समाजसेवाको आडमा ठगी

समाजसेवाको आडमा ठगी

समाजसेवाको आडमा ठगी गर्ने २४ बर्षीया विद्या सरकार ।

दैलेख : मुलुक कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन (बन्दाबन्दी) मा थियो । लकडाउनको पालना गर्दै नागरिकहरु घरभित्रै बसे । लकडाउनकै समयमा एक जना युवती दैलेख आईपुगिन् । उनि थिइन्, सुनसरीको ईटहरी उप–महानगरपालिका–४ की २४ बर्षीया ‘विध्या सरकार’ । आफुलाई अभियन्ता र समाजसेवीको रुपमा चिनाउने सरकार जेठ अन्तिम साता दैलेख आएकी थिइन् । सामाजिक सञ्जाल फेसबुकमा उनको नाम विद्या शर्मा छ । उनि झण्डै तीन महिना दैलेख बसिन् । त्यसबीचमा उनले जिल्लामा विभिन्न गतिविधि गरिन् । विध्याले कोरोना महामारीका बेला जिल्ला प्रशासन कार्यालय, नारायण नगरपालिका र एभरेष्ट क्लबसँग समन्वय गरेर कोभिड–१९ को महामारी रोकथामको लागि स्वास्थ्य समाग्रीहरु वितरण गरेकी थिइन् । सरकारले आफुलाई अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटीको नेपालस्थित सिइओ बताउँथिन् ।
त्यसबीचमा भदौ २ गते दैलेखको पश्चिम ठाटीकाँध गाउँपालिका–४ गैरागाउँमा पहिरो गयो । तीनै विध्या सरकारले एभरेष्ट क्लब र ठाटीकाँध गाउँपालिकासँग समन्वय गरेर गैरागाउँका पहिरो पीडितहरुलाई समेत त्रिपाल सहित राहत बाँडिन् । उनले दैलेखमा आएर हाम्रो संस्थावाट यस जिल्लाका विभिन्न स्थानिय तहमा कोभिड १९ महामारीको रोकथामको लागि स्वास्थ्य समाग्रीहरु त्रिपाल, सेनिटाइजर, मास्क, पन्जा र खाघान्न वितरण गर्ने जिम्मा मलाई दिइएको भन्दै स्वास्थ्य सामग्री र राहत वितरण गरेकी थिइन् ।
आफुलाई अभियान्ता र समाजसेवीको रुपमा चिनाउँदै अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटीको नेपालस्थित सिइओ बताउँने यीनै ‘विध्या सरकार’ अहिले जिल्ला प्रहरी कार्यालय दैलेखको हिरासतमा छिन् । ठगी अभियोगमा पक्राउ परेकी विद्या पुसको जाडो हिरासत बिताउँदै छिन् । उनलाई महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालयले दैलेख ल्याएको हो । दैलेख प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठका अनुसार सात दिनको म्याद थप गरी उनिमाथी थप अनुसन्धान थालिएको छ । समाजसेवाका आडमा ठगी धन्दा गर्ने विद्या सरकार आखिर को हुन् त ? दैलेख प्रहरी अहिले उनको नालीबेली खोजिरहेको छ ।


स्थानीय तह र गैसससँग सहकार्य

महामारीको समयमा राहत बाँड्न उनै विध्या सरकारले स्थानीय तह र गैरसरकारी संस्थासँग सहकार्य गरेकी थिइन् । उनले नारायण नगरपालिका, ठाटीकाँध गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र स्थानीय गैरसरकारी संस्था एभरेष्ट क्लबसँग समन्वय गरेर स्वास्थ्य तथा राहत सामग्री बाँडेकी थिएन् । उनले यी सबै निकायसँग आफुलाई अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटीको नेपालस्थित सिइओ बताउँथिन् । उनको कुरालाई यी सबै निकायले सहजै पत्याए । उनले बाँडेको राहत सामग्री स्थानीय व्यापारीसँग उधारोमा लिएकी थिइन् । पहिरो पीडितका लागि त्रिपाल र कोरोना रोकथामका समाग्रीहरु सेनिटाइजर, मास्क, पन्जा र लकडाउनमा खाद्य संकट बेहोरेका घरपरिवारका लागि खाद्यान्नहरु स्थानीय व्यापारीसँग उधारोमा लिएको व्यापारीहरु बताउँछन् । उनले जनप्रतिनीधि र कर्मचारीकै रोहबरमा नारायण नगरपालिका–१ को नमुना बस्ती लगाएतका विभिन्न स्थानमा स्वास्थ्य तथा राहत सामग्री बाँडेकी थिइन् ।

पहिरो पीडितलाई घर बनाईदिने घोषणा

गत भदौमा ठाटीकाँध गाउँपालिकाका पहिरो पीडितलाई राहत वितरण गर्न गएकी उनै विद्या सरकारले पहिरो पीडितलाई घर बनाईदिने घोषणा गरेकी थिइन् । ठाटीकाँध गाउँपालिकाका अध्यष धीरबहादुर शाही, उपाध्यक्ष सुस्मिता सिंह, एभरेष्ट क्लब दैलेखका अध्यक्ष दिपककुमार शाही सहित गाउँपालिकाको बिजारेमा पुगेकी विद्या सरकारले पहिरो पीडितलाई तत्कालका त्रिपाल दिन सक्ने र पूर्ण रुपमा घर भत्किएकाहरुलाई अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटीले जस्तापाताले छाएको घर बनाईदिने घोषणा गरेकी थिइन् । बिजारेमा पहिरोका कारण पूर्ण रुपमा घर क्षती भएका नागरिकहरुलाई त्रिपालमा राखिएको थियो । त्यसबेला गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले गाउँपालिकाभरका पहिरो पीडितको अवस्था जानकारी गराएका थिए ।


