पहाड छिचोलेर कच्ची सडक, सडक सञ्जालले जोडियो भैरवी र शुभकालिका

पहाड छिचोलेर कच्ची सडक, सडक सञ्जालले जोडियो भैरवी र शुभकालिका

पहाड छिचोलेर निर्माण गरिएको कच्ची सडक । तस्विर : हिक्मतबहादुर नेपाली ।

दैलेख : दैलेखको भैरवी गाउँपालिका र कालिकोटको शुभकालिका गाउँपालिका सडक संजालले जोडिएका छन् । चट्टानी पहाडहरू छिचोलेर कच्ची सडक निर्माण सम्पन्न भएपछि दैलेख र कालिकोट जिल्लालाई उत्तर दक्षिण सडक सञ्जालले जोडको हो । कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेतदेखि दैलेखको माथिल्लो डुङ्गेश्वर, बैक, मालिका, दुल्लु डाँडामाडी, सिलंगीबजार, कुसापानी, ब्याउलीको लेक, कालिकोट, जुम्ला, मुगु हुँदै तिब्बत जोड्ने सडक अन्तरगर्त भैरवी र शुभकालिका गाउँपालिका सिमा क्षेत्रमा ट्रयाक खोलिएको हो ।
कर्णाली राजमार्गको उत्तर–दक्षिण वैकल्पिक राजमार्गको रुपमा हेरिएको उक्त सडकखण्ड अन्तरगर्त कालिकोटको सिमा क्षेत्रमा कच्ची सडक पुगेको हो । दैलेखको भैरवी गाउँपालिका–७ बतासे देखि कालिकोटको शुभकालिका गाउँपालिका–६ भोटेगढीसम्म ट्रयाक खोलिएको हो । सडकको ट्रयाक खोल्न झण्डै पाँच करोड रुपैयाँ खर्च भएको भैरवी गाउँपालिकाका इन्जिनियर हीरासिंह थापाले बताए । उक्त सडक स्तरोन्तीका लागि कर्णाली प्रदेश सरकारले बहुबर्षिय योजना अन्तरगर्त २९ करोड रुपैयाँ विनियोजन गरिसकेको इन्जिनियर थापाले बताए । ‘सडकखण्ड स्तरोन्ती भएर मुगुसम्म जोडिएपछि यो सडक खण्डनै कर्णाली प्रदेशका लागि आर्थिक केन्द्र बन्छ,’ उनले भने ।
गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले उक्त सडक कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–६ दहचौर हुँदै पानतडीबाट कर्णाली राजमार्गको सेरावाडामा जोडिने बताए । ‘यो सडक कर्णाली राजमार्गमा जोडिपछि अहिलेको कर्णाली राजमार्ग दुरी भन्दा ६८ किलोमिटर सडक छोटो पर्छ,’ अध्यक्ष बुढाले भने ‘यो सडक खण्डबाट मुगु, जुम्ला र कालिकोटको पूर्वी क्षेत्रका नागरिकहरुका लाग आवतजावतमा सहज हुनेट ।’ दैलेखको पञ्चकोशी तिर्थस्थल अवलोकन गर्दै रारा जाने पर्यटकहरुका लागि उक्त सडक खण्ड नै पर्यटकीय मार्ग बन्ने र सडकले पर्यटन व्यवसायलाई बढवा दिने अध्यक्ष बुढाको भनाई छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले विकासको मुल पूर्वाधार सडक भएकाले उक्त सडकलाई स्तरोन्तीका लागि पहल गर्ने बताए ।
कुनै समय पैदल हिड्न समेत हम्मे–हम्मे पर्ने उक्त क्षेत्रमा कच्ची सडक पुगेपछि स्थानीय खुसी भएका छन् । ‘भीरपाखा र जंगलैजंगल रहेको गाउँमा सडक आउँला भन्ने सोचेकै थिएनौ,’ दैलेख र कालिकोटको सिमा क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरु भन्छन् ‘राज्यको आँखा यहाँ सम्म पुग्यो, सडक आउँदा खुसी लागेको छ ।’ पहाड छिचोलेर कच्ची सडक निर्माण गरिएपनि उक्त सडकखण्डबाट ज्यान हत्केलामै राखेर हिँड्नुपर्ने बाध्यता छ । कच्ची सडक त्यसैमा साँघुरो भएका कारण दुईतर्फी गाडी गुड्ने सम्भावना छैन् ।

प्रतिक्रिया