दैलेख कोरोना संक्रमण मुक्त

दैलेख कोरोना संक्रमण मुक्त

गत जेठमा दैलेख सदरमुकामस्थित नारायण क्याम्पसमा रहेको क्वारेन्टाइनमा राखिएका व्यक्तिहरु ।

दैलेख : गत जेठ/असार तीर दैलेखलाई कोरोना संक्रमणको रेड जोनमा हेरिन्थ्यो । दिनहुँजसो सयौ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुन थालेपछि दैलेखलाई रेड जोनको रुपमा हेरिएको थियो । त्यसबेला कोरोना संक्रमितलाई व्यवस्थापन गर्न कठिन भएको थियो । एकाएक संक्रमितको संख्या बढ्न थालेपछि उनीहरूको उपचार र आइसोलेसन व्यवस्थापनमा समस्या भएको थियो । तर, शनिवार देखि दैलेख कोरोना संक्रमणको रेड जोनबाट ग्रीन जोनमा प्रवेश गरेको छ । अर्थात दैलेख जिल्ला कोरोना संक्रमण मुक्त भएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखका अनुसार जिल्ला कोरोना संक्रमण मुक्त भएको छ । लामो समयदेखीको अथक प्रयास पछि दैलेख जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएको प्रशासनले जनाएको छ ।
हालसम्म ११ हजार २ सय २२ जना व्यक्तिहरुमा पिसिआर परीक्षण गरिएको प्रशासनको तथ्यांक छ । परिक्षण गरिएका मध्ये १ हजार ४ सय ९८ जना व्यक्तिहरुलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो । जसमध्ये १ हजार ४ सय ९२ जना व्यक्तिहरुले उक्त भाइरसलाई पराजित गरी संक्रमणमुक्त भएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ । कोरोना संक्रमणका कारण हालसम्म जिल्लामा ६ जना व्यक्तिहरुको ज्यान गुमाएका छन् ।
प्रमुख जिल्ला अधिकारी एवं कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र दैलेखका संयोजक सन्त बहादुर सुनारले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको उपचार, रोकथाम र नियन्त्रणका लागि जिल्लामा दिनरात खटिई जिल्लालाई संक्रमणमुक्त बनाउन योगदान दिईरहनु भएका स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, आम नागरिक तथा सम्बद्ध सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी सुनारले नेपाल सरकारबाट कोरोना भाइरसको खोप अभियान सञ्चालन भईरहेको र यस संक्रमणको जोखिम हालसम्म पनि यथावत नै रहेको हुँदा आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता सम्बन्धी मापदण्डहरुको पूर्ण पालना गरी कोरोना भाइरसको संक्रमणलाई निर्मूल गर्ने लक्षमा ऐक्यबद्धताका लागि आग्रह गरेका छन् ।

प्रतिक्रिया