२१ सय थान त्रिपाल बाँडेर ३१ लाख ठगी

ठाटीकाँध गाउँपालिका–४ गैरागाउँका पहिरो पीडित र नारायण नगरपालिकामा बर्षातका कारण घर भत्किएका नागरिकहरुका लागि वितरण गर्न विद्या सरकारले स्थानीय व्यापारी नरेन्द्र थापासँग दुई हजार एक सय थान त्रिपाल उधारोमा लगेकी थिइन् । विध्याले तीन पटक गरी दुई हजार एक सय थान त्रिपाल उधारोमा दिएको थापाले बताए । ‘स्थानीय तह, स्थानीय प्रशासन र एभरेष्ट क्लबसँग सहकार्य गरेर स्वास्थ्य सामग्री र राहत वितरण गरेको थाहापाएपछि विश्वास गरेर उधारोमा सामान दिँए,’ व्यापारी थापाले अन्नपूर्णसँग भने ‘उनले झुक्याएर ठगी गर्छिन भन्ने लागेकै थिएन्, त्रिपाल वितरण गरेपछि जस्तापाता पनि चाहियो भनेकी थिइन्, त्रिपालको पैसा भुक्तानी भएपछि मात्रै जस्ता पाता दिन्छु भनेको थिएँ ।’ दैलेखबाट फर्किएर बेपत्ता भएको र फोन समेत उठाउँन छोडेपछि आफु ठगीएछुँ भन्ने थाहा पाएको उनले बताए । त्रिपाल लिएर ३१ लाख ५० हजार रुपैयाँ ठगी गरेको थापाले बताए । उनै विद्या सरकारले आफ्नो छोरीबाट नगद तीन लाख ५० हजार रुपैयाँ लिएर ठगी गरेको थापा बताउँछन् ।

सवारी चालक समेत ठगीए

विध्या सरकारबाट एक सवारी चालक समेत ठगीएका छन् । विभिन्न बाहानामा पछि फिर्ता गर्ने भन्दै स्र्कापीयो चालक राजकुमार विष्टबाट दुई लाख ४० हजार रुपैयाँ उनै विद्या सरकारले लिएकी छिन् । विष्टले दुई पटक गरी दुई लाख ४० हजार रुपैयाँ उनै विद्या सरकारलाई दिएको बताए । विष्टले यमुना चापागाईको नाममा आइएमई गरेर पैसा पठाएका छन् । ‘विध्या सरकारले आफु कार्यालयमा व्यस्त हुने र बैंक जान नभ्याउने भन्दै दिदिको नाममा पैसा पठाउन लगाइन्,’ विष्टले भने ‘मैले एक पटक एक लाख ४० हजार र अर्को पटक एक लाख रुपैयाँ आइएमई गरिदिँए ।’

अमेरिका पठाइदिन्छु भन्दै ५३ लाख ठगी

विध्या लकडाउनका बेला दैलेख पुगेकी थिइन् । उनले दैलेख जानुअघि स्थानीय युवक विवेक थापालाई फेसबुकमा साथी बनाएकी थिइन् । विवेकसँग फेसबुकमा साथी बनाएर उनले दैलेखमा राहत बाँड्ने भनिन् । थापालाई पनि सिंगापुर रेडक्रस इन्टरनेसनलको नेपालस्थित सिइओ भनेकी थिइन् । दैलेख पुगेपछि सरकारले थापा र अन्य युवाहरुलाई अमेरिका पठाइदिने भनिन् । अमेरिका पठाईदिन्छु भनेपछि पैसा खर्च गर्न तयार भएका उनिहरु उनै विध्या सरकार सम्पर्क विहिन भएपछि मात्रै ठगिएको थाहा पाए ।
विध्या सरकारले नारायण नगरपालिका–१ बस्ने २८ बर्षीया विवेक थापा र नारायण नगरपालिका –१ नयाँबजार बस्ने मनोज थापालाई अमेरिका पठाईदिन्छु भन्दै ५३ लाख ४ हजार १० रुपैयाँ ठगी गरेको खुलेको छ । दैलेख प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठका अनुसार विध्या सरकारले यहाँका युवाहरुलाई ‘मेरो अमेरिकाको लागि भिजा पनि लागेको र मैले ८ देखि १० जना युवाहरुलाई अमेरिका पठाउन सक्छु’ भन्दै युवाहरुलाई प्रलोभनमा पारेकी थिइन् । डिएसपी श्रेष्ठका अनुसार अमेरिका पठाइदिने भन्दै विवेक थापाबाट ५२ लाख १४ हजार १० रुपैया र मनोज थापावाट ९० हजार रुपैयाँ ठगी गरेको खुलेको छ । अमेरिका पठाईदिन्छु भन्दै लाखौँ रकम लिएर ठगी गरेको ठगी कसुरमा हिरासतमा राखेर थप अनुसन्धान थालेका छौँ,’ डिएसपी श्रेष्ठले भने ।

प्रतिक्रिया