कर्णालीमा हाम फाल्ने सुकीजस्तै हिंसाले पिल्सिएका उनीहरू

कर्णालीमा हाम फाल्ने सुकीजस्तै हिंसाले पिल्सिएका उनीहरू

सुर्खेत : कर्णाली प्रदेशमा घरेलु हिंसा र आत्महत्याको अवस्था बढ्दो क्रममा देखिएको छ। प्रहरी र न्यायिक निकायहरूमा आउने उजुरीलाई हेर्ने हो भने यसको अवस्था बर्सेनि बढ्दो छ।घरेलु हिंसाकै कारण यहाँ कतिपयले आत्महत्याको बाटोसमेत रोज्ने गरेका छन्। गत महिना दैलेखको आठबिस नगरपालिकामा भएको एउटा घटना त्यो शिलशिलाको पछिल्लो कडी हो।

फागुन २३ गते ‘घाँस ल्याउन बारीमा जान्छु’ भनेर घरबाट निस्किएकी आठबिस-३ निमायलकी सुकी बडुवाल पर्सिपल्ट छोराछोरीसहित कर्णाली नदीमा मृत भेटिइन्। उनले आफूले मात्र ज्यान फालिनन्, आफ्ना छोराछोरीलाई पनि सँगै लगिन्। तीन छोरी र एक छोरालाई साथमा लिएर कर्णालीमा उनले हाम फालेकी थिइन्। प्रारम्भिक रिपोर्टअनुसार पनि उनले छोराछोरीलाई लिएर आत्महत्या गरेको खुलेको छ।

‘मदिरा सेवन गरेर श्रीमानले बारम्बार सताउने गरेपछि उनलाई अब बाँच्न सक्दिनँ भन्ने लाग्यो होला, छोराछोरी पनि बाँचे भने मेरैजस्तो दु:ख पाउलान् भनेर उनलाई पनि सँगै नदीमा फालेको हुनसक्छ,’ उनका माइती पक्षका दाइ पर्ने एक जनाले भने। सुकी बडुवालका भाइ बजिरबहादुर थापाले भिनाजु मानसिंह बडुवालविरूद्ध आत्महत्या दुरूत्साहनको मुद्दा प्रहरीमा दिएका छन्। उजुरीका आधारमा मानसिंहलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ।जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार जिल्लामा सबैभन्दा धेरै घरेलु हिंसाका मुद्दा आउने गरेका छन्। जिल्लामा हुने घरेलु हिंसाको मुख्य कारण मदिरा सेवन देखिएको प्रहरी निरीक्षक इन्द्रजित सुनारले बताए। ‘कार्यालयमा आउने मुद्दाहरू धेरैजसो महिला तथा बालबालिका सेलमा आउँछन्,’ उनले भने, ‘ती प्रायः घरेलु हिंसाका मुद्दा हुन्, खासगरी यो क्षेत्रमा घरेलु हिंसाका मुद्दा हेर्दा मदिरा सेवन प्रमुख कारण देखिन्छ।’

घरेलु हिंसाका कारण कतिपय महिला आफ्ना श्रीमान र परिवारबाट छुट्टिएर समेत बस्नु परेको छ।दैलेखको भगवतीमाई गाउँपालिकाकी विमला (नाम परिवर्तन) को सात वर्षअघि विवाह भयो। विवाह भएको एक वर्षपछि श्रीमानले उनीसँग भएको गहना मागे। घडेरी किन्नका लागि तत्काल रकम जुटाउन भन्दै मागेको गहनाबारे श्रीमानले लामो समयसम्म पनि कुनै जानकारी नदिएपछि विमलाले सोधीखोजी गरिन्।‘मैले गहना खोई भनेर सोध्न थालेपछि उनले ‘मेरै कमाइको गहना लगाउँछेस्, अझ धेरै कुरा गर्छेस्’ भनेर भन्न थाले,’ विमलाले भनिन्, ‘त्यसै समयदेखि सुरू भएको विवादले अहिले हामी अलग छौं।’

त्यसयता बारम्बार आफूमाथि घरेलु हिंसा भएको उनले बताइन्। उनलाई पढ्नबाट पनि बञ्चित गर्ने, खान-लाउन नदिनेजस्ता कार्य श्रीमानबाट भएको थियो।आफूमाथि भएको घरेलु हिंसाकै कारण अहिले उनी श्रीमानबाट अलग बसेकी छिन्।‘मेरो पाँच वर्षको छोरा पनि श्रीमानसँगै छ, मलाई एक वर्षदेखि भेट्न दिइएको छैन,’ उनले भनिन्, ‘मैले छोरा र आफ्नो लागि खान-लाउन दिने, छोरा आफैंसँग राख्न पाउँ भनेर मुद्दा दिएकी थिएँ, अदालतबाट पनि मेरै पक्षमा फैसला भएको छ, तर पनि छोरा भने मलाई ल्याउन दिएका छैनन्।’

