मिनी बस दुर्घटना हुँदा २ को मृत्यु

मिनी बस दुर्घटना हुँदा २ को मृत्यु

दैलेख : कर्णाली राजमार्गमा मिनी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीवार दिउँस कर्णाली राजमार्ग अन्तरगर्त दैलेखको आठबीस नगरपालिका वडा नक्बर १ स्यालाघाटमा बस दुर्घटनामा परेको हो । कालिकोटबाट सुर्खेत तर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०२४७ नम्बरको मिनी बस (एसएमएल गाडी) अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
मिनी बस सडकबाट झण्डै एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक राजेशकुमार तेलीले जानकारी दिए । उक्त गाडीमा २१ जना सवार रहेको प्रहरी निरिक्षक तेलीले अन्नपूर्णलाई जानकारी दिए । दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । प्रहरी निरिक्षक तेलीका अनुसार कालिकोटको शुभकालिका गाउँपालिका–१ भर्ताका ३८ बर्षीया जितेन्द्रबहादुर शाही र कालिकोट कै नरहरीनाथ गाउँपालिकाका २१ बर्षीया कमल विकको मृत्यु भएको हो ।
शाहीको घटनास्थलमै र विकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी १० जना गम्भिर घाइते छन् भने ६ जना सामान्य घाइते छन् । उक्त गाडीमा तीन जना प्रहरी सेवामा कार्यरत कर्मचारी समेत सवार थिए । ती मध्ये प्रहरी जवान रमेश चौधरी गम्भिर घाइते छन् । दुर्घटनामा परी घाइते भएकाहरुको उपचार सुर्खेतमा भईरहेको छ ।
डुबेर एकको मृत्यु
यसैबिच दैलेखमै पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको नारायण नगरपालिका वडा नम्बर ११ को बिचमा पर्ने लोहोरे खोलाको लाटामरे रहमा पौडी खेल्ने क्रममा अछामको चौरपाटी गाउँपालिका ५ लुंग्राका २१ बर्षीया विरेन्द्र भुलको मृत्यु भएको दैलेखका प्रहरी निरीक्षक राजेशकुमार तेलीले बताए ।
उनि राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी राजमार्ग निर्माणमा मजदुरी गर्न दैलेखमा आएको थिए । भुल पौडी खेल्ने क्रममा डुबेको भन्ने सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट लोहोरेबाट खटिएको प्रहरी टोलीले उद्धार गरेर उपचारका लागि दैलेख अस्पताल पठाएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया