खुला चौरमा पढ्नुपर्ने बाध्यता हट्यो

खुला चौरमा पढ्नुपर्ने बाध्यता हट्यो

दैलेख : गुराँस गाउँपालिका–८ पोखरा चौरका बालबालिका कुनै समय खुला चौरमा पढ्न पढ्थे । जनसहयोग नेपाल राष्ट्रिय आधारभुत विद्यालयको बाल विकास केन्द्रको भवन नहुँदा साना बालबालिकाहरु चौरको धुलोमा बसेर पढ्न बाध्य थिए ।

भवन नहुँदा समुदाय स्तरमा खुला आकास मुनी पढ्न बाध्य बालबालिकाहरुले अहिले भने कक्षाकोठा भित्रै बसेर पढ्न थालेका छन् । बाल विकास केन्द्रका लागि एक कोठे भवन निर्माण भएसँगै खुला चौरमा पढ्नुपर्ने बाध्यता हटेर गएको छ ।

आठ लाख २५ हजार ६ सय ५३ रुपैयाँ लागतमा भवन निर्माण भएको हो । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाको चार लाख ९५ हजार एक सय ९ रुपैयाँ आर्थिक सहयोग तथा २७ हजार पाँच सय ३७ रुपैयाँ जनश्रमदान र गुराँस गाउँपालिकाको दुई लाख ५० हजार आर्थिक सहयोग तथा ५३ हजार ७ रुपैयाँको जनश्रमदानबाट भवन निर्माण गरिएको हो ।

बाल विकास केन्द्रको भवन निर्माण भएसँगै व्यवस्थित कक्षा कोठाभित्र बालबालिकाहरुको पठन पाठनमा सहज भएको छ । अहिले बालबालिकाहरु कक्षा कोठाभित्र कार्पेट तथा पिफर्ममा बसेर अध्ययन गरिरहेको सहयात्रा दोस्रो परियोजनाका फिल्ड अधिकृत कमला मल्लले बताइन् । भवन निर्माणसँगै परियोजनाले कक्षा कोठा व्यवस्थापनका लागि कार्पेट, पिफर्म समेत सहयोग गरेको मल्लले जानकारी दिइन् ।

बालबालिकाहरुलाई टिफिन बक्स समेत सहयोग गरिएको उनले जानकारी दिइन् । जनसहयोग नेपाल राष्ट्रिय आधारभुत विद्यालयको बाल विकास केन्द्रमा हाल २० जना बालबालिकाहरु अध्ययनरत छन् । व्यवस्थित कक्षा कोठाभित्र पढ्न पाउँदा बालबालिकाहरु अहिले खुसी छन् ।

पहिले यसरी खुला चौरमा पढ्थे बालबालिका

अहिले यसरी व्यवस्थित कक्षा काेठामा पढ्छन बालबालिका

बाल विकास केन्द्रकाे भवन

प्रतिक्रिया