मध्यपश्चिमाञ्चल विश्वविद्यालयको बजेट साढे ८० करोड

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको बजेट साढे ८० करोड

दैलेखको नारायण क्याम्पसलाई बहुमुखी क्याम्पसमा रूपान्तरण गर्ने निर्णय ।

सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालयले चालु आर्थिक वर्ष २०७७/७८ का लागि ८० करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री एवं विश्वविद्यायलका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार काठमाडौंमा बसेको विश्वविद्यालयको दसौं सभाले आगामी वर्ष ८० करोड ९५ लाख ८९ हजार रुपैयाँ आम्दानी हुने समेत अनुमान गरेको छ ।

सभाले विश्वविद्यालय अन्तर्गतका तीन आंगिक क्याम्पसलाई बहुमुखी क्याम्पसमा रूपान्तरण गर्ने निर्णय पनि गरेको छ । विश्वविद्यालय अन्तर्गत कर्णाली र लुम्बिनी प्रदेशमा १० आंगिक क्याम्पस छन् । जसमध्ये दैलेखको नारायण क्याम्पस, सुर्खेतको भेरी शिक्षा क्याम्पस र जाजरकोटको भेरी ज्ञानोदय क्याम्पसलाई बहुमुखी क्याम्पसका रूपमा रूपान्तरण गरिएको उपकुलपति डा.नन्दबहादुर सिंहले बताए । उनका अनुसार अन्य ७ क्याम्पस यसअघि नै बहुमुखी थिए ।

उनले विश्वविद्यालयका लागि आवश्यक थप १ सय ३१ दरबन्दी माग गर्दै गरिएको प्रस्ताव पनि पारित भएको जानकारी दिए । अहिले विश्वविद्यालयमा आंगिक क्याम्पससहित ५ सय २२ जनाको दरबन्दी छ । सभाले विश्वविद्यालयको संगठन, प्रशासनिक र शैक्षिक नियमावली र शिक्षक–कर्मचारी नियमावली संशोधनका लागि लगेको प्रस्ताव पनि पारित गरेको छ ।

उपप्राध्यापक उपेन्द्र विकले विश्वविद्यालयको नियमावली संशोधनअन्तर्गत सुरक्षा इकाइ गठन गर्ने, विश्वविद्यालयका पदाधिकारीको उमेर हदबन्दी ५० वर्ष बनाउनेलगायत प्रस्ताव पारित भएको बताए । ‘नियमावली संशोधन सम्बन्धमा केही प्राध्यापकको असन्तुष्टि थियो,’ उनले भने, ‘असन्तुष्ट पक्षसँग यसअघि नै छलफल गरी नियमावलीलाई मूर्तरूप दिइएको हो, अझै केही विषयमा मतभेद भए आपसी छलफलमा मिलाउने निर्णय भएको छ ।’ यसअघि प्रजातन्त्रवादी प्राध्यापक संघले नियमावली संशोधन प्रस्तावका केही बुँदामा असन्तुष्टि जनाउँदै प्रस्ताव फिर्ता गर्न माग गरेको थियो ।

प्रतिक्रिया