बालिका र किशोरीलाई आत्मरक्षा तालिम

बालिका र किशोरीलाई आत्मरक्षा तालिम

आत्मरक्षा सिप सिक्दै आठबीस नगरका बालिका तथा किशोरी ।

दैलेख : गत मंसिर तेस्रो साता दैलेखमा १४ बर्षीया बालिका आफ्नै बावुबाट बलात्कृत भईन् । नारायण नगरपालिकाकी ती बालिकालाई आफ्नै ३८ बर्षीया बाबुले घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त घटनाको एक महिना नबित्दै नारायण नगरपालिकाकै पाँच बर्षीया बालिका बलात्कारको सिकार भईन् । छिमेकी ३५ बर्षीया पुरुषले घरमा कोही नभएको मौका छोपेर बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पुष अन्तिम साता मात्रै उस्तै घटना दोहोरीयो । सुर्खेत घर भएकी १४ बर्षीया बालिका गुराँस गाउँपालिकास्थित सेरीमा बलात्कृत भइन् । २० बर्षीया युवकले उनिमाथी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । यी केहि प्रतिनीधिमुलक घटना मात्रै हुन् । पछिल्लो समय दैलेखका छोरीहरु आफन्त र छिमेकीबाटै बलात्कारको सिकार बन्न थालेका छन् ।


बालिका तथा किशोरीहरु आफन्तबाटै असुरक्षित छन् । आफ्नै छिमेकीबाट बलात्कृत हुन पुगेका छन् । घरबाट विद्यालय र विद्यालयबाट घर फिर्ता हुँदा समेत त्रसित हुनुपर्ने बाध्यता बालिका तथा किशोरीले झेल्नुपरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारका अनुसार पछिल्लो ६ महिनायता दैलेखमा सात वटा बलात्कारका घटना प्रहरीसम्म आईपुगेको छ । यी घटनामध्ये तीन जना बालिका बलात्कारको सिकार बनेको प्रहरी निरीक्षक सुनारले बताए ।
बलात्कार तथा यौनजन्य हिंसाका घटनाहरु रोकथामका लागि आठबीस नगरपालिकाका बालिका तथा किशोरीहरुलाई आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम दिईएको छ । बालिका र किशोरीलाई यौनहिंसाको प्रतिकार गर्ने उपाय सिकाउन आत्मरक्षा तालिम दिइएको हो । नगरपालिकाका १७ सामुदायिक विद्यालयका ६६ जना बालिका तथा किशोरीहरुलाई तालिम प्रदान गरिएको छ । तीनदिनसम्म दिईएको तालिममा बालिका तथा किशोरीहरुले यौन हिंसा तथा दुव्र्यवहार भएमा वा कसैले बलात्कारको प्रयास गर्न खोजे प्रतिकार गर्ने उपाएहरु सिकाईएको छ । बालिका तथा किशोरीहरुलाई गलत नियतले हात समाते, पछाडिबाट अंगालो हाल्न खोजे, कपाल समाते, बलात्कार वा यौनहिंसाको प्रयास गरे त्यसबाट जोगिनका लागि प्रतिकार गर्ने सेल्फ डिफेन्सका सातवटा उपायहरु सिकाईएको बालिका र किशोरीलाई तालिमको सहजिकरण गर्दै आएकी सजना सुनारले बताइन् । उनले एक्लै हिँडडुल गर्दा कसैले जबरजस्ती गर्न खोजे त्यसबाट बच्ने तरिकाहरू सिकाइएको सुनारले जानकारी दिइन् ।


नगरपालिकाले स्कुले बालिका तथा किशोरीहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरेको हो । पहिलो चरणमा सामुदायिक विद्यालयका बालिका तथा किशोरीहरुलाई आत्मरक्षाको सिपहरु सिकाएको आठबीस नगरपालिका उपप्रमुख दीपा बोहराले बताइन् । ‘बालिका तथा किशोरीहरु आफन्त, छिमेकी तथा नातेदारबाटै असुरक्षित छन्, उनिहरुको सुरक्षालाई मध्यनजर गर्दै आत्मसुरक्षा तालिम दिएका हौ,’ उपप्रमुख बोहराले भनिन् ‘तालिम सिकेका बालिका तथा किशोरीहरुले आ–आफ्नो स्कुलका अन्य बालिका तथा किशोरीहरुलाई सिकाउनेछन् ।’ बालिका, किशोरी र महिलाहरुमा आत्मविश्वासको कमीले पनि हिंसादेखि बलात्कारसम्मको सिकार हुने भएकाले उनिहरुमा आत्मविश्वास जगाई आत्मरक्षा गर्ने विधि सिकाईएको उपप्रमुख बोहराको भनाई छ । बालिकामाथि हुने यौनहिंसा नियन्त्रण गर्न आत्मरक्षा तालिम फलदायी हुने उपप्रमुख बोहराको दाबी छ ।
आत्मसुरक्षा तालिम सिकेका किशोरीहरुले पहिला भन्दा आत्मविश्वास र सुरक्षित महशुस गरेको बताएका छन् । जनज्योती मावीमा अध्ययनरत निशा शाही भन्छिन् ‘कसैले यौन हिंसा तथा दुव्र्यवहारको प्रयास गरे प्रतिकार गर्न सक्ने सीप जानेका छौँ, यो सीप अरूलाई पनि सिकाउनेछौँ ।’ आत्मसुरक्षाको सिप सिकेकी किशोरी कमला माझीले तालिममा यौनजन्य दुव्र्यवहारबाट कसरी जोगिने भन्ने सिकेको बताइन् । आफूहरूले बलात्कारको प्रयास गर्ने व्यक्तिको आँखामा दबाब दिने, संवेदनशील अंगमा प्रहार गर्ने लगायतका उपायहरु तालिममा सिकेको उनले बताइन् । माझीले भनिन् ‘तालिम पश्चात आत्मविश्वास बढेको छ, सुरक्षित महशुस गरेका छौ ।’ आत्मसुरक्षा सिपसँगै बालिका तथा किशोरीहरुलाई बाल अधिकारबारे समेत जानकारी दिईएको छ । उनिहरुलाई बाल विवाहबारे कानुनी प्रावधान, सानै उमेरमा विवाह गर्दा आईपर्ने समस्याहरु तथा छाउपडी प्रथा, जातीय विभेदबारे कानुनी प्रावधानबारे समेत जानकारी दिईएको नगरपालिकाले जनाएको छ ।

शब्द तस्विर : हिक्मतबहादुर नेपाली


प्रतिक्रिया