जातीय विभेद निमूल पार्न दलितहरुकै अग्रसरता जरुरी

जातीय विभेद निमूल पार्न दलितहरुकै अग्रसरता जरुरी

दैलेख : गायक कलाकार तथा पत्रकार कमल बिके ‘निर्मोही’ ले जातीय विभेद निमूल पार्न दलितहरुकै अग्रसरताबाट मात्र संभव भएको बताएका छन् । चामुण्डाबिन्द्रासैनी नगरपालिका–५ नम्बर वडा कार्यालयले बनाडामा आयोजना गरेको छुवाछूत बिरुद्ध सचेतना कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कलाकार ‘निर्मोही’ले दलितहरु माथि भइरहेको जातीय विभेद र असमानता यो समुदायको शिक्षा, सामाजिक र आर्थिक स्तर उठ्न नसकेको कारण पनि नघटेको टिप्पणी गरे । उनले भने ‘व्यक्तिगत जीवन र सोचाई विचार सुधार गर्न शिक्षा पहिलो आवश्यक हुन्छ ।’
मानव अधिकारकर्मी पत्रकार अमर सुनारले विभेद भएको अवस्थामा सरकारले नै मुद्दा लड्ने भएकोले विभेद भोगेर नबस्न दलित अगुवाहरुलाई आग्रह गरे । जातीय विभेद निस्तेज पार्ने सवाल राज्यको दायित्व भएकोले राज्यका निकाय जिम्मेवार बन्नुपर्ने उनको सुझाव थियो ।
जातीय विभेद घटनामा बिदेशमा विभेद हुँदा स्वदेशमा मुद्दा चल्ने, निजी स्थानमा पनि विभेद गर्न नपाइने, मुद्दा सरकारवादी हुने, सार्वजनिक पद धारण गरेको व्यक्तिले विभेद गरे थप ५० प्रतिशत सजाय हुने कानूनी व्यवस्था रहेको अवस्थामा दलितहरुले आत्मबल गिराउन नहुने उनले बताए ।
कार्यक्रममा चामुण्डाबिन्द्रासैनी नगरपालिका–५ का वडाध्यक्ष नारायण रेग्मीले जातीय विभेद सामाजिक समस्या भएकोले यसको समाधानको निम्ति गैरदलितहरुको समेतको सहयोग आवश्यक पर्ने र सघाउन आफू तयार रहेको प्रतिवद्धता जनाए ।
चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगरकार्यपालिका सदस्य दिनेश बिकले दलित समुदायले गर्दैैै आएको परम्परागत पेशा व्यवसाय सुधार र परिमार्जनमा राज्यको ध्यान पुग्न नसकेकोले समुदायले सशक्त आवाज उठाउनुपर्ने धारणा राखे ।
सचेतना कार्यक्रममा सहभागीहरुले नियम, कानून, सरकारका नीति कार्यक्रमहरु जति उदार भए पनि सामाजिक संरचना र समुदायको पुरातन सँस्कारले जातीय विभेद निर्मुल हुन नसकेको समस्या दर्शाएका थिए ।

प्रतिक्रिया