गाउँपालिका भरी बने ७ वटा खानेपानी योजना, घरदैलोमै खानेपानी पाउँदा दंग

गाउँपालिका भरी बने ७ वटा खानेपानी योजना, घरदैलोमै खानेपानी पाउँदा दंग

दैलेख : जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका विभिन्न वडामा सात वटा खानेपानी तथा सरसफाई योजना सम्पन्न भएका छन् । एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम र डुङ्गेश्वर गाउँपालिकाको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सामाजिक तथा प्राविधिक सहजिकरणमा खानेपानी तथा सरसफाई योजना निर्माण भएका हुन् । उक्त गाउँपालिकामा हेल्भेटास नेपालको सहयोग र सोसेक नेपाल दैलेखको सहजिकरणमा एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम सञ्चालित छ ।
खानेपानी योजना निर्माण भएसँगै वर्षौ देखि खानेपानी समस्या झेल्दै आएका गाउँपालिका भरीका विभिन्न बस्तीका बासिन्दाको घर आँगनमै खानेपानीको धारा जडान गरिएको छ । घर आगँनमै खानेपानीको सुविधा पाउँदा स्थानीय दंग छन् । दैनिक चार घण्टासम्म लगाएर पानी ल्याउनुपर्ने समस्याबाट स्थानीय बासिन्दा मुक्त भएका छन् । कुवाको पानी त्यहीमाथि पनि हिउँदमा मुहान सुक्दा पानीको निकै समस्या झेलेका स्थानीयले घरमै धारा जडानपछि खानेपानीको अभाव अन्त्य हुनुका साथै समयको बचत भएको बताउँछन् ।

गाउँपालिका भरी नै विभिन्न बस्तीहरुलाई लक्षित गरेर सात वटा खानेपानी योजना सम्पन्न भएको फिल्ड प्राविधिक जयबहादुर विष्टले बताए । सात वटा योजनाबाट दुई सय ४५ घरपरिवार लाभान्वित भएको फिल्ड प्राविधिक विष्टले जानकारी दिए । उनको अनुसार डुङ्गेश्वर गाउँपालिका–६ मा २५ लाख ३७ हजारको लागतमा आग्रा मुरखोला कविखोला खानेपानी तथा सरसफाई योजना सम्पन्न भएको हो । उक्त योजनाबाट ४१ घरपरिवार लाभान्वित भएका छन् । वडा नम्बर ३ मा १५ लाख तीन हजारको लागतमा सम्पन्न भएको बासखर्क खानेपानी तथा सरसफाई योजनाबाट ३३ घरधुरी लाभान्वित भएको विष्टले जानकारी दिए ।
यस्तै २४ लाख ७८ हजारको लागतमा वडा नम्बर ३ मै बनेको खोरिया खेला खानेपानी योजनाबाट २६ घरधुरी लाभान्वित भएका छन् । वडा नम्बर ४ मा २३ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको वडाखोला खानेपानी तथा सरसफाई योजनाबाट ३४ घरधुरी लाभान्वित भएका छन् । यसैगरी वडा नम्बर ५ मा २७ लाख ३३ हजार रुपैयाँको लागतमा निर्माण भएको चंखिला भोटेधारा खानेपानी तथा सरसफाई योजनाबाट ४४, सोहि वडामा २८ लाख ११ हजार रुपैयाँमा निर्माण सम्पन्न भएको कोइरेल खोला खानेपानी तथा सरसफाई योजनाबाट ४० घरधुरी र वडा नम्बर ५ मै ३१ लाख ५६ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको तल्लोरक्चना खानेपानी तथा सरसफाई योजनाबाट २७ घरधुरी लाभान्वित भएको फिल्ड प्राविधिक विष्टले जानकारी दिए । खानेपानी योजनाबाट घरघरमा खानेपानीको धारा जोडिनुका साथै प्रत्येक घरमा भाडा सुकाउने चाङ, फोहोर फाल्ने खाडल समेत बनेको विष्टले जनाए ।
निर्माण सम्पन्न भएका खानेपानी तथा सरसफाई योजनाको गाउँपालिका र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको टोलीले अनुगमन समेत गरिसकेको छ । गाउँपालिकाका उपाध्यक्ष सिता ज्ञावली, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका सल्लाहका समिति संयोजक सिता राना, गाउँपालिकाका सब–इन्जिनियर कमल विष्ट, योजना शाखाका विष्णु शर्मा लगाएतको टोलीले विभिन्न योजनाको अनुगमन गरेको फिल्ड प्राविधिक विष्टले ज्वाला सन्देशलाई जानकारी दिए ।

प्रतिक्रिया