विपक्षीको विरोधकाबिच लुम्बिनी प्रदेशका मुख्यमन्‍त्री शंकर पोखरेलले लिए शपथ

विपक्षीको विरोधकाबिच लुम्बिनी प्रदेशका मुख्यमन्‍त्री शंकर पोखरेलले लिए शपथ

बुटवल : आइतबार बिहान राजीनामा गरेर दिउँसो पुनः नियुक्ति पाएका लुम्बिनी प्रदेशका मुख्यमन्‍त्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  भर्खरै पोखरेलले लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रदेश प्रमुखबाट शपथ लिएका हुन् । प्रदेश प्रमुखको कार्यालयमा विपक्षी सांसदले शपथ राेक्न धर्ना दिएपछि पोखरेलले मुख्यमन्त्रीको कार्यालयमै शपथ लिएका हुन् । 

दिउँसो मात्र नेपाल कम्युनिस्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति सार्वजनिक गर्दै संविधानको धारा १६८ को उपाधार (१) बमोजिम प्रदेश मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरेको जानकारी दिएको हो ।

पोखरेलले आइतबार बिहान संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए ।नयाँ सरकार बनेको दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाउने संवैधानिक प्रावधानलाई मध्यनजर गर्दै मुख्यमन्त्री पोखरेलले आइतबार राजीना दिएका थिए । राजीनामा लगत्तै आफ्नो पक्षमा बहुमत रहेको जानकारी गराएका पोखरेल पुनःमुख्यमन्त्री बनेका हुन् । अविश्वासको प्रस्तावमाथि मतदान गरेर हटाउने विपक्षीको प्रयासलाई छल्न पोखरेलले यो राजनीतिक खेल खेलेको देखिन्छ । 

प्रतिक्रिया