आत्महत्या रोकथामका लागि वृतचित्र निर्माण

आत्महत्या रोकथामका लागि वृतचित्र निर्माण

वृतचित्र अनावरण गर्दैै सिडिओ सन्तबहादुर सुनार र जिसस प्रमुख प्रेमबहादुर थापा ।

दैलेख : जिल्लामा बढ्दो आत्महत्याविरुद्ध रोकथाम अभियान स्वरुप वृतचित्र निर्माण गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले वृतचित्र निर्माण गरेको हो । आत्महत्याका घटना न्यूनिकरण गर्न सहयोग पुगोस् भन्ने उदेश्यले वृत चित्र निर्माण गरिएको दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठले बताए ।
जिल्लाका विभिन्न स्थानीय तहको सहयोगमा जिल्ला प्रहरी कार्यालयले वृत चित्र निर्माण गरेको हो । वृतचित्रमा बेरोजगारीका कारण पारिवारिक र सामाजिक दवाव तथा दाइजो नल्याएका निहुँमा पति र सासुससुराबाट पटक–पटक शारीरिक र मानसिक यातना झेल्दै आएको घटनालाई देखाईएको छ । जसका कारण आत्महत्याको बाटो रोज्ने गरेको दृष्य वृतचित्र समावेश गरिएको छ ।


सामाजिक घटनामा आधारित रहेर आत्महत्या विरुद्ध निर्माण गरिएको वृतचित्र शुक्रवार एक कार्यक्रमकाबीच अनावरण गरिएको छ । कलाकार लोकेन्द्र जिसी कुमारद्धारा निर्देशित उक्त वृतचित्र प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार र जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले संयुक्त रुपमा वृतचित्र अनावरण गरेका हुन् । वृतचित्र अनावरण कार्यक्रममा नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, चामुण्डाविन्द्रासैनी नगरपालिकाका उपप्रमुख तारा शाही, डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्ल, महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही, भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढा, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनीधि लगाएत सहभागि थिए ।
उक्त वृतचित्रलाई जिल्लाका ११ वटै स्थानीय तह, जिल्ला प्रहरी कार्यालय दैलेख मातहतका प्रहरी कार्यालय, गैरसरकारी निकायहरुमार्फत गाउँ–गाउँमा पु¥याईने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया