बिरामी परेका ३० विद्यार्थीको कोरोना परीक्षण : रिर्पोट नेगेटिभ

बिरामी परेका ३० विद्यार्थीको कोरोना परीक्षण : रिर्पोट नेगेटिभ

बिरामी परेका विद्यार्थीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यकर्मीको टोली ।

हिक्मतबहादुर नेपाली
दैलेख :
यहाँको एक बिद्यालयका एकै पटक बिरामी परेका दुई सय विद्यार्थीहरुमध्ये ३० जनाको एन्टिजोन विधिबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरिएको छ । बिरामी परेका मध्ये ३० जना विद्यार्थीहरुको एन्टिजोन विधिबाट कोरोना भाइरस परीक्षण गरिएको हो ।
दैलेखको नारायण नगरपालिका वडा नम्बर ५ स्थित नवदुर्गा आधारभूत विद्यालय धिताहका विद्यार्थीमा रुघा खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, शरिर दुख्ने लगायत समान लक्षण देखिएको थियो । विद्यालयमा दुई सय ८० जना विद्यार्थीहरु अध्ययनरत छन् । ती मध्ये दुई सय जना विद्यार्थीहरुमा समान लक्षण देखिएको थियो भने बाँकी विद्यार्थीहरुमा तनाबग्रस्त अनुहार रातोपिरो हुने समस्या देखा परेको थियो ।
बिहीवार स्वास्थ्य सेवा कार्यालय दैलेखबाट गएको चिकित्सकको टोलीले एन्टिजोन विधिबाट विद्यार्थीहरुको कोरोना परीक्षण गरेको हो । परीक्षण गरिएका मध्ये सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । ‘कोरोना भाइरसको आशंकामा एन्टिजोन विधिबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरेका हौँ,’ निमित्त स्वास्थ्य सेवा व्यवस्थापक रेग्मीले भने ‘परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।’ परीक्षणपछि बालबालिकाहरुमा कोरोना भाइरस नभएको पुष्टि भएको र लक्षण हेर्दा भाइरल ज्वरो रहेको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक रेग्मीले बताए । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा देखिएको लक्षण समुदायस्तरमा समेत देखिएको छ । बालबालिकाहरु र समुदायस्तरका नागरिकहरुलाई भीडभाड नगर्न, आराम गर्न र जटिल समस्या देखापरे अस्पतालको सम्पर्कमा आउन सुझाव दिएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक रेग्मीले बताए ।
नवदुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक घनश्याम रेग्मीका अनुसार गत शुक्रवार एकाध विद्यार्थीहरु बिरामी परेका थिए । ‘त्यसयता दिनप्रतिदिन बिरामी हुने विद्यार्थीहरुको संख्या बढिरहेको थियो,’ प्रधानाध्यापक रेग्मीले भने ‘बिद्यार्थीहरु बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।’ आउँदो शुक्रवारसम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक रेग्मीले बताए ।

प्रतिक्रिया