दैलेखमा बैशाख २१ गतेबाट निषेधाज्ञा लागू : के गर्न पाइन्छ, के पाइँदैन ?

दैलेखमा बैशाख २१ गतेबाट निषेधाज्ञा लागू : के गर्न पाइन्छ, के पाइँदैन ?

दैलेख : दैलेखमा गत बुधवार बिहान कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण ७५ बर्षीया पुरुषको मृत्यु भयो । नारायण नगरपालिका–१ पुरानो बजारका ती पुरुषलाई मंगलबार स्वास्थ्य सेवा कार्यालय अन्तरगतए दैलेख अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना भइसकेपछि कोरोना संक्रमणको आशंकमा एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसन अस्पतालमा सारिएको थियो । कोरोनाको नयाँ भेरिएन्ट देखिएका ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको दैलेख अस्पतालका डा. जगत थापाले बताए ।
शुक्रवार मात्रै कोरोना संक्रमणका कारण गर्भवती महिलाको मृत्यु भयो । संक्रमणका कारण नारायण नगरपालिका–६ की २७ वर्षीया गर्भवतीको मृत्यु भएको हो । शुक्रबार बिहान साढे ११ बजे अस्पताल पु¥याइएकी ती महिलाको एक घण्टापछि मृत्यु भएको डा. थापाले बताए । डा. थापाका अनुसार ती महिलाको बच्चा जन्मने मिति नाघिसकेको थियो । ‘बच्चा जन्मने मिति नाघिसकेकाले शल्यक्रियामार्फत प्रसूति गराउनुपर्ने हुनसक्छ भन्दै अस्पतालले वैशाख १२ गते नै सुर्खेत रिफर गरिसकेका थियौ,’ डा. थापा भन्छन् ‘घरपरिवारले हेलचक्राई गरेका कारण गर्भवती महिलाको ज्यान गुमाइन् ।’
स्वास्थ्य सेवा कार्यालयका अनुसार पछिल्लो चरण जिल्लामा नयाँ भेरिएन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेसँगै छ । संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गएको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । उनका अनुसार आइतवारसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या एक सय ३३ छ । संक्रमण पुष्टि भएका एक सय ४७ मध्ये १२ जना निको भएको र दुई जनाको मृत्यु भएको रेग्मीले बताए ।
जिल्लामा संक्रमणको दर बढ्न थालेपछि दैलेखमा बैशाख २१ गते मंगलवार राती १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । बैशाख २८ गते राती १२ सम्मका लागि एक साता निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । आइतवार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा जारी गर्ने निणर्य गरेको हो । संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ ले दिएको अधिकार प्रयोग गरी जिल्लाभर लागु हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए । स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्न, भीडभाड नगर्न, २५ जना भन्दा बढि भेला नगर्न आदेश दिएको स्थानीय प्रशासनले नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमण जिल्लामा तीव्ररुपमा फैलिएपछि कडाइ गर्दै निषेधाज्ञा जारी गरेको हो । दैलेख जिल्लाभर लागु हुने गरी अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा, सवारी साधन, पसल तथा व्यवसाय र आवश्यक बाहेकको कामकाजका लागि हुने हिंडडुलमा समेत निषेध गरिएको छ ।
निषेधाज्ञा अवधिभर शान्ति सुरक्षा, स्वास्थ्य, विद्युत, सूचना तथा सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटिएम, एग्रोभेट सेवा लगायतका अत्यावश्यक सेवाहरु तथा सार्वजनिक निर्माण कार्य जनस्वास्थ्यका मापदण्डहरु पूरा गरी सञ्चालन गर्न दिइनेछ ।
यस्तै एम्बुलेन्स, दमकल, शव बाहन, झन्डावाल सरकारी र कुटनीतिक निलो प्लेटका सवारी साधनहरु, अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु ढुवानी गर्ने सवारी साधनहरु (चालक र सह–चालक मात्र), परिचयपत्र÷पोशाकसहित अत्यावश्यक सेवा सञ्चालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारी साधनहरुलाई जनस्वास्थ्यका मापदण्डहरु पूरा गरी सञ्चालन गर्न दिइने छ । जिल्लाभर दैनिक उपभोग्य वस्तुहरु खाद्यान्न, फलफूल, तरकारी, ग्याँसका पसल तथा व्यवसाय जनस्वास्थ्यका मापदण्डहरुको पूर्ण रुपमा पालना हुनेगरी विहान ६ बजेदेखी साढे ८ बजेसम्म मात्र सञ्चालन गर्न निणर्य गरिएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जानकारी दिए ।

यस्ता छन् कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र, DCCMC निर्णयहरु :

निर्णय नं. १

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड-19 को संक्रमण र सोको नयाँ भेरियन्ट नेपालमा समेत फैलिएको र पछिल्ला दिनहरुमा दैलेख जिल्लामा समेत संक्रमण तीव्र रुपमा बढिरहेको हुँदा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन, 2020 को दफा 2 र स्थानीय प्रशासन ऐन, 2028 को दफा 6 को उपदफा (3) ले दिएको अधिकार प्रयोग गर्नेगरी कोभिड-19 संकट व्यवस्थापन सञ्चालन केन्द्र, DCCMC को मिति 2078/1/19  गतेको सिफारिसको सन्दर्भमा मिति 2078/1/21 गते राती 12:00 बजे देखी मिति 2078/1/28 गते राती 12:00 बजेसम्म दैलेख जिल्लाभर लागू हुने गरी अत्यावश्यक सेवा र सोका लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा, सवारी साधन, पसल तथा व्यवसाय र आवश्यक बाहेकको कामकाजका लागि हुने हिंडडुलमा समेत निषेध गर्ने प्रयोजनार्थ आदेश जारी गर्न प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समिति, दैलेखलाई अनुरोध गर्ने।