वीरेन्द्रनगरमा कोठा लिएर बसिरहेकी भेरीगंगाकी एक महिलाले आफूमाथि घरपरिवारबाट बारम्बार हिंसा हुन थालेपछि पहिलो पल्ट प्रहरीमा निवेदन दिइन्। त्यसबेला श्रीमान-श्रीमतीबीच मिलापत्र भयो। श्रीमानले अब कुनै पनि खालका हिंसा नगर्ने भनेर प्रतिवद्धता गरे।त्यसको केही समयपछि श्रीमानले फेरि त्यसैगरी हिंसा गर्न थाले।

‘मजदुरी गर्ने ती महिलामाथि काम गर्न गएको ठाउँमा गएर पनि श्रीमानले कुटपिट गर्ने गरेका रहेछन्, एक पटक उहाँ आत्तिएर म कहाँ आउनुभयो,’ उनको मुद्दा हेरिरहेकी एक अधिवक्ताले भनिन्, ‘अहिले उहाँ अलग बस्नुभएको छ, अदालतमा उहाँको मुद्दा चलिरहेको छ।’अलग बस्दा आफूले जोडेका घरायसी सामान ल्याउनसमेत उनले प्रहरीको सहारा लिनुपर्यो।

अधिवक्ता गीता कोइरालाका अनुसार सम्बन्धविच्छेद गर्ने, श्रीमानबाट खान-लाउन उपलब्ध गराउनु पर्ने माग लिएर महिलाहरूले कानुनी बाटो अवलम्बन गर्न खोजेका हुन्छन्। यसको मुख्य जड भनेको घरेलु हिंसा नै भएको उनी बताउँछिन्।‘मलाई घरेलु हिंसा भयो नै भनेर त अधिकांशले मुद्दा दिँदैनन्, किनभने यस्तो निवेदनमा प्रायःजसो मेलमिलाप नै हुनेगर्छ,’ अधिवक्ता कोइरालाले भनिन्, ‘तर, सम्बन्धविच्छेद गराइपाउँ, खाना लाउन मागेर अलग भएर बस्नपाउँ भनी मुद्दा आउँछन्। यी सबैजसो मुद्दाको जड भनेको घरेलु हिंसा नै हो।’

मुद्दाको अवस्था र यसका कारणहरूलाई हेर्ने हो भने पछिल्लो समय घरेलु हिंसाको अवस्था भयावह बन्दै गएको उनले बताइन्।सुर्खेतको भेरीगंगा नगरपालिकाका उपमेयर रेणु ढकालका अनुसार न्यायिक समितिमा आउने मुद्दाहरूमध्ये आधाजति त घरेलु हिंसाकै मुद्दा  हुन्छन्।‘विदेश गएका श्रीमानले पैसा नपठाएपछि समस्या भएको भन्ने मुद्दा पनि आइरहेका छन्,’ उनले भनिन्, ‘यसमा कि त श्रीमानले पैसा पठाउनुपर्यो नत्र हामीले जग्गा बेचेर भए पनि आफ्नो समस्या टार्न पाउनुपर्छ भन्ने हुन्छ, खासगरी मुद्दाका प्रकृतिलाई हेर्ने हो भने घरेलु हिंसा धेरै नै भएको पाइन्छ।’

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार यो आर्थिक वर्षको ८ महिनामा ५५० वटा घरेलु हिंसासम्बन्धी मुद्दा दर्ता भएका छन्।जसमध्ये सुर्खेतबाट ३५९, दैलेखबाट ९४, जाजरकोटबाट २६, रुकुमबाट १९, सल्यानबाट २९, कालिकोटबाट १५, हुम्लाबाट २, डोल्पाबाट ६ वटा मुद्दा रहेका छन्।प्रहरीका अनुसार विगतका भन्दा पछिल्ला वर्षहरूमा घरेलु हिंसाका मुद्दा दर्ता हुने क्रम बढ्दो क्रममा छन्।आर्थिक वर्ष २०७४/७५ मा ८५५ वटा घरेलु हिंसाका मुद्दा दर्ता भएका थिए। पछिल्लो आर्थिक वर्ष २०७५/७६ मा ८५८ वटा दर्ता भएका थिए। २०७६/७७ मा भने ६२७ वटा मात्र मुद्दा दर्ता भएका छन्।

आत्महत्याको बढ्दो क्रम

प्रदेश प्रहरी कार्यालयमा भएको तथ्याङ्कअनुसार पछिल्ला वर्षमा आत्महत्या गर्ने क्रम पनि बढ्दो रहेको छ। आर्थिक वर्ष ०७५/७६ मा कर्णाली प्रदेशभर ९६ जनाले आत्महत्या गरेका थिए। आर्थिक वर्ष ०७६/७७ मा यो संख्या १११ पुगेको छ। यो आर्थिक वर्षको फागुनसम्म ११३ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ। दिपकजंग शाही/ सेताेपाटी

प्रतिक्रिया