मदिराले उजाडियो परिवार

मदिराले उजाडियो परिवार

३५ बर्षीया सुकी बडुवाल र उनका चार छोराछोरीले कर्णाली नदिमा हाम फालेको पछिल्लो दिन उनिहरुको शव खोज्न पुगेका स्थानीय बासिन्दाहरु ।  

दैलेख : दैलेखको आठबीस–३ निमायलको एकै परिवारका चार जना कर्णाली नदीमा मृत भेटिएपछि गाउँले सोचमग्न भएका छन्। स्थानीयवासी प्रश्न गर्छन्– ३५ वर्षीया सुकी बडुवाल चार सन्तानसँगै किन नदीमा हेलिन् ? जतिसुकै पीडा भए पनि एक आमाले तिनै सन्तानको मुख हेरेर बाँच्ने आँट किन गरिनन् ?

प्रहरी अनुसन्धानले भने पतिले मदिरा सेवन गरी दुःख दिएका कारण सुकी चार सन्तानसहित नदीमा हाम फाल्न बाध्य भएको देखाएको छ। मानसिंह बडुवालले मदिराको कुलतमा परी दिएको यातनाका कारण उनको सुन्दर परिवार उजाडिएको हो। मानसिंहले आइतबार पनि अत्यधिक मदिरा सेवन गरे। सुकीले सम्झाउने प्रयास गरिन्। यही विषयमा पति र पत्नीबीच विवाद भयो।

त्यसपछि सुकी चार छोराछोरीसहित घाँस काट्न जान्छु भन्दै घरबाट निस्किएकी थिइन्। सुकी छोरीहरू १४ वर्षीया कल्पना, १२ वर्षीया सरिता, ५ वर्षीया रजनी र छोरा १० वर्षीय ललितलाई साथमा लिएर हिँडेकी थिइन्। सुकीले चार छोराछोरी साथमा लिएर हिँडेका छिमेकीले देखेका थिए। सबै सन्तान लिएर हिँडेको देख्दा छिमेकीले सुकीलाई प्रश्न गरे। तर, सुकीले आफू खेतमा घाँस काट्न जान लागेको भन्दै छक्याइन्। घाँस काट्न जाने भनेपछि गाउँलेले पनि रोक्ने प्रयास गरेनन्। स्थानीयका अनुसार बाटोमा सुकीका छोराछोरीहरुले बिस्कुट किनेर खाए।

दैलेखका डीएसपी अनुपम श्रेष्ठले गाउँबाट निस्किएपछि सुकीले छोराछोरीसहित कर्णालीमा हाम फालेको हुन सक्ने बताए। सोमबार कल्पना र सरिताको शव नदीमा फेला परेको थियो। मंगलबार सुकी र उनका छोरा ललितको शव पनि भेटियो। कल्पना र सरिताको हात एउटै डोरीले बाँधिएको र सुकीको पटुकी र छोरा ललितको टिसर्ट गाँठो परेको अवस्थामा शव भेटिएको थियो। कर्णाली नदी किनारमा बुधबार चारै जनाको दाहसंस्कार गरिएको छ। त्यसअघि अछामको मंगलसेनस्थित जिल्ला अस्पतालमा उनीहरूको पोष्टमार्टम गरिएको थियो।

सुकीकी कान्छी छोरी रजनीको अवस्था भने अझै अज्ञात छ। स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले रजनीको खोजी गरिरहेको प्रहरीले जनाएको छ। आफ्नो मृत्युपछि सन्तानलाई पतिले झन् दुःख दिने भयका कारण सुकीले यस्तो गरेको हुन सक्ने स्थानीयले प्रहरीलाई बताएका छन्। मदिराका कारण यो घटना भएको प्रहरीले जनाएको छ। सुकीका पति मानसिंह प्रहरीको नियन्त्रणमा छन्। मानसिंहले आफु र पत्निबीच बेलाबेला झगडा हुँदै आएको बयान प्रहरीसमक्ष दिएका छन्।

भारतबाट मंसिरमा फर्किएका थिए मानसिंह

सुकीका पति मानसिंह अघिल्लो वर्ष फागुनदेखि मजदुरीका लागि भारतमा थिए। उनी मंसिरमा मात्र घर फर्किएका हुन्। त्यसको दुई महिनापछि सुकी माइत पुगेकी थिइन्। ‘घरमा श्रीमान्ले कुटपीट गरेको भन्दै उहाँ माइती आउनुभएको थियो’, सुकीका भदै कमल थापाले भने, ‘उहाँले माइतमा आएर श्रीमान्लाई सम्झाइदिनुपर्यो भन्दै गुहार माग्नुभएको थियो।’ लगत्तै दाइ नाता पर्ने शेरबहादुर थापा सुकीका घर गएका थिए। शेरबहादुरले मानसिंहलाई मदिरा नपिउन, बहिनीलाई तनाव नदिन सम्झाएका थिए। ‘उहाँ (मानसिंह)लाई मैले पनि धेरै सम्झाएँ, यसरी झगडा नगर्नु भनेको थिएँ। तर अहिले यस्तो घटना आईलाग्यो’, कमलले भने।

सुकी घरबाट निस्किएको अघिल्लो दिन झगडा भएको कमलले बताए। ‘उहाँ (सुकी)ले गाउँमै एक जनासँग नौ हजार रुपैयाँ ऋण लिनुभएको रहेछ’, कमलले भने, ‘घरखर्च चलाउन लिएको ऋणबाट मानसिंहले मदिरा सेवन गरेपछि झगडा सुरु भएको रहेछ।’ पहिला घरझगडा हुँदा माइत पुग्ने सुकी यसपटक भने गइनन्। श्रीमान्ले दिने मानसिक र शारीरिक पीडा सहन नसकेर यसपटक मृत्युको बाटो रोजेको हुन सक्ने माइती पक्षको भनाइ छ। सुकीका भाइ बजिर थापा रोजगारीका लागि भारतमा छन्। बजिर भारतबाट फर्किदै गरेको र उनी आएपछि कानुनी प्रक्रिया अगाडी बढाउने कमलले बताए।

शोकमा सहपाठी

१४ वर्षीया कल्पना स्थानीय नेरा माविमा कक्षा ७ मा पढ्थिन्। यस्तै १२ बर्षीया सरिता कक्षा ५, १० वर्षका ललित कक्षा ३ र  ५ बर्षिया रजनी कक्षा १ मा पढ्थे। घटना भएको दिन कल्पना शिक्षकसँग विदा मागेर घर गएकी थिइन्। उनका भाईबहिनी बिदा भएपछि मात्र घर गएका थिए। एकै स्कुलमा पढ्ने चार जना साथीहरु कर्णालीमा हेलिएपछि विद्यार्थीहरु शोकमा छन्।

‘आफैसँग हाँसखेल गरेका साथीहरु नदीमा बगे भन्दा पत्याउनै सकिएन’, कक्षा ७ मा अध्ययनरत कृष्ण थापाले भने, ‘तर नदीमा लास देखेपछि पत्याउनै पर्ने भयो।’ प्रधानाध्यापक उज्जिरसिंह सिजापतीले चारै जनाको पढाइ मध्यम रहेको बताए। ‘उनीहरु नियमित विद्यालय आउँथे। तर घटना भएको दिनमा भने कल्पना घरमा काम छ भन्दै ३ बजे नै बिदा मागेर घर गएकी थिइन्’, सिजापतिले भने।

प्रतिक्रिया