निर्णय नं. २

प्रमुख जिल्ला अधिकारीबाट जारी हुने आदेश जिल्लाभर कार्यान्वयन गराउनका लागि जिल्लास्थित सुरक्षा निकायहरुलाई परिचालन गराउनु पर्ने भएको र सोका लागि सवारी साधनहरुको अभाव रहेको सम्बन्धमा जिल्लास्थित सम्पूर्ण स्थानीय तहरुलाई एक ओटा सवारी साधन (पिकअप) व्यवस्थापन गरिदिन अनुरोध गर्ने।साथै जिल्लास्थित सम्पूर्ण स्थानीय तहहरुलाई सुरक्षा निकायहरुलाई आदेश कार्यान्वयनमा परिचालन गराउने प्रयोजनार्थ आवश्यक इन्धनको व्यवस्था गरिदिन अनुरोध गर्ने।

निर्णय नं. ३

स्वास्थ्य सेवा कार्यालय, दैलेखमा हाल विशेषज्ञ चिकित्सकको अभावका कारण कोरोना संक्रमणको उपचार गर्न र भेन्टिलेटर संचालनमा समेत कठिनाई भएको अवस्थालाई मध्यनजर गर्दै तत्काल सोको व्यावस्थापन गरिदिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा अनुरोध गरी पठाउने।

निर्णय नं. ४

जिल्लामा कोरोना भाइरस संक्रमणका केशहरु दिन प्रतिदिन बढ्दै गइरहेको, संक्रमितहरु मध्ये लक्षण भएका व्यक्तिहरुको संख्या ठूलो संख्यामा रहेको र हालै भारत लगायत जिल्ला बाहिरबाट आएका व्यक्तिहरुको संख्या ठूलो भएको हुँदा संक्रमणलाई जिल्लाको क्षमताको आधारमा नियन्त्रण भित्र राख्न जिल्लास्थित गैर सरकारी संस्थाहरु, उद्योगी व्यवसायी, पत्रकार, कर्मचारी, शिक्षक, जनप्रतिनिधि लगायत सरोकारवाला सम्पूर्णले कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचारार्थ सहयोगी भूमिका निर्वाह गर्ने।

निर्णय नं. ५

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारीबाट जारी हुने निषेधित आदेशको अवधिमा संक्रमणको Chain Break गर्न आवश्यक रहेको हुँदा Contact Tracing र Symptoms का आधारमा परीक्षणको दायरा बढाउने।

निर्णय नं. ६

कोभिड-19 सकंट संक्रमणको कारण मृत्यु हुने व्यक्तिहरुको तोकिएको मापदण्ड बमोजिम सदगत गर्नका लागि यस जिल्लामा नारायण नगरपालिका वडा नं. 1 स्थित श्रीस्थानमा आवश्यक व्यवस्थापन गर्ने।

निर्णय नं. ७

आदेश अवधिभर शान्ति सुरक्षा, स्वास्थ्य, विद्युत, सूचना तथा सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको ATM, एग्रोभेट सेवा लगायतका अत्यावश्यक सेवाहरु तथा सार्वजनिक निर्माण कार्य जनस्वास्थ्यका मापदण्डहरु पूरा गरी सञ्चालन गर्न दिने।

निर्णय नं. ८

आदेश अवधिभर एम्बुलेन्स, दमकल, शवबाहन, झन्डावाल सरकारी र निलो (कुटनीतिक) प्लेटका सवारी साधनहरु, अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु ढुवानी गर्ने सवारी साधनहरु (चालक र सह-चालक मात्र), परिचयपत्र/पोशाकसहित अत्यावश्यक सेवा सञ्चालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारी साधनहरुलाई जनस्वास्थ्यका मापदण्डहरु पूरा गरी सञ्चालन गर्ने।

निर्णय नं. ९

आदेश अवधिभर दैनिक उपभोग्य वस्तुहरु (खाद्यान्न, फलफूल, तरकारी, ग्याँस)का पसल तथा व्यवसाय जनस्वास्थ्यका मापदण्डहरुको पूर्ण रुपमा पालना हुनेगरी विहान 6 बजेदेखी 8:30 बजेसम्म मात्र सञ्चालन गर्न दिने।

निर्णय नं. १०

कोरोना भाइरसको नमूना परीक्षणको सन्दर्भमा लक्षणयुक्त व्यक्ति र Contact Tracing मा परेकाहरुलाई चिकित्सकको सिफारिसमा नि:शुल्क परीक्षणको व्यवस्था मिलाउने र अन्य व्यक्तिहरुको परीक्षणको लागि CCMC को निर्णय बमोजिम स्वास्थ्य सेवा कार्यालयले तोकेको शुल्क अनिवार्य तिर्नुपर्ने।

निर्णय नं. ११

कोभिड-19 संक्रमणको उपचार, रोकथाम तथा नियन्त्रणका लागि आवश्यक प्रवर्द्धनात्मक एवं व्यवस्थापकीय कार्यहरु गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा तपसिल बमोजिमका सदस्यहरु रहने गरी कोभिड-19 सूचना, समन्वय र सहजीकरण कार्यदल गठन गर्ने।उक्त कार्यदलले तोकिए बमोजिमका जिम्मेवारीहरु पूरा गरी प्रत्येक दिनको 5 बजे भित्र कोभिड-19 संकट व्यवस्थापन संचालन केन्द्र DCCMC दैलेखलाई प्रतिवेदन गर्ने।


प्रतिक्रिया