द्धन्द्ध प्रभावितको लगत संकलन गरिँदै

दैलेख : जिल्ला प्रशासन कार्यालय दैलेखले द्धन्द्ध प्रभावितहरुको लगत संकलन गर्ने भएको छ । शुक्रवार प्रशासनले जारी गरेको सूचना अनुसार द्धन्द्ध प्रभावित व्यक्ति, परिवार र संरचनाको लगत संकलन गर्न लागिएको हो । नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ चैत्र ५ गतेको निर्णणानुसार नेपालमा अग्रगामी, लोकतान्त्रीक परिवर्तनका लागि भएका सबै जनआन्दोलन, शसस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गर्ने शहिदका परिवार, बेपत्ता पारिएका व्यक्तिको परिवार, लोकतान्त्रीक योद्धा, द्धन्द्ध पीडित र विस्थापित अपाङ्गता भएका व्यक्ति, घाइते तथा पीडितको अभिलेख संकलनका लागि दैलेखका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा लोकतन्त्रका योद्धा अभिलेखिकरण तथा सम्मान समिति गठन भएको सूचनामा उल्लेख छ ।
प्रशासनले द्धन्द्ध प्रभावित व्यक्ति, परिवार र संरचनाको लगत संकलन कार्यदलमा नामनामेसी समावेश नभएका व्यक्तिहरुले यथेष्ठ प्रमाण सहित जिल्ला प्रशासन कार्यालयमा ७ दिनभित्र निवेदन दिन आह्वान गरेको छ । निवेदन दिनका लागि स्थानीय शान्ति समितिले तयार गरेको विवरण, २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनका शहिद तथा घाइतेहरुको बारेमा अभिलेख तयार गर्न गठित समितिको प्रतिवेदन, २०४६ सालको जनआन्दोलनपछि गठित राजनीतिक पीडित समितिले तयार पारेको प्रतिवेदनमा भएको नामनामेसी, आवेदन वा सो सम्बन्धि कागजातहरु समावेश गर्नुपर्नेछ ।

प्रतिक्रिया