घर मात्रै जलेन मन पनि जल्यो !

घर मात्रै जलेन मन पनि जल्यो !

दैलेख : आगलागीले घर जलेपछि सहयोग पाएको खाद्यान्न समेत जलेपछि गुराँस गाउँपालिका वडा नं ७ कि भुमिसरा थापाको मन पनि भतभति जलेको छ ।

अहिलेको आगलागीले डढेको जंगलसँगै थापाको घर पनि बाँकी राखेन् । अन्यत्र जंगलमा आगो लाग्दा उनको मनमै आगो लागेको छ । घरमा ६० नाघेका दिर्घरोगी श्रीमान छन् । रोगले थला परेका श्रीमान ओछ्यान कहिल्यै छोड्न सक्दैनन् । कलिलै उमेरमा विहे गरेकी छोरीको पनि घरवार राम्रो नभएपछि माइतमै बसेकी छन् ।

छोराको आशले बुढेशकालमा जन्माएको ११ वर्षिया छोरा पनि शारीरिक रुपमा स्वस्थ देखिदैनन् । अर्काे ६ वर्षिया कान्छो छोरा र ३ छोरी सहितको परिवारलाई दैनिक हातमुख जोर्न त धौ धौ थियो । अहिले आगलागीले गर्दा घरको छानो पनि उदाँगै छ । न बस्ने बास छ न जीवन निर्वाहका लागि खाद्यान्न ।
यही विपन्न परिवारलाई वडा नं ७ को वडा बालअधिकार समितिले दुई बोरा चामल, दुई केजी दाल, एक लिटर तेल र एक पोका नुन सहयोग गरेको थियो । साझेदार संस्थाको सहयोगमा समितिले उपलब्ध गराएको त्यही खाद्य सामाग्रीसमेत खाना नपाउँदै आगलागीबाट सबै नष्ट भएको भूमिसराले बताईन ।
सबै घरहरुलाई खरमुक्त बनाउने वडाको अभियान भए पनि कार्यान्वयनमा केही ढिला भएका कारण आगलागीले क्षति पु¥याएको वडा नं ७ का वडा अध्यक्ष हुकुम खत्रीले बताए । ‘हामी खरमुक्त घर बनाउने अभियानमा छौं, त्यस्ता विपन्न र गरिब घरपरिवारलाई पाता उपलब्ध गराएर भए पनि खरको छानो हटाउने सोचमा थियौं तर अहिलेको खडेरीले केही घरहरुलाई क्षति गरेको छ,’ उनले भने ।
आगलागी पछि भूमिसराको परिवारलाई दुई बोरा चामल र एक जोर कपडा उपलब्ध गराएको वडा अध्यक्ष खत्रीले बताए । उपलब्ध गराईएको सामाग्री पर्याप्त नभए पनि तत्काल राहतका लागि हो । बालबालिकाका अध्ययन सामाग्री सहित विद्यालय पोषाक पनि जलेका कारण विकास साझेदार संस्थाहरुले सहयोग गर्न खत्रीले आग्रह गरेका छन् ।
भूमिसराको उत्पादन योग्य जमिन पनि छैन् । भएको करिब ३ रोपनी जमिन सुख्खा छ । घरवरीपरि खरवारी भएकाले घर आगलागीको उच्च जोखिममा थियो ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख मार्फत वडा नं ७ मा कार्यरत फिल्ड अधिकृत सुमित्रा सारुले भनिन् ‘यस्ता जोखिममा रहेका बालबालिकालाई थप सहयोगको आवश्यकता छ, कापी कलम छन् पोषाक छैन्, विद्यालय पोषाक छ घरमा खाने छैन् ।’ यस्ता विपन्न र जोखिममा रहेका बालबालिकालाई सानो सहयोगले पर्याप्त नहुने उनको भनाई छ ।

प्रतिक्रिया