पुतली घरको कथा

        अमर सुनार   |   प्रकाशित मितिः शुक्रबार, पुस ३, २०७७     ::: 296 पटक पढिएको   |  

‘झुसैझुस भएको कीराले सपना देख्छ रे, एक दिन रङैरङ पुतली बनेर उड्ने । जसलाई हामी झुसिलकीरा भनेर हेला गर्छौं, परपर धपाउँछौँ, राम्रो घाम, हरियो पात र रसिलो फलफूल खान पायो भने त्यही झुसिलकीराले जुनी फिर्छ । सुन्दर पुतली बन्छ ऊ ।’
’मलाई लाग्छ, समाजले झुसिलकीरा ठानेर जेलमा पु¥याइएका मेरा प्रत्येक छोराछोरी सुन्दर पुतली हुन् । मात्र मौका चाहिएको छ, उनीहरुलाई झुसबाट निक्लिएर पुतली बनेर संसार डुल्नका लागि । म चाहन्छु मेरो घर त्यस्तो एक मौका बनोस् मेरा छोराछोरीका लागि । उनीहरु त्यहीँबाट जुनी बदल्न सकून् । प्रत्येक ‘झुसिलकीरा’ पुतली बनेर उड्न सकोस् ।’
माथिका हरफ अभिभावकको गल्तीका कारण अनायसमै जेल जीवन बिताउन बाध्य बालबालिकालाई उद्धार गरी उनीहरुको शैक्षिक उन्नयनका लागि आफूलाई समर्पित गर्नुभएकी समाजसेवी पुष्पा बस्नेतको जीवनीमा आधारित पुस्तक ‘पुतलीको घर’ को अंश हो ।
त्यही झुसिलकीराझैँ कारागारमा बस्न बाध्य बालबालिकालाई रङ्गीन पुतली बनाउने अभियानमा जुट्नुभएकी पुष्पा बस्नेतको जीवन भोगाइ समेटिएको ‘पुतलीको घर’ पुस्तकको दुई वर्ष अघि बिमोचन भएको हो ।
‘पुतलीको घर’का लेखक एवं पत्रकार घनश्याम खड्काले एउटी युवतीले पाएको असफलता र त्यहाँबाट उम्कन उनको हृदयले तय गरेको बाटोको कथाका रुपमा पुस्तक सार्वजनिक गरेका छन् । पुस्तकमा ‘सीएनएन हिरो’ पुष्पाको जीवनका आरोहअवरोहलाई लेखिएको छ ।
पुस्तकको पुतली घर जस्तै दैलेखमा सदरमुकाममा चाहिं सुरु भएका सरकारका सबैजसो निकायलाई आश्रय दिएको एउटा प्यारो तर अहिले प्रहरीको हातामा परेको बेला जीर्ण भइसकेकोले प्रहरीले भत्कायो ‘पुतली घर’ । जीर्ण भएकोले भत्किएर कतै क्षति नहोस भनेर भत्काइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी इञ्चार्ज डीएसपी अनुपम श्रेष्ठले टिप्पणी गरे ।

