‘विद्यालय बदल्न सोचाई बदल्नु पर्ने रहेछ’

‘विद्यालय बदल्न सोचाई बदल्नु पर्ने रहेछ’

दैलेख : गुराँस गाउँपालिका–७ को लक्ष्मी आधारभूत विद्यालय झुझमा तिन वर्ष अगाडी जादाँ विद्यालयमा खानेपानी थिएन् । पानी नभएपछि शौचालय हुने कुरै भएन् । जिङरिङ्ग परेका विद्यालय भवनका भित्ताले विद्यार्थीलाई निहालिरहेका देखिन्थे । ठाउँ ठाउँमा प्वाल परेका छानाले कक्षा कोठा सर्लक्कै भिजेको हुन्थ्यो । जिर्ण विद्यालयमा बालबालिकाको उपस्थिती न्यून थियो । आएका पनि पुरै पिरियड नबसेर घर फर्किन्थे । विद्यालयका प्रधानध्यापक लालबहादुर विसिलाई एक दिन केही गरौ भन्ने सोच पलायो । उनले विद्यालय व्यवस्थापन समितिको बैठक बसाले । बैठकले निर्णय ग¥यो श्रोतको खोजी गरौ । विद्यालय सुधारौ । हाम्रा आफ्नै बालबालिका अध्ययन गर्ने विद्यालय हो । जहाँ सुरक्षा छैन त्यहाँ कसरी बालबालिका सुरक्षित महसुस गरेर अध्ययन गर्छन् । नजिकै खोला छ बर्षा लागेपछि भल आउने डर हुन्छ । छाना चुहिन्छ । भत्कन लागेका भित्ता न बसाई व्यवस्थापन राम्रो छ । यसरी विद्यालय चल्दैन् ।


त्यसपछि विद्यालयका प्रअ लालबहादुर बिसिले श्रोतको खोजी गर्न सुरुवात गरे । चुहिने छाना बदले । भत्केका भित्ता टाले । विद्यालय घेरबार र प्रवेश द्धार बन्यो । लालबहादुर विसि भन्छन् ‘विद्यालय बदल्न सोचाई बदल्नु पर्ने रहेछ, श्रोत हाम्रै वरीपरी छ तर त्यो हामीलाई थाहा छैन् ।’ विद्यालयमा खानेपानीको समस्या थियो । विद्यार्थीले घरबाटै बोतलमा पानी ल्याउनु पथ्र्याे कि त दिनभरी पानी नखाई बस्नु पर्ने बाध्यता थियो । कहिले त बालबालिका दिनभरी पानी नखाई घर फर्किन्थे । अहिले बालबालिकाको उमेर समूह अनुसार धारा निर्माण गरिएको छ । पानी नपाईने विद्यालयमा चौबिसै घण्टा पानी बग्ने गरेको छ ।


विद्यालयका सबै भित्ताहरु अहिले पलास्टर छन् । पलास्टर गरिएको भूईमा बालमैत्री बसाई व्यवस्थापनका लागि पिफर्म, कार्पेटको व्यवस्था गरिएको छ । चिल्ला भित्तामा नेपालका राष्ट्रिय जनावर गाई, चरा, रङ्ग, निशाना छाप, बालबालिका र अभिभावकका आचार संहिताहरुले भित्ता रङ्गाईएको छ । सिकाई कक्षा कोठा भित्र मात्रै नभएर कक्षा बाहिर पनि होस भन्नका लागि विद्यालयलाई सन्देशमुलक भनाई चित्रहरुले भित्ताहरु रंगाईएको प्रधानध्यापक बिसीले बताए । ‘कलिलै उमेर देखि बालबालिकालाई बालविवाह विरुद्ध जनचेतना जगाउनका लागि ‘उमेर नपुगी गरिने विवाह सामाजिक अपराध हो’, ‘सुःखी जीवन र भविष्यको विकल्प बाल विवाह होईन बरु यो अवरोध हो’ भन्ने जस्ता बालविवाह विरुद्धका नाराहरु लेखिएको छ,’ बिसीले भने ।
विद्यालयको प्रवेशद्धारमै अभिभावक ज्यू नमस्कार, कता हिडनु भयो कुन्नी ? भनेर बोर्डमा लेखिएको देख्न सकिन्छ । एक पटक विद्यालय प्रवेश गरी छोरा छोरीको पढाईबारे छलफल गर्ने कि ? भनेर लेखिएको बोर्ड हेरी धेरै जसो अभिभावकहरु आफ्ना बालबालिकाको पढाईको बारेमा जान्न विद्यालय आउने अभिभावकको संख्यामा बृद्धि भएको बिसीले बताए ।
विद्यालय राम्रो बनाउन अभिभावकको जिम्मेवारी पनि उत्तिकै हुने बिसीको अनुभव छ । ‘अभिभावक सक्रिय नभएको भए मैले मात्रै चाहेर विद्यालय व्यवस्थापन राम्रो बनाउन सक्दैन्थे होला, उनी भन्छन् ‘विद्यालयको वातावरण राम्रो देखे पछि पहिला भन्दा विद्यार्थी संख्यामा बृद्धि हुँदै गएको छ ।’


विद्यालय राम्रो बनाउन वडा अध्यक्ष हुकुम खत्रीले गरेको योगदानले पनि सहयोग पुगेको बिसीको भनाई छ । श्रोत संकलन गर्न वडा अध्यक्षले गरेको सहयोगले विद्यालय परिवर्तन गर्न सहज भएको उनले बताए । वडा भित्र भएका सबै विद्यालय राम्रा बनाउन आफु लागि परेको वडा नं ७ का वडा अध्यक्ष हुकुम खत्रीले बताउँछन् ‘मेरो कार्यकालमा केही नमुना विद्यालय बनाउन सकिन्छ कि भनेर लागिरहेको छु, उनले भने ।
गुराँस गाउँपालिकाका अधिकाँस विद्यालयहरुमा बालमैत्री बसाई व्यवस्थापन भएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यक्रम निर्देशक नवराज बिसी बताउँछन् । ‘अधिकाँश विद्यालयको बसाई व्यवस्थापन र भौतिक संरचना राम्रा र बालमैत्री छन्, उनले भने ‘अब शिक्षाको गुणस्तर सुधार गर्न सबै लाग्नुपर्छ ।’

प्रतिक्रिया