राउटे भन्छन् ‘हामी परिवर्तन हुँदैछौ, राम्रा कुराहरु अझैँ सिक्न चाहान्छौ’ (भीडियो सहित)

राउटे भन्छन् ‘हामी परिवर्तन हुँदैछौ, राम्रा कुराहरु अझैँ सिक्न चाहान्छौ’ (भीडियो सहित)

दैलेख : नेपालको सम्पदा र कर्णाली प्रदेशको गहनाको रुपमा चिनिने राउटे जाति दक्षिण एशियाको एक मात्र भ्रमणशील र फिरन्ते जाती हो । आफूलाई वनको राजा भन्न रुचाउने राउटे नेपालको नागरिक हौं भनेर गाथा गाउँछन् । कर्णाली प्रदेशका जंगलमा भ्रमणशील जीवनयापन गर्दै आइरहेका राउटे समुदाय स्वार्थ विहीन छन् । नेपालको नागरिकता नलिएपनि नेपाली नागरिक हौं भनेर गौरव गर्छन । फिरन्ते जाति राउटे समुदायहरुको उत्थानका लागि सरकारले हदै सम्म प्रयास पनि गरिरहेको छ । उनिहरुलाई एकै ठाउँमा बस्न सरकारले आग्रह गरिरहेपनि उनिहरु एकै ठाउँ बस्न अस्विकार गर्दै आएका छन् ।
राउटे समुदायका प्रत्येक व्यक्तीहरुलाई सरकारले मासिक भत्ताको व्यवस्था पनि गरेको छ । संघीय सरकारले मासिक तीन हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । अब भने उनिहरुले थप दुई हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउनेछन् । कर्णाली प्रदेश सरकारले राउटे समुदायलाई प्रतिव्यक्ति मासिक २ हजार रुपैयाँ भत्ता दिने निर्णय गरिसकेको छ । संघीय सरकारले दिने ३ हजारसमेत गरेर अब उनीहरूले प्रतिव्यक्ति ५ हजार रुपैयाँ भत्ता पाउनेछन् । गत कात्तिकमा राउटे बस्तीमा पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भत्ता थप गर्ने घोषणा गरेका थिए । करिब १ सय ४५ को संख्यामा रहेका राउटे कर्णालीका सुर्खेत, दैलेख, सल्यानलगायत जिल्लामा घुमन्ते जीवन बिताउँछन् । समुदायको महाशत्रु हुन, स्थायी बसोबास, लेखपढ र खेतीपाती । आफ्नो परम्परामा कडा देखिएतापनि आधुनिकतासँगै राउटे समुदायमा परिवर्तनको संकेत देखिएको छ ।
फिरन्ते रुपमा जिवनयापन गर्दै आएका यो राउटे समुदायका नागरिकहरुले स्थायी ठेगाना भएको परिचयपत्र पाईसकेका छन् । दैलेखको गुराँस गाउँपालिकाले उनिहरुलाई आफ्नै स्थायी नागरिक बनाउने गरि परिचयपत्र दिएको हो । २०७५ जेठ ३१ गते नेपाल सरकारको मन्त्री स्तरिय निणर्य अनुसार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राउटेको नाम थर र ठेगाना खुल्ने गरि परिचयपत्र वितरण गर्न गरेको परिपत्र अनुसार २०७५ असार २० गते परिचय पत्र वितरण गरेसँगै राउटेहरुको स्थायी ठेगाना गुराँस गाउँपालिका कायम भईसकेको छ ।

कर्मचारीहरुले अझै राम्रो कुरा सिकाईदिएको भए…।

एईआईएन लक्जेम्वर्गको आर्थीक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख मार्फत राउटे परियोजना संचालन भईरहेको छ । सन २०१८ देखि सुरु भएको परियोजना २०२० मा सकिदैँछ । उनिहरुलाई नियमित निगरानी राख्न तथा स्वास्थ्य, शिक्षा तथा सरसफाईका लागि परियोजनाले काम गरिरहेको छ । परियोजना मार्फत तीन जना कर्मचारी समुदायमै खटिएका छन् । उनीहरूको काम राउटे बालबालिकालाई अक्षर लेख्न र पढ्न सिकाउने, स्वास्थ्य तथा सरसफाइका बारेमा शिक्षा दिने, उनीहरूमा रहेको नकारात्मक मूल्य मान्यतालाई सुधार्न सहजीकरण गर्ने हो । जसमध्ये जोडी शिक्षकका रुपमा लालबहादुर खत्री र दुर्गा खत्री छिन् ।
स्वास्थ्यकर्मीको रूपमा अहेब विनोद बिसी छन् । बालबालिकालाई अक्षर सिकाउने काम जोडी शिक्षक लालबहादुर र दुर्गाले गर्छन । यस्तै, राउटे समुदायका मानिसलाई सामान्य घाउचोट लागेमा उपचार गर्ने काम अहेब विनोदले गर्छन् । यसका अलावा ती तिनै जनाले समुदायमा स्वास्थ्य र सरसफाइबारे राउटेहरूलाई सिकाउने काम गरिरहेका छन् । यसका अलवा परियोजनाले राउटे नागरिकहरुलाई खाद्यान्न, लत्ताकपडा, पाल, कम्बल, सरसफाई सामग्री लगाएतका सहयोग गर्दै आएको छ । परियोजनाले राउटेले निर्माण गर्ने काठका सामग्री बजारीकरणका लागि समेत सहजिकरण गरेको छ । परियोजनाकै पहलमा समुदायमा बाल दिवस, संविधा दिबस बनाउन थालिएको छ ।
परियोजना सञ्चालनको अवधी सकिनै लाग्दा राउटे नागरिकहरु भने दुःखी छन् । राउटे मुखिया सुर्यनारायण शाहीले आफुहरु परिवर्तन हुँदै गएको र परियोजनाका कर्मचारीहरुले सकारात्मक कुराहरु निरन्तर सिकाईदिनुपर्ने बताउँछन् । ‘कर्मचारीहरुले सरसफाई गर्न सिकाएका छन्, बालबालिकालाई पढ्न र लेख्न सिकाउँछन्, यो निरन्तर भईदिएको भए हुन्थ्यो,’ मुखिया शाहीले भने ‘लालबहादुर, दुर्गा र विनोदले सबै राम्रो कुराहरु सिकाएको छन्, हामीले पनि सिकिरहेका छौ, उहाँहरु हाम्रो बस्तीमा बसिदिएको भए बालबालिकाहरु पनि पढ्न सक्ने हुन्थे ।’ सोसेकले राम्रा कुरा सिकाउनुका साथै खानका लागि पनि सहयोग गरेको मुखिया शाहीको भनाई छ । ‘मेरो जनता भोकभोकै परेको बेला खाद्यान्न सहयोग गर्छ,’ उनले भने ‘उहाँहरु जानुभयो भने हामी भोकभोकै परेको बेला कसले सहयोग गर्छ ?’ राउटे युवती सम्झना शाहीले अहिले सरसफाई रहनुपर्छ भनेर सिकेको बताउँछिन् ।

भीडियो

प्रतिक्रिया