खाने होइन त, कुमालखाडा गाउँकाे ताजा तरकारी (फोटो फिचर)

खाने होइन त, कुमालखाडा गाउँकाे ताजा तरकारी (फोटो फिचर)

दैलेख : जिल्लाकाे आठबीस नगरपालिका–३ कुमालखाडा गाउँका ४० जना कृषकको घर–घरमा तरकारी उत्पादन भइरहेको छ । यो गाउँ कर्णाली नदी किनारको छेउमै रहेको बस्ती हो । यो बस्ती हुँदै कर्णाली राजमार्ग जोडिएको छ । यहाँका नागरिकले लामो समयसम्म गरिबी, विपन्नता र पछौटेपन भोगे । झण्डै एक दशक अघिसम्म यहाँ एचआइभी संक्रमितको कहालीलाग्दो अवस्था थियो । केही एचआइभी संक्रमितले ज्यान गुमाइसके । केहि नियमित औषधी सेवन गरेर दैनिकी गुजारिरहेका छन् । अहिले रोग, भोक, गरिबी, विपन्नता र पछौटेपनले पिल्सिएको यो गाउँको मुहार फेरिन थालेको छ । 

गाउँका सबै घरपरिवार व्यवसायिक तरकारी खेतीसँगै पशु पालनमा जोडिएका छन् । यहाँका कृषकको व्यवसायिक तरकारी खेतीमा आकर्षण बढेको छ । यसले गाउँलाई आत्मनिर्भर बनाउन मद्धत पुगेको छ । गाउँमा दुईवटा फलफूल तथा कृषक समूह सक्रिय छन् । बाँसघारी गौरीशंकर फलफूल तथा कृषक समूह र चेतनशिल फलफूल तथा कृषक समूहमा गरी ४८ जना आवद्ध छन् ।

तीमध्ये ४० जनाले व्यवसायिक तरकारी खेती गरिरहेका छन् भने ८ जनाले बाख्रा पालन गरिरहेका छन् ।  यो गाउँलाई नमुना गाउँ बनाउने अभियान अघि सारिएको छ । सोहि अनुरुप यूरोपियन यूनियन, डिसीए नेपालको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्वारा सञ्चालित साकार र उत्थान परियोजनाले मौषमी बेमौषमी बीउबीजन, पोली हाउस, सरल थोपा सिचाई, गार्डेन पाइप, पलास्टिक पोखरी सहयोग गरेको छ ।

पशुपालन गर्ने किसानलाई बाख्रा सहयोग गरिएको छ भने व्यवसायिक तरकारी खेती गर्ने किसानलाई प्राविधिक ज्ञान दिइएको छ ।  परियोजनाले किसानलाई सिंचाईको सुविधा समेत पुर्याएको छ । किसानले व्यावसायिक तरकारी खेती गर्न थुप्रै तालिम दिइएको परियोजनाबाट खटिएका कृषि प्राविधिक कमल शाही बताउँछन् । नमुना गाउँ निर्माण गर्ने अभियानअन्तरगर्त किसानले अर्गानिक उत्पादनमा जोड दिएका छन्।

शब्द तस्विर : हिक्मतबहादुर नेपाली ।

प्रतिक्रिया