संसद विघटनविरुद्ध दैलेखमा प्रचण्ड–नेपाल समूहको प्रर्दशन

संसद विघटनविरुद्ध दैलेखमा प्रचण्ड–नेपाल समूहको प्रर्दशन

नेताहरुले भने ‘जनताले पाँच बर्षका लागि गरेको मतदानलाई खेर जान दिन्नौ’

संसद विघटनविरुद्ध आन्दोलनमा उत्रिएका नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहका नेता कार्यकर्ताहरु । तस्विर : हिक्मतबहादुर नेपाली ।

दैलेख : संसद विघटनविरुद्ध नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहले दैलेखमा पनि प्रर्दशन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक, अलोकतान्त्रिक निरंकुश संसद विघटन (कु) का विरुद्ध शक्ति प्रर्दशन गरेको नेताहरुले बताएका छन् । यो समूहको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै पहिलो चरणको कार्यक्रम अन्तर्गत देशव्यापी प्रदर्शन गर्ने निर्णय अनुसार दैलेखमा पनि प्रर्दशन गरेको प्रचण्ड–नेपाल समुहका नेताहरुले बताएका छन् । दैलेखमा गरिएको प्रर्दशनमा सदरमुकामको काँडाचौर, पुरानो बजार लगाएत विभिन्न ठाउँबाट नाराबाजी गर्दै ¥याली निस्किएको थियो । विभिन्न स्थानबाट निकालिएको ¥याली स्थानीय देवकोटा चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो । स्थानीय देवकोटा चोकमा आयोजित विरोध सभालाई नेकपा प्रचण्ड–नेपाल समुहका केन्द्रिय, प्रदेश र जिल्लास्तरीय नेताहरुले सम्बोधन गरेका छन् ।
विरोध सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा प्रतिनीधि सभा सदस्य राजबहादुर बुढाले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमले नेपालको राजनीतिलाई अध्याँरो सुरुङतीर धकेलेको टिप्पणी गरे । ‘अहिले सरकार र संविधानबीचको लडाई जारी छ, केन्द्रिय सदस्य बुढाले भने ‘न्यायालयले संविधानको रक्षा गर्नुपर्छ ।’ केन्द्रिय सदस्य बुढाले आम जनतालाई साथमा लिएर संसद् पुर्नस्थापना गर्ने उद्घोष गरे ।

संसद विघटनविरुद्ध आन्दोलनमा उत्रिएका नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहका नेता कार्यकर्ताहरु । तस्विर : हिक्मतबहादुर नेपाली ।


नेकपाका केन्द्रिय सदस्य एवं विदेश विभाग उप–प्रमुख विष्णु रिजालले जनताले पाँच बर्षका लागि गरेको मतदानलाई खेर जान नदिने बताए । विदेश विभाग उप–प्रमुख रिजालले संसद पुुर्नस्थाना गरेरै छोड्ने दाबी गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको गलत कदमका कारण कुनै बेला शितल निवासबाट बाहिर आउन नसकेर भित्रै थुनिएर बस्नुपर्ने अवस्था सृजना हुनसक्ने बताए । ‘राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरबाट नेकपाको एकताका लागि दबाब आईरहेको छ’ रिजालले भने ‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको अध्यक्षबाट हटाईएको हो, पार्टीबाट निस्कासन गरेका छैनौ, उहाँ सच्चिएर आए एकता हुन्छ ।’
कार्यक्रममा नेकपा प्रदेश कमिटि सदस्य एवं प्रतिनीधि सभा सदस्य पार्वतीकुमारी विशुन्केले अहिले पात्र नभई प्रवृतिको विरुद्धमा सडक संघर्ष गर्नुपरेको उल्लेख गरिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको कुर्चीमा बसिरहने अधिकार नरहेको बताउँदै विशुन्केले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय माथी सर्वोच्च अदालतले संविधानमा टेकेर उचित निणर्य लिन आग्रह गरिन् ।
नेकपा प्रदेश कमिटि सदस्य एवं कर्णाली प्रदेश सभा सदस्य अम्मरबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको कदर गर्न नसकेको आरोप लगाए । प्रधानमन्त्रीको कदम असंवैधानिक, अलोकतान्त्रिक भएको थापाले टिप्पणी गरे । प्रधानमन्त्रीले चुनाव गराउनको लागि भन्दा पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई खारेज गर्ने र कम्युनिष्ट आन्दोलनलाई धोस्त पार्ने उद्देश्यका साथ संसद् भंग गरेको थापाको भनाई छ ।
नेकपाका युवा नेता तथा कर्णाली प्रदेश सभा सदस्य शुसिल थापाले प्रधानमन्त्री र राष्ट्रपतिले सेना प्रहरीको सुरक्षा घेरा भित्र बसेर मुलुकलाई घेराबन्दीमा पारेको बताए । ‘हामी जुनसुकै हालतमा पनि संसद पुर्नस्थापना गरेरै छोड्छौ,’ नेता थापाले भने ‘सुर्य चिन्ह हाम्रै हो यद्धपी पार्टी एकतालाई केन्द्रबिन्दुमा राखेका छौ ।’ सभालाई नेकपाका प्रदेश कमिटि सदस्य, जिल्ला कमिटि सदस्य, युवा संघका नेता तथा विद्यार्थी नेताहरुले सम्बोधन गरेका थिए । उनिहरुले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताएका थिए । नेताहरुले प्रधानमन्त्री ओलीले जनताले बनाएको संविधान कुल्चेर प्रतिनिधिसभा विघटन गरेको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया