अन्तर्राष्ट्रिय खुशी दिवस : सन्तुष्ट हुनसक्नु नै खुशी

अन्तर्राष्ट्रिय खुशी दिवस : सन्तुष्ट हुनसक्नु नै खुशी

दैलेख : जिल्ला सदरमुकाम नारायण नगरपालिका–१ निवासी ७५ वर्षीया इन्दिरा थापा अहिले त्यही ग्रीनकार्ड लिइसकेका माइलो छोरा मोहन थापासंग एक महिनादेखि पोर्चुगलमा छिन् । पोर्चुगलको राजधानी लिव्सन सहर घुमघाम गरेको फोटो शनिवार बिहानै फेसबुकमा राखेकी छिन् । सामान्य लेखपढ जानेकी इन्दिराले त्यहाँ पुगेपछि उनले पहिलो पटक फोटो अपलोड गर्ने क्रममा ४ वटा फोटो स्टाटसमा राखेकी छिन् । ‘मलाई दैलेखमा नभेटेकाहरुले सम्झेका होलान् भनेर यहाँ छु भनेर जानकारी दिन लेखेकी हुँ’ उनले भनिन् ।
शनिवार मार्च २० तारिक इन्दिराले खुशी साट्न यो स्टाटस लेखेको दिन संयोगले अन्तरराष्ट्रिय खुशी दिवस परेको छ । इन्दिराका ४ सन्तानमा सबै भन्दा जेठी छोरी ज्ञानु अधिकारी कैलालीमा छिन् । ज्ञानुका श्रीमान् अहिले सेवानिवृत सरकारी कर्मचारी हुन् । तीन छोरा मध्ये जेठो राम थापा फत्तेवाल आँखा अस्पतालमा नेत्र अधिकृत, माइलो मोहन पोर्चुगल र कान्छो मनोज थापाको सदरमुकाममा फेन्सी पसल छ । सबैको राम्रो प्रगति देखेर उनी सन्तुष्ट छिन् । यो सन्तुष्टी आफैमा लगनशीलताले पनि दिएको छ । उनका श्रीमान्को २३ वर्ष अघि देहान्त भयो । जीवन साथी गुमाए पनि छोरा–छोरीहरुको शिक्षादीक्षा राम्रो गराउन र आफूलाई सधैं परोपराकारी काममा तल्लिन बनाएकी थिइन् ।
उनलाई पढ्न चस्मा जरुरी पर्दैन । नेपालीमा लेखिएका पुस्तक पढ्ने, अनलाइन खोलेर समाचार पढ्ने, युट्युबमा राखिएका सामग्रीहरुले समसामयिक विषयबस्तुमा अपडेट रहने बानीले राजनीतिक अवस्था पनि जानकारी लिन्छिन् ।
यस्तै क्रियाशीलताले गैररकारी संस्था मार्फत सचेतना कार्यक्रम लिएर गाउँगाउँ पुग्ने, दैलेख जिल्ला अदालतको मेलमिलापकर्ता रुपमा काम गर्ने र जिल्लाको पहिलो जेष्ठ नागरिक समाज संस्थापक अध्यक्ष लगायतका सामाजिक भूमिकाका कारण संयुक्त राष्ट्र संघ स्थापनाको ७५ औं वार्षिकोत्सवमा नेपालका हरेक जिल्लामा १–१ जना जेष्ठ नागरिकलाई सम्मान गर्दा सन् २०२० डिसेम्वर १० तारिकका दिन दैलेखबाट इन्दिरा थापालाई सम्मान गरेको थियो ।