भत्काउदै गरेको यो भवन दुई तलामा ४ कोठा थिए । पत्थरले छाएको यो भवन सदरमुकाम दैलेख बजारको केन्द्रबिन्दू देवकोटोचोकसंगैको थियो । दैलेखको पहिलो विद्यालय भाषा पाठशाला १९७४ मा यही भवनमा सुरु भएको भन्नेहरु पनि छन् तर त्यस अघि घरेलु तानका लागि बनाइएको थियो, सदरमुकामका स्थानीय जेष्ठ नागरिक मोहन सुनारले बताए ।
ठेटुवा कपडा बुन्न सदरमुकामको पहिलो घरेलु तानका बनाइएको पुतली घरको आगनमा विद्यालय सुरु भयो, विद्यार्थीसंग बढ्दै गरेपछि अहिले प्रहरी इञ्चार्जको निवास भएको ठाउँमा उतिबेला पौवा घरमा पाठशाला चल्यो । त्यहाँ पनि नपुग भएपछि भाषा पाठशाला अहिलेको नारायण नगरपालिका हातामा सडक छेउमा जोडिएको घरमा चल्यो ।
त्यसपछि भाषा पाठशाला टुडिखेल नजिकको बज्रभैरव मन्दिरमा, कोतगढी अगाडि अनि १७ वर्ष जति अघिदेखि सरस्वती मन्दिर नजिक अहिलेको मालपोत कार्यालय नजिक सरेको विद्यालयका प्रधानाध्यापक धनान्जय उपाध्यायले सुनाए ।
भाषा पाठशाला उठेपछि अहिलेको पुतली घरमा हेल्थपोष्ट बस्यो त्यो पनि २८–२९ सालतिर अहिलेको नारायण नगरपालिकामा स¥यो, २०४५ सालमा नयाँ भवन बनेपछि दैलेख अस्पताल नामाकरण सहित अहिलेको ठाउँमा चल्दै आएको छ ।
हेल्थ पोष्ट उठेपछि पहिले सेनामुख भनिएको अहिले नारायण नगरपालिकामा बसेको प्रहरी र हेल्थ पोष्ट अदलबदल गरेका थिए भन्ने कुरा अहिले स्वास्थ्य कमजोर भएका कारण बाहिर हिँड्डुल गर्न नसक्ने एक जना परिचित स्वास्थ्यकर्मी इतिहासको जानकारी राखेका टेकबहादुर शाहीले उनका छोरा पत्रकार भूपेन्द्र शाहीलाई सुनाएका छन् ।
राणाकालमा सबै भन्दा लामो समयमा २८ वर्ष शासन चलाएका तत्कालिन प्रधानमन्त्री चन्द्र सम्शेरले शिक्षाको अवसर जनतालाई पनि हुनुपर्छ भनी थालिएको अभियानमा दैलेखको पहिलो विद्यालय भाषा पाठशाला पनि पुतली घरमै भएको भन्ने पाका पुरानाको कुरालाई आधार मान्ने हो भने १९७४ अघि नै यो घर बनेको थियो अर्थात १०० वर्ष भन्दा बढीको आयू पार गरेर ढल्यो पुतली घर ।
पुतली घरमा प्रहरी सर्ने वित्तिकै त्यसैको आडमा दुई तले ६ कोठा तल प्रहरी कार्यालय र माथि प्रहरी प्रमुखको निवास बनाइएको थियो । ती दुबै भवनलाई जोड्ने तल एउटा कोठा अनि धुरी नलगाइएको माथि मुण्डा छानो निवासको कौसी थियो । २०५६ मा अहिलेको प्रहरी कार्यालय भवन बन्नु अघि पुतली घरमा माथि सञ्चार शाखा तल थुुनुवा हुल्ने काममा प्रयोग गरिएको थियो ।
कौसीमाको प्रयोग गरिएको कोठा धुरी नलाइएको कारण बाँके घर बन्न सकेको थिएन । थुनुवाहरु राखिएको कोठाबाट ५–७ मीटर मात्र दुरी भएकोले पारिपट्टि प्रहरी कर्मचारीका कुरा थुनुवाहरु सहजै सुन्थे भन्ने एउटा रमाइलो घटना छ ।
करिव ३२ सालतिरको कुरा हो, धीताँका केही मान्छे आइतराम कामी धेरै बाठो भएको छ ठीक पार्नुपर्छ भन्नेमा रैछन् । माघे संक्रान्तीमा उनको अगुवाईमा भैंसी काटेर कामीहरुले खाएछन् । कानूनमा माउ जाति काट्नुहुन्न भन्ने मुलुकी २०२० पनि भरखरै आएको यही उपयुक्त मौका पारी जोरीपारीहरुले उजूरी गरे । प्रहरीले हत्कडी लगाएर ल्यायो, थुन्यो । उनलाई थुनिएको घर चाहिं पुतली घर थियो ।
थुनेको दोश्रो, तेश्रो दिनमा पनि मलाई किन थुनेको भनेर हाकिमलाई भन्छु भेट गराइदिनू भनेर ड्यूटीवाला प्रहरी जवानलाई भन्दा रैछन् तर भेट गराइदिएनन् । चौथो दिन उतिबेलाका इञ्चार्ज इन्स्पेक्टर दानबहादुर चन्दले कोही प्रहरी कर्मचारीलाई ‘भाले लिएर आइज’ भनेर खटाएछन् । भाले पाइएन पोथी पाइएको छ के गरौं ? भनी प्रहरीले सोधेको आइतरामको काममा प¥यो ।
त्यो साँझ आइतरामले उतिबेलाका इञ्चार्ज इन्स्पेक्टर चन्दको भान्सामा पोथी काटेको आवाज निकै चियो गरेर ध्यान पूर्वक सुने, विहान इन्स्पेक्टर चन्द आगनमा घाम तापेको पनि थुनुवा राखिएको कोठाको झ्यालबाटै देखे अनि त्यसबेला फेरि आइतरामले भने ‘हाकिमसंग भेट गराइदिनुस् ।’
ड्यूटीवालाले सुरुमा त सुने पनि नसुने झैं गरे, पटक पटक जिद्दी गरेपछि उनले खवर पु¥याए अनि इन्स्पेक्टर चन्दसंग उनले अघिल्तिर उभिएर बडो सम्मानपूर्वक भनेछन् ‘मलाई छोडिदिनुस् हजूर, दया गर्नुस् ।’ इन्स्पेक्टर चन्दले हत्काएछन् ‘माउ जाति काट्नुहुन्न । भैंसी काटेकोले थुनेको हो तँलाई, काँ छोड्नु ? छुट्दैनस् ।’
आइतरामले सावधानी पूर्वक आफ्ना कुरा भनेछन् ‘रिसानी माफ गर्नुहोला कि तपाई पनि मलाई थुनेकै ठाउँमा बस्नुस्, कि भने मलाई छोड्नुस् ।’ आश्चर्य मान्दै इन्स्पेक्टर चन्दले सोधे ‘किन ?’ आइतरामले धक फुकाएर भनेछन् ‘तपाईंले हिजो बेलुका कुखुरा माउ खानुभयो, मैंले भैंसी काटें । बराबर भो नि ।’
इन्स्पेक्टर चन्दले हाँस्तै भनेछन्, ‘ल ल तुरुन्तै यसलाई छोड्देऊ ।’ अहिले जस्तो प्रहरीले थुनेको २४ घण्टामा अदालतमा पेश गरेर थुनुवा पुर्जी दिने चलन थिएन । कोही प्रभावशाली मान्छेले भन्दिएकै भरमा ५–७ दिन वा त्यो बढी पनि थुन्ने चलन अन्तरगत आइतरामलाई थुनिएकोले उतिबेलाका प्रहरी इञ्चार्जले तजबीजले छोडेका थिए ।



Leave a comment

Your email address will not be published.


*