दैलेखमा ओली समूहको शक्ति प्रदर्शन

दैलेखमा ओली समूहको शक्ति प्रदर्शन

-सुर्य चिन्हको पछि नलाग्न दाहाल–नेपाल समूहलाई आग्रह

दैलेख : प्रधानमन्त्री केपी शर्मा ओली समुहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आइतवार दैलेखमा शक्ति प्रर्दशन गरेको छ । नेकपा दैलेखका अध्यक्ष रविन्द्रराज शर्माको नेतृत्वमा भएको शक्ति प्रर्दशनमा नेकपाका कर्णाली प्रदेश सह–इन्चार्ज यामलाल कंडेल, नेकपाका केन्द्रिय सदस्य एवं दैलेख इन्चार्ज लक्ष्मीप्रसाद पोखरेल, कर्णाली प्रदेश सभा सदस्य धर्मराज रेग्मी लगाएत केन्द्रिय, प्रदेश र जिल्लास्तरिय नेताहरु सहभागि थिए । पार्टी विवाद सुरु भएयता दाहाल–नेपाल समूहका नेता कार्यकर्ताहरुले पटक पटक प्रदर्शन गरेपनि ओली समूहको भने यो पहिलो प्रदर्शन थियो । सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा तथा दाहाल–नेपालविरुद्ध चर्का नाराबाजी गरेका थिए ।


स्थानीय गणेश चोकबाटसुरु भएको प्रर्दशन डेकेन्द्र चोक, देवकोटा चोक हुँदै जिल्ला सदरमुकाम स्थित खुलामञ्ज टुँडिखेलमा पुगी अगुवा कार्यकर्ता भेलामा परिणत भएको थियो । लोकतन्त्रको आदेश ताजा जनादेशको पक्षमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाका कर्णाली प्रदेश सह–इन्चार्ज यामलाल कंडेलले नेकपा बृहत पार्टी भएकाले कुनै बन्द कोठामा भेला नगरी खुल्ला मञ्च टुँडिखेलमा अगुवा कार्यकर्ता भेला गरेको उल्लेख गरे । ‘दाहाल–नेपाल समूहले बन्द कोठाभित्र कार्यकर्ता भेला गरिरहेको छ, नेता कंडेलले भने ।


पार्टी कुनै व्यक्तिको अनुकुलकताका निम्ती नभई देश र जनताको निम्ति निर्माण गरिएको नेता कंडेलको भनाई थियो । नेता कंडेलले प्रचण्ड–नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान विरोधी, संघीयता विरोधी भएको भन्दै प्रचार गरिरहेको प्रति आपत्ति जनाए । अर्को प्रसंगमा नेता कंडेलले संसद् विघटनको निर्णय रहरले नभई बाध्यताले गर्नुपरेको बताए । ‘बाहिरका भन्दा पनि भित्रैका साथीहरुको गलत क्रियाकलापको कारण संसद् विघटन गर्नु परेको हो,’ नेता कंडेलले भने ‘प्रधानमन्त्रीले चालेको कदम सबै भन्दा लोकतान्त्रिक र सुन्दर पक्ष हो ।’
नेकपाका केन्द्रिय सदस्य एवं दैलेख इन्चार्ज लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटनको कदम चालेको बताए । नेता पोखरेलले दाहाल–नेपाल समूहका नेता जर्नादन शर्मा र योगेश भट्टराईलाई दैलेख निर्वाचन क्षेत्र नंं. २ मा आएर निर्वाचन जितेर देखाउन चुनौती समेत दिए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले कानुनी र प्रक्रियागत रुपमा निर्वाचन आयोगले सूर्य चिन्ह र पार्टीको आधिकारिकता केपी शर्मा ओलीलाई दिनेमा ढुक्क रहेको बताए । उनले तोकिएकै समयमा प्रतिनिधिसभाको निर्वाचन हुने दाबी समेत गरे । उनले राष्ट्रियता र समृद्धिको नारा लिएर पार्टी अब चुनावमा होमिएको बताए । ‘जनतामा राष्ट्रियता, समृद्धि र स्थायित्वको नारा लिएर जनतामा होमियौं, प्रतिगमनकारी सकिन्छन्, उनले भने, ‘अब नयाँ संसदले मात्रै समृद्ध नेपाल बनाउन सक्छ ।’


अर्को प्रसंगमा नेता शर्माले भने ‘शनिवार दुल्लुमा पुगेर कर्णाली प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले दैलेख जिल्लाको विकास गर्न संघीय सरकार चाहिँदैन, प्रदेश सरकार भए पुग्छ भन्नुभएछ, दैलेख जिल्लाको चिन्ता नलिनुहोस्, दैलेख जिल्ला हामीले नै बनाउँछौ, जिल्लाको विकास हामीले नै गर्छौ ।’ ‘गत आर्थिक बर्षमा कर्णाली प्रदेश सरकारबाट दैलेख जिल्लाका विभिन्न स्थानीय तथमा सञ्चालन भएका योजनाको करोडौ रकम भुक्तानी बाँकी रहेको भन्दै नेता शर्माले मन्त्री ज्वालालाई प्रश्न गर्दै भने ‘मन्त्री ज्यू, भुक्तानी हुन बाँकी रकम कहिले पठाउनुहुन्छ ?’
अर्का नेता धर्मराज रेग्मीले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई बचाएको दाबी गरेका छन् । ‘मुलुकमा ‘कू’ र राजनीतिक प्रतिगमन भएको छैन्,’ दाहाल–नेपाल समूहलाई इंगित गर्दै नेता रेग्मीले भने ‘कु’ अथवा प्रतिगमन भएको भए उहाँहरु (पुष्पकमल दाहाल र माधवकुमार नेपाल) यसरी बोल्न पाउनु हुँदैनथ्यो ।’ उनले प्रधानमन्त्रीले ‘कु’ गरेको भन्दै गरिएको प्रचार गलत भएको टिप्पणी गरे । नेता रेग्मीले आगामी ६ महिनापछि माधवकुमार नेपालपनि ओली समुहमै आउने ठोकुवा समेत गरे । केपी शर्मा ओली देश र जनतामा लोकप्रिय नेता रहेको बताउँदै नेता रेग्मीले भने ‘दाहाल–नेपाल समुहले जनताले सबै भन्दा धेरै भोट दिने चुनाव चिन्हलाई ‘सुर्य’ आफ्नो पोल्टामा ल्याउन मरिहत्ते गरिरहनुभएको छ, अब सुर्यको पछी नलाग्नुस् ।’

भिडियाे

प्रतिक्रिया