‘मेरो पहिलो बच्चा’ कार्यक्रम सञ्चालन

‘मेरो पहिलो बच्चा’ कार्यक्रम सञ्चालन

दैलेख : नवविवाहित किशोरी, उनीहरुको जीवनमा आउने महत्वपूर्ण दिन अर्थात गर्भाअवस्था । शिशुको जन्म र बच्चाको राम्रो हेरचाह कसरी गर्ने भन्नेबारे जानकारी गराउने उद्धेश्यले गुराँस गाउँपालिकाले मेरो पहिलो बच्चा कार्यक्रमको समुदायस्तरीय कक्षाहरु सञ्चालन गरेको छ । उक्त कक्षाहरु गुराँस गाउँपालिकाको वडा नं ६ का चौतारा, धनटाकुरी, तल्लो जोरेबाझ र माथिल्लो जोरेबाझ सहित ५ वटा समुदायमा कक्षा सञ्चालन गरिएको हो ।
बालविवाह र किशोराअवस्थामा हुने गर्भाधारणालाई रोक्न नसकेकोमा वडा नं ६ का वडा अध्यक्ष हिम ओलीले दुख व्यक्त गरे । किशोरी अवस्थामा हुने गर्भाधारण बढ्दै गएकोमा उनले चिन्ता गरेका थिए । ‘हामी सबै किशोरीहरुले आधारभूत शिक्षा उतिर्ण गरुन भन्ने चाहान्छौं, उनीहरुको बच्चा र स्वास्थ्य राम्रो होस भन्ने हाम्रो चिन्ता हो, शारीरिकरुपमा परिपक्व नहुदै एउटा किशोरी गर्भवती हुन्छे र उसले जन्माएको बच्चा कुपोषित र रोगी हुन्छ, त्यसको असर आउँदो पुस्तामा समेत पर्ने भएको हुदाँ यो कक्षा त्यस्ता अविवाहित र गर्भवती सबै किशोरीहरुको लागि उपयुक्त हुनेछ,’ वडाध्यक्ष ओलीले भने ।
गर्भावस्थाको समयमा पौष्टिक खानेकुरा, शिशुको हेरविचारका साथै विवाह गर्नासाथ परिवर्तन हुने उनीहरुका आशा र सपनाको बारेमा जानकारी दिन सहयोग गर्ने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका बालसंरक्षण संयोजक निर्मल अधिकारीले बताए । ‘अधिकाँस किशोरीहरुले कलिलो उमेरमै विहे गर्ने र थाह नपाउदै भगवती हुने गरेको हुदाँ बच्चा तथा आमाको स्वास्थ्यमा आउने समस्यालाई जान्न सहयोग गर्दछ, एउटी कुमारी बालिका, त्यसपछिको यौवन अवस्थादेखि विवाहित हुने क्षण गर्भावस्था अनि शिशुको हेरविचार गर्न आफु कसरी तयार हुने लगायतका विषयमा कक्षामा छलफल हुनेछ,’ अधिकारीले भने ‘एउटा किशोरीको जिवन परिवतन गर्न यो कक्षाले सहयोग गर्नेछ, हरेक किशोरीका आशा र सपना हुन्छन्, विवाह र गर्भवती पश्चात ति हराउँदै गरेका आशा र सपनाहरुलाई पुनः स्थापित गर्न कक्षा लाभदायी हुनेछ ।‘
१६ देखि २२ बर्षसम्मका विवाहित, अविवाहित र गर्भवती किशोरीहरुको सहभागीता रहने उक्त कक्षामा अविवाहित किशोरीहरुको लागि पनि उक्तिकै फाईदा पुग्ने अधिकारीको भनाई थियो । किशोर अवस्थामा हुने शारीरिक परिवर्तनबाट आउने यौन उत्तेजना, प्रजनन स्वास्थ्य र किशोर किशोरीलाई उनीहरुको आशा र सपनाको बारेमा जानकारी गराउन सके बालविवाह न्यूनिकरणमा सहयोग पुग्ने उनको भनाई छ ।
‘गर्भावस्थाका चरण, बच्चा जन्मने प्रक्रिया, बच्चाको हेरचाह, गर्भाधारण गर्ने क्षमताको सुरुवात, यौन संक्रमणबाट हुने संक्रमणहरु, यौन तथा प्रजनन स्वास्थ्य अधिकार लगाएतका विषयमा २० हप्ता सम्म उक्त कक्षामा छलफल गरिनेछ, उनले भने । गुराँस गाउँपालिकाको समन्वयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्डे«नको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तर्गत उक्त कक्षाहरु सञ्चालन गरिएका हुन ।

प्रतिक्रिया