दैलेखका ११ वटै स्थानीय तहमा ‘विद्युतीय स्वास्थ्य आपूर्ति व्यवस्थापन सूचना प्रणाली’

दैलेखका ११ वटै स्थानीय तहमा ‘विद्युतीय स्वास्थ्य आपूर्ति व्यवस्थापन सूचना प्रणाली’

विद्युतीय स्वास्थ्य आपूर्ति व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनका लागि आयोजित तालिमका सहभागिहरु ।

दैलेख : जिल्लाको ११ वटै स्थानीय तहमा विद्युतीय स्वास्थ्य आपूर्ति व्यवस्थापन सूचना प्रणाली लागु भएको छ । चार वटा नगरपालिका र सात वटा गाउँपालिका सहित ११ वटै तहमा सूचना प्रणाली लागु भएको हो । स्थानीय तहहरुमा स्वास्थ्य आपूर्ति व्यवस्थापन प्रणालीका सूचनाहरु व्यवस्थित बनाउन विद्युतीय स्वास्थ्य आपूर्ति व्यवस्थापन सूचना प्रणालीको सुरुवात गरिएको हो ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगत एकिकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाको पहलमा उक्त प्रणाली लागु भएको हो । यो प्रणालीले सुशासनलाई टेवा पु¥याउने विभागको व्यवस्थापन महाशाखा अन्तरगत एकिकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाका तथ्यांक अधिकृत शिवलाल शर्मा बताउँछन् । ‘संविधानमा नागरिकले म्याद ननाघेको र गुणस्तरिय औषधी सहजै पाउनुपर्छ भन्ने व्यवस्था गरेको छ,’ शर्माले भने ‘विगतका दिनमा सुगममा मात्रै सेवा दिने र दुर्गमका नागरिकहरु स्वास्थ्य सेवाबाट बञ्चित हुने गरेका थिए, सूचना प्रणाली लागु भएसँगै यस्तो प्रवृति अन्त्य हुन्छ ।’
स्थानीय तहको स्वास्थ्य शाखामा खरिद गरिएको औषधी पुग्यो की पुगेन् वा गुणस्तरिय औषधी छ की छैन भन्नेबारे तत्कालै जानकारी पाउन सूचना प्रणालीले टेवा पु¥याउने उनको भनाई छ । उनका अनुसार स्वास्थ्यका कार्यक्रम र औषधी खरिदमा बदमासी गर्ने प्रवृति निरुत्साहित हुनेछ । आगामी पौष पहिलो साता भित्र कर्णाली प्रदेशका २५ नगरपालिका र ५४ गाउँपालिका गरि ७९ वटा स्थानीय तह सहिता मुलुकका ७५३ वटै स्थानीय तहहरुमा विद्युतीय स्वास्थ्य आपूर्ति व्यवस्थापन सूचना प्रणाली लागु भईसक्ने शर्माले जानकारी दिए । ‘आगामी दिनमा समन्वयात्मक कार्य सञ्चालनको लागि यसको महत्व (तथ्यांक प्रयोग) सम्बन्धी स्थानीय तहका प्रमुख लगायतलाई अभिमुखिकरण गर्नुपर्छ,’ उनले भने ‘सूचना प्रणालीका लागि अति आवश्यक कम्प्युटर सेट, इन्टरनेट, पावर व्याकअप र तथ्यांक अपडेट गर्ने जनशक्तिको व्यवस्थापन समेत हुनुपर्छ ।’
कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहको स्वास्थ्य शाखा प्रमुख र मातहतका कर्मचारीलाई तीन दिने तालिम समेत प्रदान गरिएको छ । युएसएआईडी ग्लोबल हेल्थ सप्लाई चेन कार्यक्रम, खरीद र आपूर्ति व्यवस्थापनको आर्थिक तथा प्राविधिक सहयोग र स्वास्थ्य सेवा कार्यालय दैलेखको आयोजनामा तालिम प्रदान गरिएको हो । दैलेखका ११ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख र स्थानीय तहको स्वास्थ्य शाखा तथा दुल्लु अस्पतालमा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा काम गर्ने कर्मचारी तालिम प्रदान गरिएको हो ।
तालिम समापन कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय दैलेखको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा.निरन्जन पन्तले सूचना प्रणाली लागु भएपछि औषधी तथा औषधी जन्य सामाग्रीहरुको आपूर्ति व्यवस्थापनमा सहयोग पु¥याउने बताए । ‘पारदर्शिता, विद्युतीय सुरक्षा, काममा सहजता तथा समयको बचत सँगसँगै सूचना प्रयोजन गरी आवश्यक अनुसार औषधी आपूर्ति तथा योजना बनाउन सहयोग गर्दै विद्युतीय सुशासन प्रणाली सुदृढिकरण गर्न सहयोग पुग्नेछ,’ उनले भने ‘सुरुवाती कार्यलाई निरन्तरता दिन स्वास्थ्य सेवा कार्यालय, कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य क्षेत्रको सूचना व्यवस्थापन प्रणालीमा सहयोग गर्ने संघसंस्थाहरुबाट निरन्तर सहयोग रहनुपर्छ ।’

प्रतिक्रिया