दैलेखका वनैपिच्छे डढेलो, ८ सय २२ हेक्टर वन क्षेत्रमा क्षति

दैलेखका वनैपिच्छे डढेलो, ८ सय २२ हेक्टर वन क्षेत्रमा क्षति

दैलेख : जिल्लाको विभिन्न सामुदायिक र राष्ट्रिय वनमा डढेलोले क्षति पुर्याएको छ । पछिल्लो समय जिल्लाका वनैपिच्छे डढेलो लागेको छ । राति सबैजसो वनमा डढेलो देखिने गरेको छ । ११ वटै स्थानीय तहका विभिन्न वन क्षेत्रमा डढेलो दन्किरहेको छ । मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग सहित सुर्खेत दैलेख सडकखण्डका छेउछाउका जंगलमा समेत आगलागी भइरहेको छ । 

आगलागीबाट बोटबिरुवा, जडिबुटी र वन्यजन्तु मासिएका छन् । जिल्लाभर तीन सय ८३ सामुदायिक वन, ७ वटा नीजि , २ वटा धार्मीक , ३३ वटा कबुलियती वन छन् । ती मध्ये हालसम्म २४ वटा सामुदायिक वन र एक राष्ट्रिय वनमा आगलागी भएको डिभिजन वन कार्यालय दैलेखले जनाएको छ । जिल्ला भरको ७७ हजार ४ सय ७५ हेक्टर वन क्षेत्र मध्ये आगलागीबाट ८ सय २२ हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ । खोटो र झोरो निकालेका सल्लाको वनमा आगो लाग्दा काँचा रूखसमेत जलेका छन्।

वनमा लागेको आगोले बस्तीसम्म क्षति पुर्याएको छ । भैरबी गाउँपालिकाको रावतकोटस्थित पोरोगाड सामुदायिक वन र गल्लापानी सामुदायिक वनमा लागेको आगो बस्तीमा पुगेको छ । वनमा लागेको आगो बस्तीमा पस्दा मध्यपहाडी राजमार्ग छेउछाउमा रहेका घर ध्वस्त पारेको छ । वनमा लागेको आगो बस्तीमा पस्दा बिहीबार दिउँसो  भैरबी गाउँपालिका–२ रावतकोटका दानबहादुर भण्डारीको घर पूर्णरुपमा क्षति भएको छ । 

घरमा रहेका लत्ता कपडा, अन्नपात सबै जलेर नष्ट भएको छ । सोहि ठाउँका भिमबहादुर थापाको घर आंशिक रुपमा जलेको भैरबी गाउँपालिकाका इन्जिनियर हीरासिहं थापाले बताए । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । वनमा लागेको आगोको लप्को मध्यपहाडी राजमार्गअन्तरगर्तको सडक नाघेर घरमा सल्किएको थियो । 

जिल्लाका अधिकांश वनमा स्थानीय नागरिकले जानीजानी डढेलो लगाउने गरेको डिभिजन वन कार्यालयका निमित्त डिभिजनल वन अधिकृत नवराज पौडेलले बताए । ‘स्थानीयले बर्खामा घाँस राम्रो हुने भन्दै यो सिजनमा आगो लगाउने गरेका छन्, सल्लाको वनमा कृषकले नै आगो लगाउँछन्,’ उनले भने, ‘कतिपय ठाउँमा जंगली जनावरहरु दुम्सी, बँदेललगायतका वन्यजन्तु बारीमा आएर अन्नबाली क्षति गर्न थालेको भन्दै आगलागी गरेको पाएको छ।’

उपभोक्ता र सर्वसाधारणलाई आगलागी न्यूनिकरण र वन जोगाउन बेला बेला सचेत गराउँदै आएको भएपनि केही ठाउँमा गलत मान्यता र लापरबाहीका कारण आगलागी नरोकिएको पौडेलले बताए । 

प्रतिक्रिया