परराष्ट्रमन्‍त्री ज्ञवाली दिल्लीमा, सम्बन्ध सुधारका लागि महत्वपूर्ण पहल

परराष्ट्रमन्‍त्री ज्ञवाली दिल्लीमा, सम्बन्ध सुधारका लागि महत्वपूर्ण पहल

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने भारत भ्रमणका लागि बिहीबार नयाँ दिल्ली पुगेका छन्। नेपाल-भारत संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ज्ञवाली दिल्ली पुगेका हुन्।

नयाँ राजनीतिक घटनाक्रमपछि हुन लागेको परराष्ट्रमन्त्रीको यो भ्रमणलाई अर्थपूर्ण मानिएको छ। नक्सा प्रकरणपछि चिसिएको सम्बन्धलाई सुधार गर्न यो भ्रमण महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।औपचारिक कार्यक्रमबाहेक दिल्लीमा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नेछन्। 

नक्सा प्रकरणपछि असहज बनेको सम्बन्धलाई सुधार गर्न पछिल्ला दिनमा भारत सकारात्मक देखिएको छ। त्यही क्रममा भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ'(रअ) का प्रमुख, भारतीय सेनाप्रमुख र विदेश सचिवबाट नेपाल भ्रमण भइसकेको छ।भारतीय उच्च अधिकारीहरूको यो शृखंलावद्ध काठमाडौं यात्राले सम्बन्ध सुधारको वातावरण बनाएको थियो। 

झन्डै एक वर्षदेखि दुई देशबीचको सम्वाद र सम्बन्ध सहज हुन नसकिरहेका बेला नेपालको तर्फबाट पहिलोपटक यो स्तरको भ्रमण भएको हो। यो बीचमा दुईपक्षीय संयन्त्रका नियमित बैठक तथा छलफलसमेत अवरुद्ध भएका थिए। तीमध्ये संयुक्त आयोग सबैभन्दा महत्वपूर्ण संयन्त्र हो। आयोगले राजनीतिक, सीमा, सुरक्षा, परियोजनालगायत नेपाल र भारतबीचका धेरै विषयलाई समेट्को छ।साथै बैठकमा व्यापार, पारवहन, ऊर्जा, सीमा, कोभिड–१९ मा सहयोग, पूर्वाधार, आपसी सम्पर्क, लगानी, कृषि, पर्यटन, संस्कृतिलगायत विषयमा समेत छलफल हुनेछ ।

नेपाली प्रतिनिधिमण्डलमा भारतका लागि नेपाली राजदूत, परराष्ट्र सचिव, स्वास्थ्य सचिवसहित उच्च सरकारी अधिकारीहरू समावेश छन् । परराष्ट्रमन्त्री ज्ञवाली माघ ३ गते स्वदेश फर्किनेछ।

२०२० नोभेम्बर २ मा भारतले नेपालको लिम्पियाधुरा र लिपुलेकलाई पनि आफ्नो भूभागका रूपमा समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि दुई देशबीचको सम्बन्धमा अलि असहज बन्दै गएको हो। नक्सा सच्चाउनका लागि राजनीतिक र कुटनीतिक दुवै तहबाट भएको पहललाई भारतले वास्ता नगरेपछि नेपाल सरकारले जेठ ५ गते भारतले अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गर्यो । संसदबाट नयाँ नक्सासहित संविधान संशोधन गरेपछि यो विषय थप पेचिलो बनेको थियो।

भारत भ्रमणमा जानुअघि अन्नपूर्ण पोस्टलाई दिएको अन्तर्वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले संयुक्त आयोगको बैठकमार्फत भारतसँगको सम्बन्ध अझ प्रगाढ बनाउन प्रयास गर्ने बताएका छन्। उनी भन्छन्, ‘सीमा समस्या, सन् १९५० को सन्धिलगायत लामो समयदेखि नसुल्झिएका विषय समाधानका लागि ठोस मार्गचित्र बनाउने प्रयत्न हुनेछ।’ 

परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ छ, ‘समस्याहरूलाई लुकाएर तथा थाँती राखेर सम्बन्ध अघि बढ्दैन। सम्बन्ध अघि बढाउन बिझाउने सबै विषय हटाउनुपर्छ। बलियो विश्वासको जग बसाउनुपर्छ।’

प्रतिक्रिया