भागरथी भट्टको हत्यामा संलग्नलाई कारबाहीको माग

भागरथी भट्टको हत्यामा संलग्नलाई कारबाहीको माग

दैलेख : नेपाल महिला संघ जिल्ला कार्य समिति दैलेखले बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गरेको छ । बिहिवार एक विज्ञप्ती जारी गर्दै नेपाल महिला संघ दैलेखले भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाका विषयमा तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।
नेपाल महिला संघ दैलेखका अध्यक्ष सिताकुमारी रानाद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘बैतडीको दोगडकादार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि गरिएको हत्याको घटनाप्रति नेपाल महिला संघ जिल्ला कार्य समिति, दैलेखको गम्भिर ध्यानाकर्षण भएको जनाएकाे छ ।’ स्थानीय सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत छात्रा भागरथी विद्यालय गएर घर नफर्किएपछि आफन्तले खोजी गर्दा लबलेक सामुदायिक वनमा बिभत्स अवस्थामा उनको शव फेला परेको थियो ।
विज्ञप्तीमा भनिएको छ ‘बालिकामाथी बलात्कारपछि हत्याको यो घटना पहिलो भने होइन्, कन्चनपुर भीमदत्त नगरपालिका, महेन्द्रनगरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको करीब दुई वर्ष पाँच महिना बितिसक्दापनि प्रहरीले दोषि पत्ता लगाउन सकेको छैन् ।’ २०७५ साल साउन १० गते निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो ।
‘विश्व २१ औँ शताब्दीमा अगाडी बढिरहेको अवस्थामा नेपालका महिला, बालिका र किशोरीमाथी भईरहेका श्रृखलाबद्ध बलात्कार, बलात्कारपछि हत्या, यौन हिंसा तथा यौन दुव्र्यवहार मात्रै होइन्, लिंग पहिचान गरेर गर्भमै हत्या गरिनुले छोरीहरु असुरक्षित छन् भन्ने पुष्टि गरेको छ,’ विज्ञप्ती भनिएको छ ‘यस्ता खाले क्रुर, अमानवीय र जगन्य अपराधका घटनाहरु बढिरहँदा अपराध मौलाउँदै गएको छ भने दण्डहिनताले प्रसय पाईरहेको छ ।’ विज्ञप्ती मार्फत नेपाल महिला संघले १७ बर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाका विषयमा तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतीपूर्ती उपलब्ध गराउन समेत सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया