प्रदेश १ मा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश

प्रदेश १ मा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश

प्रदेश सभा, प्रदेश नं. १ काे सातौं तथा हिउँदे अधिवेशनको तेश्रो बैठक ।

मोरङ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्ताव सदनमा पेस भएको छ । आइतबार बसेको बैठकमा सभामुखले समय दिएपछि मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोले टेबुल गरेका हुन् । तर बैठकमा मन्त्री, सत्तापक्षका सांसदहरु भने उपस्थित थिएनन् । मुख्यमन्त्री राईविरुद्ध नेकपा दाहाल-नेपाल समूहका ३७ जना सांसदले हस्ताक्षर गरी अविश्वास प्रस्ताव दर्ता गरेका थिए । जसमध्ये ४ जना सांसदले हस्ताक्षर फिर्ता लिएका छन् ।

मुख्यमन्त्री राईले दाहाल पक्षका १६ सांसदलाई ३ महिना निलम्बन गरेको भन्दै सरकार पक्षका सांसदले सदन सुरु हुनुभन्दा अगाडि उनीहरुलाई उपस्थित नगराउन सभामुख प्रदीपकुमार भण्डारीलाई आग्रह गरेका थिए । अविश्वास प्रस्तावको प्रस्तावकमा आङ्बो र समर्थक लक्ष्मण तिवारी छन् । ९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ जना छन् । नेकपाका ६७ जनामध्ये पूर्वएमालेका ५१ र पूर्वमाओवादीका १६ जना छन् ।

दाहाल–नेपाल पक्षधरले २२ जनाभन्दा कम प्रदेशसभा सदस्य मुख्यमन्त्री राईसँग रहेको दाबी गर्दै आएका थिए । मुख्यमन्त्री राई पक्षधरले भने ३५ भन्दा बढी प्रदेशसभा सदस्यहरू आफूहरूसँग रहने दाबी गरेका थिए । प्रदेशसभामा बहुमतका लागि ४७ जना सदस्य चाहिन्छ ।

प्रतिक्रिया