बर्ड फ्लुबाट जाजरकोटमा करिब १ हजार कुखुरा मरे

बर्ड फ्लुबाट जाजरकोटमा करिब १ हजार कुखुरा मरे

जाजरकोट : बर्ड फ्लुले भेरी नगरपालिका–३ स्याँलास्थित एकता पोल्ट्री फार्मका करिब ९ सय ८० कुखुरा मरेका छन् । बर्ड फ्लुले एक साताको अवधिमा फार्मका सबै कुखुरा मरेपछि स्थानीयबासी त्रसित भएका छन् । फार्ममा १ हजार लेयर्स जातका कुखुरा थिए । बर्ड फ्लुको संक्रमणले कुखुरा सखाप भएपछि स्थानीय बिना पुनको ६ लाख रुपैयाँ लगानी डुबेको छ । उनले दुई वर्षदेखि व्यवसायिक कुखुरा पालन गरिरहेकी थिइन् । पशु अस्पताल तथा पशुसेवा कार्यालयको बेवास्ताले फार्म खाली भएको उनले गुनासो गरिन् । मरेका कुखुराको नमुना परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख जरबहादुर भर्कीले बताए ।

उनका अनुसार बर्ड फ्लु फैलिएपछि कर्णाली प्रदेशको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र केन्द्रीय पशुपन्छि रोग प्रयोगशालाको टोली प्रभावित क्षेत्रमा पुगेको छ । टोलीले प्रभावित क्षेत्रका झण्डै ३ सय कुखुरा नष्ट गरेको उनले जानकारी दिए । ‘किसानलाई नष्ट गरिएका कुखुराको क्षतिपूर्ति दिइनेछ,’ उनले भने, ‘बर्ड फ्लु स्थानीय जातका कुखुरा, हाँस, टर्कीलगायत चराचुरुंगीमा फैलिएको आशंका छ, हामीले अनुसन्धान गरिरहेका छौं ।’

प्रतिक्रिया