तीन दिन अघि उनीले अंग्रजी पत्रिकामा फोटो छापिएको पाठकले नियालेर हेरेको म्याजिक स्वप पजल आफ्नो फेसबुकमा सेयर गरेकी छिन् । सामाजिक उत्तरदायित्वको हिसावले म्याजिक स्वप पजलका रुपमा मात्र होइन साच्चै फोटो छापिनुपर्ने आदर्श नागरिक हुन्, इन्दिरा थापा ।
इन्दिराको फेसबुकमा संयोगले शनिवार अन्तरराष्ट्रिय खुशी दिवस दिन आफ्नो खुशी साट्नुलाई ‘भविष्य द्रष्टा पनि रहिछु क्यारे’ मेसेञ्जरको भिडियो कलमा पत्रकारसंग ठट्टा गरिन् । उनी जस्तै खुशी साट्न एक जना डकर्मी मिस्त्री ज्ञानबहादुर थापामगर वक्ताको रुपमा सहभागी भए । ७० वर्षीय थापा आफू सामान्य लेखपढ गर्ने जान्ने भए पनि तीन छोरीलाई पढाएपछि उनीहरुले गरेको प्रगतिबाट सन्तोष मिलेको बताए ।
पाल्पाको बेसोर्घाबाट मजदूरी गर्न दैलेख आएको वर्ष २०३८ सालमा विवाह गरे । जेठी छोरी ३५ वर्षीया लक्ष्मी थापा कम्प्यूटर अप्रेटर (छैंटौं अधिकृत) छिन्, कान्छी छोरी २३ वर्षीया निर्मला थापा नौमूले गाउँपालिका–८ चौराठाको स्वास्थ्य चौकीमा स्थायी अनमी छिन् ।
१८ वर्ष अघि उनको श्रीमतिको देहान्त भयो । दुखजिलो गरेर छोरीहरु पढाए, २५ वर्षीया माइली सजना प्राविधिक विषय पढाउन नपाएकोले अहिले काम सुरु हुन नसकेको ज्ञानबहादुरलाई लागेको छ । जेठी र कान्छी छोरीको प्रगतिले धेरै खुशी रहेको उनीले सुनाए ।
यस्तो खुशी साट्ने थलो नागरिक समाजका जिल्ला संयोजक अधिवक्ता खड्गबहादुर सिजापतिको अग्रसरता भएको थियो । जिससले सभाहल निशुल्क उपलब्ध गरायो, त्यहाँ सहभागीहरुलाई चिया खर्च अधिवक्ता सिजापतिले प्रवन्ध गरेको अन्तराष्ट्रिय खुशी दिवस दैलेखमा दोश्रो पटक मनाइएको हो ।
अघिल्लो वर्ष कोरोना संक्रमणका त्रासको कारण सरकारले चैत पहिलो साता नै भेला जमघट नगर्न सूचित गरेको कारण रोकिए थियो भने पहिलो पटक २०७५ चैत ६ गते अर्थात २० मार्चका दिन परेको दिवसमा संयोगले दैलेख आएको मौका पारेर नेपाली काँग्रेसका नेता पूर्व मन्त्री जीवन शाहीको प्रमुख आतिथ्यतामा भएको थियो ।
यस पटक जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आगन्तुकहरुलाई स्वागत मन्तव्य मनोविमर्शकर्ता रमा श्रेष्ठ र विषयबस्तु प्रकाश पार्न अधिवक्ता सिजापतिले सहजीकरण गरेका थिए । सोहि अबसरमा हाँस्य कलाकार तीर्थ भण्डारीले बर्तमान राजनीतिक गञ्जागोल र यसले नागरिकको खुशीमा असर पारेको विषयमा व्यग्य गरेका थिए ।
अन्तरराष्ट्रिय खुशी दिवस मनाउनुसित भुटानी राजाले १९७२ मा संयुक्त राष्ट्र संघमा खुशीको खोजी सम्वन्धी बहस चलाएको, सन् २००५ अन्तरराष्ट्रिय खुशी व्यवस्थापन इन्डेक्स तयार गरेको, सन् २००७ मा थाइल्याण्डले हरियाली र खुशी आधार योजना बनाएको थियो ।
सन् २००९ मा अमेरिकामा खुशीपना सर्वेक्षण गरिएको, सन् २०११ मार्च २० तारिकमा संयुक्त राष्ट्र संघको साधारणसभाले खुशी सम्वन्धी दृष्टिकोण पारित गरेको थियो । त्यस यता मार्च २० तारिकलाई अन्तरराष्ट्रिय खुशी दिवस मनाउन थालिएको हो ।
सन् २०१८ फेब्रुअरी १२–१४ सम्म अरब इमिरेट्समा विश्व खुशी खोजी सम्मेलन भएको थियो । त्यो सम्मेलनमा १ सय ३३ देशका ४ हजार भन्दा बढी प्रतिनिधिहरुको सहभागिता थियो । अरब इमिरेट्समा त्यहाँ खुशी, भविष्य, सहनशीलता र शिक्षा मन्त्रालय स्थापना गरिएको छ ।
अघिल्लो वर्ष सन् २०२० मा १ सय ५६ देशमा गरिएको सर्वेक्षणमा नेपाल ९२ औं स्थानमा रहेको बिश्व स्वास्थ्य संगठनले जनाएको छ । खुशीमा भुटान पहिलो स्थानमा छ । खुशी सम्वन्धी अवधारणा ल्याउने भुटानकै छिमेकी देश भए पनि राजनीतिक दुरदर्शिताको अभावले नेपालमा खुशी बारे छलफल नै नभएको नागरिक समाज दैलेखका संयोजक अधिवक्ता सिजापतिले टिप्पणी गरे ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेले युवाहरुलाई उपार्जन र सकारात्मक सोचको विकास गर्न आवश्यक रहेको बताए । उनले नागरिकहरुमा महत्वाकांक्षा बढेको र सरकारले उचित ढंगले काम गर्न नसकेको कारण विकास र शान्ति प्रभावित भएको टिप्पणी गरे ।
जिल्ला न्यायाधीशले नागरिकहरुमा महत्वाकांक्षा बढेको त्यस अनुुसार राज्यको साधन श्रोत उचित परिचालन हुन नसकेको टिप्पणी गरे । ‘खुशी हरेक मान्छेका लागि आवश्यक छ तर राम्रो काम गरेर थोरै आमदामीमा सन्तुष्ट रहन सिकाउनुपर्ने छ’ उनले भने । यसो हुन सके समाज अपराध रोकथाम सहयोग पुग्ने उनको व्याख्या छ ।

प्रतिक्रिया