बन्यजन्तुको छालासहित ८ जना पक्राउ

बन्यजन्तुको छालासहित ८ जना पक्राउ

दैलेख : दैलेखमा बन्यजन्तुका छाला सहित आठ जना पक्राउ परेका छन् । प्रहरीले बन्य जन्तुहरु बाघ र रेडपाण्डाको छाला सहित जिल्लाको नौमूले गाउँपालिकाका ६ जना र भगवतीमाई गाउँपालिकाका दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक ईन्द्रजित सुनारका अनुसार नौमूले गाउँपालिका–३ नाउँलेका ५१ बर्षीया धनबहादुर मगर, नौमूले गाउँपालिका–१ लेलीका ३३ बर्षीया कबिराम अधिकारी, नौमूले गाउँपालिका– २ का ३३ बर्षीया धनबहादुर पुरी, नौमूले गाउँपालिका– २ का ४५ बर्षीया दलबहादुर खत्री, नौमूले गाउँपालिका– २ का ४५ बर्षीया हस्तबहादुर थापा र नौमूले गाउँपालिका– ४ का १९ बर्षीया रोशन बस्नेत पक्राउ परेका हुन् । रोशन कर्णाली प्रदेश ०२००१ ज ००३६ नम्बर गाडीको चालक समेत हुन् । यस्तै भगवतीमाई गाउँपालिका–१ का २७ बर्षीया गोबिन्द थापा र सोही गाउँपालिका वडा नम्बर २ का ५६ बर्षीया धनबहादुर रावत पक्राउ परेको प्रहरी निरीक्षक सुनारले बताए ।
शुक्रवार राती साढे १२ बजे नौमूले गाउँपालिकाबाट दैलेख बजार हुँदै बन्यजन्तु ओसार पसार गरिरहेको भन्ने सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक ईन्द्रजित सुनारको नेतृत्वमा खटिएको प्रहरी टोलीले गाडी चालक सहित आठै जनालाई पक्राउ गरेको हो । उनिहरुलाई जिल्लाको नारायण नगरपालिका–३ खुर्सानीबारी पिपल चौताराबाट पक्राउ गरिएको हो । प्रहरीले आठै जनालाई नियन्त्रण लिई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयय दैलेखमा बुझाएको छ ।
नौमूले गाउँपालिका–२ बाट दैलेख दैलेख बजार तर्फ आईरहेको कर्र्र्णाली प्रदेश ०२००१ ज ००३६ नम्बरको डबल क्याप बोलेरो जीपमा चेकजाँच गर्दा बन्यजन्तुका छाला र बन्यजन्तु ओसार पसार गर्ने व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जीप र जीपमा सवार रहेका व्यक्तिहरुलाई चेकजाँच गर्दा धनबहादुर मगरले बोकेको झोलाको भित्र रहेको बोरोमा ३ फिट ३ इन्च लम्बाई र ११ इन्च चौडाई भएको रातोकालो रंगको रेडपाण्डाको छाला बराबद गरिएको छ । यस्तै धनबहादुर रावतले बोकेको झोलाभित्रको बोरोमा ५ फिट ९ इन्च लम्बाई र १ फिट ५ इन्च चौडाई भएको चितुवाको छाला बरामद गरिएको प्रहरी निरीक्षक ईन्द्रजित सुनारले बताए । त्यसैगरी हस्तबहादुर थापाले बोकेको झोलाभित्र ३ फिट लम्बाई र १ फिट ६ ईन्च गोलाई भएको एक थान रेडपाण्डाको छाला र अर्को झोला भित्र ३ फिट एक इन्च गोलाई भएको रेडपाण्डाको छाला बरामद गरिएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।

प्रतिक्रिया