‘अब ग्राहक खोज्दै हिड्नु पर्दैन’

‘अब ग्राहक खोज्दै हिड्नु पर्दैन’

दैलेख : नारायण नगरपालिका–४ की पदमकुमारी मल्लले बर्षौदेखि तरकारी खेती गर्दै आएकी छिन् । तर, उनले आफुले उत्पादन गरेको तरकारी एकै ठाउँमा लगेर बिक्री गर्न भने कहिल्यै पाइनन् । उत्पादित तरकारीहरु डोकोभरी बोकेर सदरमुकाम दैलेख बजारका घरघरमा पुग्ने उनको बाध्यता थियो । अब भने उनले गाउँकै कृषि उपज संकलन केन्द्रमा तरकारी बिक्री गर्न पाउने भएकी छिन् । शुक्रवार संकलन केन्द्रमा आलु र टमाटर लिएर आएकी मल्लले भनिन् ‘तरकारी उत्पादन भएपनि घण्टौ लगाएर बजार–बजार, घर घर चाहार्नु पर्ने बाध्यता थियो, अब भने त्यस्तो समस्याबाट छुटकारा पाईने भयो ।’
सोहि ठाउँका अर्का किसान कुलबहादुर थापा गाउँमै कृषि उपज संकलन केन्द्र सञ्चालनमा आएपछि खुसी छन् । आफुले उत्पादन गरेको तरकारी घर नजिकै रहेको संकलन केन्द्रमा लगेर बिक्री गर्न पाउने भएपछि उनि खुसी छन् । ‘अब तरकारी सजिलै बिक्रि हुने भयो, ग्राहक खोज्दै हिड्नु पर्ने बाध्यताको अन्त्य भयो,’ थापाले भने ।


शुक्रवारदेखि नारायण नगरपालिका भैसेखोर बजारमा कृषि उपज संकलन केन्द्र सञ्चालनमा आएपछि पदमकुमारी र कुलबहादुर मात्रै होइन यस क्षेत्रका अन्य किसानहरु खुसी भएका हुन् । नारायण नगरका वडा नम्बर ३, ४, ५ र १० का किसानहरुलाई लक्षित गर्दै संकलन केन्द्र सञ्चालनमा ल्याईएको हो । बर्षौदेखि व्यवसायिक तरकारी खेती गर्दै आएका यो क्षेत्रका किसानहरुको सहजताका लागि संकलन केन्द्र स्थापना गरिएको बताईएको छ । बिगत लामो समयदेखि किसान–२ परयिोजना र गोठपाँडा सहकारीको कार्यक्रम नारायण २ देखि १० वडाका ३२ वटा समूह मार्फत झण्डै ८ सय जना किसानहरु तरकारी खेतीगर्दै आएका छन् ।
किसान दृतिय परियोजना र गोठपाँडा कृषक सहकारी संस्थाको साझेदारी तथा जिल्ला कृषि विकास कार्यालयको समन्वयमा संकलन केन्द्रको स्थापना गरिएको हो । संकलन केन्द्रको नारायण नगरप्रमुख रत्नबहादुर खड्का र दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष कुलबहादुर विकले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
संकलन केन्द्र उद्घाटनका अबसरमा नारायण नगर प्रमुख रत्नबहादुर खड्काले आवश्यक पूर्वाधार निर्माणका लागि स्थानिय सरकार सरोकारवाला सबैसंग हातेमालो गरि काम गर्न तयार रहेको बताए । उद्योग बाणिज्य संघका अध्यक्ष कुलबहादुर बिकले किसानहरुको उत्साह प्रसंशनिय रहेको बताए । अब उत्पादनको मात्रा र गुणस्तरमा ध्यान दिन सकेमा बजारको अभाव नभएको विकको भनाई छ ।
कृषि विकास कार्यालयका निमित्त प्रमुख तिलक प्रसाद पाण्डेले किसानहरुको उत्साह र उत्पादनको सम्भावनालाई मध्यनजर गरि कृषि विकास कार्यालयले यसै बर्ष किसानहरुले नै संचालन गर्न पाउने आप्mनै संकलन केन्द्र भवन निर्माण गर्ने तयारी थालेको बताए ।

प्रतिक्रिया