स्थानीय तहको लगानीमा प्रहरी भवन निर्माण

स्थानीय तहको लगानीमा प्रहरी भवन निर्माण

दैलेख : पहाडी जिल्ला दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा प्रहरीका लागि नयाँ भवन निर्माण गरिएको छ । प्रहरी चौकी जम्बुकाँधका लागि निर्माण गरिएको भवनको बुधवार कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्तकुमार पन्तले उद्घाटन गरेका छन् । उद्घाटन गरिएको भवनको २०७५ मंसिर १३ गते चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सूर्यबहादुर शाहीले शिलान्यास गरेका थिए । नगरपालिकाको ३२ लाख २८ हजार १ सय ९० रुपैयाँ लागतमा भवन निर्माण सम्पन भएको नगरपालिकाका पुर्वाधार शाखा प्रमुख प्रकाशविक्रम शाहीले बताए । उक्त भवनमा प्रहरीका लागि कार्यालय, ब्यारेक र मेस प्रयोजनका लागि आवश्यकता अनुसारको कोठा निर्माण गरिएको शाहीले जानकारी दिए ।
भवन उद्घाटन गर्दै प्रहरी नायव महानिरीक्षक पन्तले प्रहरी र जनताको सम्बन्ध नङ र मासुको जस्तै भएको उल्लेख गर्दै आम नागरिकहरुको जीउ धनको सुरक्षाका लागि नेपाल प्रहरी खटिएको बताए । ‘प्रहरी बद्री लगाएको र आम नागरिकहरु बद्री बिनाको प्रहरी हो,’ उनले भने ‘नागरिकहरुले प्रहरीलाई सहयोग नगरेको खण्डमा प्रहरी एक्लैले शान्ति सुव्यवस्था कायम गर्न सक्दैन् ।’
नागरिक र प्रहरीको संयुक्त सहयोगमा मात्र समाजमा शान्ति सुव्यवस्था कायम हुने प्रहरी नायव महानिरीक्षक पन्तको भनाई थियो । प्रहरी नायव महानिरीक्षक पन्तले प्रहरीप्रति आमनागरिकको आस्था, विश्वास र भरोसाको साथै राष्ट्रको प्रतिष्ठासमेत जोडिएकाले प्रहरी कर्मचारीले आफ्नो व्यवसायिकता प्रदर्शन गर्दै सदैव ईमान्दार, कर्तब्यनिष्ठ र उच्च मनोबलका साथ कार्य निर्देशन दिए ।
सोहि अबसरमा नगरका मेयर सुर्यबहादुर शाहीले शान्ति सुरक्षा बिना विकास निर्माण अगाडी बढ्न नसक्ने बताए । विकास निर्माणलाई तिब्रता दिनका लागि शान्ति सुरक्षाको आवश्यक पर्ने भएकाले नगरपालिकाले प्रहरी चौकी भवन निर्माण गरेको मेयर शाहीले बताए । ‘जबसम्म प्रहरी सुरक्षित हँुदैन तबसम्म, नागरिक सुरक्षित रहँदैनन्,’ उनले भने । नगरपालिकाको चाल्ने चौतारा र देउरालीमा अस्थायी प्रहरी चौकी स्थापना भएको खण्डमा नगरपालिकाका सबै नागरिकहरु सुरक्षित हुने मेयर शाहीको भनाई छ । ती दुई ठाउँमा अस्थायी प्रहरी चौकी माग गर्ने कार्यपालिकाबाट निर्णय भईसकेको छ ।
नगपालिकाका उपमेयर तारा शाही खत्रीले ग्रामीण क्षेत्रमा हत्या हिंसा लगाएत अपराध नियन्त्रण गर्न प्रहरीले महत्वपूर्ण भुमिका खेलेको बताइन् । भवन उद्घाटन समारोहमा जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटा, चामुण्डाविन्द्रासैनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलक विक लगायत उपस्थित थिए । सोहि अबसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया