बालविवाह निषेधित वडा घोषणाको तयारी

बालविवाह निषेधित वडा घोषणाको तयारी

दैलेख : बालविवाह न्यूनिकरण गर्न गुराँस गाउँपालिका वडा नं ८ ले बालविवाह निषेधित वडा घोषणा गर्ने तयारी गरेको छ । बालविवाह न्यूनिकरण हुन नसकेका कारण निषेधित टोल, समुदाय हुदै समग्र वडा घोषणा गर्ने योजना गरेको हो । बालमैत्री वडा घोषणा गर्ने तयारी गरेको वडा नं ८ ले बालविवाह न्यूनिकरण हुन नसकेपछि टोल र समुदायलाई बालविवाह निषेधित वडा घोषणा गर्ने योजना बनाएको वडा अध्यक्ष पूर्णबहादुर वलीले बताए । उनले थपे, बालमैत्री स्थानीय शासन वडा घोषणा गर्नुपूर्व बालविवाह अन्त्य भएको हुनुपर्छ । बालविवाह अन्त्य भन्दापनि न्यूनिकरण समेत गर्न समस्या भएको हुदाँ बालविवाह निषेधित टोल घोषणा गर्ने उनको भनाई थियो ।
विगतमा हामीले गरेका केही राम्रा अभ्यासहरुले सकारात्मक परिवर्तन भएका छन्, उनले भने । मंसिर लागेपछि घरघरै विहे हुन्थे तर भोज भतेरमा जान हतार हुन्थ्यो । पैसाको जोहो गर्नुपथ्र्याे । अहिले सबै बन्द छ । गाउँमा विहे गरेको कसैलाई थाहा हुदैन् । मागी विवाह गर्ने प्रचलन हट्यो । अहिले बालबालिकाले आफै विहे गर्छन अनि उमेर पुगेपछि बाबुआमाको विवाह दर्ता र छोराछोरीको जन्मदर्ता एकैपटक गर्न आउछन् । उनले थपे, पहिलाको भन्दा घटेको पनि छ तर हाम्रो लक्ष्य अन्त्य गर्ने हो ।
बालविवाह निषेधित वडा घोषणा गर्नुपूर्व, १४ वर्ष देखि २० वर्षमुनिका किशोरकिशोरीको तथ्याँक सँकलन गर्ने, विहे गर्ने तयारीमा रहेका त्यस्ता किशोर किशोरी र उनीहरुका अभिभावकहरुसँग बालविवाहका असर र कानुनी कार्वाहीकाबारेमा संयुक्त छलफल गर्ने, उमेर नपुगी विवाह गर्ने जोडीलाई राज्यबाट उपलब्ध गराईने सेवा तथा सुविधाका साथै सिफारिस दिन रोक लगाउने, सन्देशमुलक चिठीसहित घरधुरी भेटघाट गर्ने र अन्तमा बढी बालविवाह हुने टोल तथा समुदायलाई बालविवाह निषेधित टोल घोषणा गर्ने लगाएतको कार्ययोजना वडा बालअधिकार समितिले बनाएको वलीले बताए ।
घरमा विहे गरेका हुन्छन् । जागिर खानुपर्दा विहे गरेको छैन भनेर सिफारिस माग्न आउछन् । सिफारिस नदिउ उनीहरुको काम हुदैन । सिफारिस दिउ विवाह गरेकालाई विवाह गरेको छैन् भनेर सिफारिस गर्नुछ । यो भन्दा ठुलो झुट अरु के हुन्छ । तर हाम्रो बाध्यता छ सिफारिस नगरिनहुने । त्यसैले अब सबै सिफारिस रोक्न बाध्यता भएको उनको भनाई थियो ।
विगतमा खुला दिशामुक्त स्थानीय निकाय घोषणा गर्दा अटेर गरी शौचालय नबनाउने घरपरिवारलाई राज्यले दिने सेवा सुविधाबाट वञ्चित बनाएपछि मात्रै सफल भएको उदाहरण दिदै बालविवाह गर्नेलाई कडा कानुनी कार्वाही नगरे बालविवाह न्यूनिकरण गर्न नसक्ने उनको भनाई थियो । त्यति नगरेको भए हामी अहिले पनि त्यहि जंगलमा शौच गर्ने अवस्थाबाट मुक्ति पाउने थिएनौ । बालविवाह निषेधित वडा, टोला घोषणाका लागि आर्थिक तथा प्राविधि सहयोग गर्न सामाजिक सेवा केन्द्र (सोसेक) नेपाललाई आग्रह गरे ।
विद्यार्थीले विद्यालयमा टिकटक बनाउने गर्छन् । कक्षा कोठामा मोवाईल चलाउने, लामो कपाल पाल्ने जस्ता बालबालिकामा देखिएका विकृतिले पनि बालविवाह बढ्न प्रोत्साहन गरेको बालक्लवका सदस्यहरु बताउँछन् ।
बालविवाह सामाजिक तथा साँस्कृतिक परम्पराका साथै एउटा व्यक्तिको व्यवहारसँग जोडिएको हुदाँ त्यति सजिलो नभए पनि सबैको प्रयासबाट अन्त्य गर्न सम्भव हुने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका बालसंरक्षण संयोजक निर्मल अधिकारीले बताए । नागरिक समाजका संस्थाले जचेतना बढाउने र उनीहरुको क्षमता विकासमा सहयोग गर्ने भए पनि अन्त्यमा कानुनको प्रभावकारी कार्यान्वयन, स्थानीय सरकारको सक्रियता र राज्यका संरचनाहरुको सक्रियताले मात्रै बालविवाह जस्ता सामाजिक अपराधहरु न्यूनिकरण हुन सहयोग पुग्ने अधिकारीको भनाई थियो । बालविवाह सामाजिक अपराध भएकाले यसलाई न्यूनिकरण गर्न सबैको भूमिका महत्वपूर्ण भएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका बालअधिकार प्रवद्र्धन श्रोत व्यक्ति पूर्णबहादुर महताराले बताए ।

प्रतिक्रिया