हुनसक्ने सेनाको भनाइ छ । ‘अहिलेसम्मको खोजबाट बहादुर शाहको पालामा गढी बनेको खुल्न आएको छ, थप खोज–अनुसन्धान पनि भइरहेको छ,’ गढी पुनर्निर्माणबारे छलफल गर्न आयोजित अन्तरक्रियमा नेपाली सेनाका उत्तरपश्चिम पृतनापति विज्ञानदेव पाण्डेले भने, ‘गढीको संरक्षणबाट गोठीकाँडा क्षेत्रको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्त्व बढ्ने विश्वास गरेका छौं ।’ बयलकाँडाका साथै दैलेखको कोतगढीको पनि संरक्षण गरिने उनले बताए ।

नेपाली सेनाले चालु आर्थिक वर्षमा बयलकाँडा गढी संरक्षणको लागि ५ लाख रुपैयाँ छुट्याएको थियो । उक्त बजेटबाट गढी संरक्षणबारे अन्तरक्रिया, स्थलगत अध्ययन र गढीको स्केच (डिजाइन) बनाउने काम भएको पृतनापति पाण्डेले जानकारी दिए । उनका अनुसार नेपाली सेनाले तयार पारेको स्केचलाई पुरातात्त्विक विभागले स्वीकृत गरेपछि मात्र गढी संरक्षण र पुननिर्माणको काम थालिने छ । गढी पुनर्निर्माण र संरक्षणको लागि स्थानीय तह र पुरातत्त्व विभागसँग सहकार्य गर्ने नेपाली सेनाको नीति रहेको उनले बताए ।

वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीले बयलकाँडा गढी पुनर्निर्माणकार्यलाई गोठीकाँडाको पर्यटकीय विकाससँग जोड्ने बताए । ‘सुर्खेतको नगरकोट’ भनेर चिनिने गोठीकाँडामा नगरपालिकाले पार्क, धार्मिकस्थल पुनर्निर्माण र पर्यटकीय पूर्वाधारका काम गरिरहेको उनको भनाइ छ । ‘नेपाली सेनाले गढी पुनर्निर्माण र संरक्षणको काम थालेपछि हाम्रो अभियानमा थप टेवा पुगेको छ,’ उनले भने, ‘सेना र स्थानीय सरकारको साझेदारीमा बयालकाँडा गढी र गोठीकाँडाको विकास गरिनेछ ।’

हाल गढीको जग्गाबाट पूर्वतर्फको बाटो खनिएको छ । गढीका पर्खाल भत्किनुका साथै ढुंगाहरु छरपष्ट अवस्थामा रहेका छन् । साविकको गढी गाविसले तारबार लगाएर गढी जाने बाटोमा सिमेन्टको पर्खाल लगाएको भए पनि गढी जीर्ण अवस्थामा छ । गढी नजिकै पुरातत्व विभागले बटुक भैरव मन्दिर निर्माण गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले ऐतिहासिक महत्त्वका सम्पदाहरु अनुमानको भरमा भन्दा पनि खोज तथा अनुसन्धानबाट प्राप्त तथ्यको आधारमा पुनर्निर्माण र संरक्षण गरिनुपर्ने बताए । कान्तिपुर

प्रतिक्रिया