आयोगले थाल्यो मतदाता नामावली अद्यावधिकको काम

आयोगले थाल्यो मतदाता नामावली अद्यावधिकको काम

दैलेख : सरकारले घोषणा गरे अनुरुप आगामी वैशाख १७ र २७ मा प्रतिनिधि सभाको निर्वाचन हुने नहुने यकिन नभए पनि निर्वाचन आयोगले भने प्रारम्भिक तयारी अगाडि बढाएको छ । निर्वाचन हुने वा नहुने विषय सर्वोच्च अदालतको फैसलामा निर्भर गर्दछ । तर, आयोगले भने अहिलेलाई सरकारले घोषणा गरेको मितिलाई आधार मान्दै निर्वाचनको तयारी गरेको हो । आयोगले सबैभन्दा पहिला मतदाता नामावली अद्यावधिक गर्ने कार्यलाई प्राथमिकतमा राखेको छ ।
सोहि बमोजिम जिल्ला निर्वाचन कार्यालय दैलेखले आइतवार मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) अन्तरक्रिया गरेको छ । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका प्रमुख कुमारी रिमा मल्लले कार्यालयले गर्न लागेको कामहरुबारे जानकारी गराइन् । आयोगले तयार गरेको फोटो सहित मतदाता नामावलीमा मतदाताले आफ्नो नाम विवरण हेर्ने एवं अद्यावधिक गर्नका लागि सहज पहुँच प्रदान मतदाता नामावली अद्यावधिक कार्य सुरु गरिएको मल्लले जानकारी दिइन् ।
उनका अनुसार मतदाता नामावली अद्यावधिक मार्फत मतदाता नामावली भएका दोहोरोपना र त्रुटिहरुलाई हटाउन, मतदाता नामावली ऐन २०७३ ले व्यवस्था गरेको सम्पन्न गरी हालसम्म संकलित मतदाता नामावलीहरुलाई वैधानिकता प्रदान गर्न र २०७८ बैशाख १७ र २७ गते हुन गईरहेको प्रतिनीधि सभा सदस्यको निर्वाचनका लागि अद्यावधिक मतदाता नामावली तयार गर्ने उदेश्य सहित मतदाता नामावली अद्यावधिक गर्ने कार्यलाई अघि बढाईएको हो । मतदाता नामावली अद्यावधिक कार्यक्रम देशभरका ७ सय ५३ वटै स्थानिय तहको केन्द्रलाई आधार मानेर संचालन हुने र जिल्ला स्तरमा निर्वाचनको कार्यक्रमहरु सुचारु भएको मल्लको भनाई थियो ।
जिल्लाका ११ वटै स्थानीय तहबाट मतदाता नामावली अद्यावधिक गर्ने कार्य अघि बढाएको मल्लले जानकारी दिइन् । मतदाता नामवली ऐन २०७३ को दफा ४ को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांश (२) को व्यवस्था बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन भन्ने उल्लेख छ ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापा, डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्ल, गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओली, महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही, भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढा जिल्लास्थित राजनीतिक दल, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया