दैलेखमा भयावह बन्दै कोरोनाः डेढ सातामा ६ जनाको मृत्यु

दैलेखमा भयावह बन्दै कोरोनाः डेढ सातामा ६ जनाको मृत्यु

दैलेखः कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दैलेखमा पनि दैनिक रुपमा तिव्र गतिमा फैलिएको छ । पछिल्लो डेढ सातायता नयाँ सक्रमितहरु थपिने क्रम बढ्दोछ । मृत्युदर पनि बढिरहेको छ । आइतवार बिहान मात्रै कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भयो ।

नारायण नगरपालिका–८ का ७० वर्षीय बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको दैलेख अस्पतालका डा. जगत थापाले जानकारी दिए । डा. थापाका अनुसार उनी केही दिनअघि मात्रै काठमाडौँबाट दैलेख आइपुगेका थिए । आइतवार विहान स्वास्थ्यमा समस्या देखिन थालेपछि अस्पताल भर्ना गरिएका ती बृद्धको उपचारकै क्रममा निधन भएको डा. थापाले बताए ।

उनी पूर्व स्वास्थ्यकर्मी हुन् । योसँगै पछिल्लो चरण जिल्लामा नयाँ भेरिएन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । पछिल्लो डेढ सातामा ६ जनाको मृत्यु भएको हो ।

(बैशाख १५ गते) बुधवार कोरोना संक्रमणका नारायण नगरपालिका–१ पुरानो बजारका ७५ वर्षीय बृद्धको निधन भएको थियो । उनको उपचारकै क्रममा निधन भएको हो ।  त्यसको दुई दिनपछि (बैशाख १७ गते) शुक्रवार मात्रै कोरोना संक्रमणका कारण एक गर्भवती महिलाको मृत्यु भएको थियो । संक्रमणका कारण नारायण नगरपालिका–६ की २७ वर्षीया गर्भवतीको मृत्यु भएको हो ।

लगत्तै (बैशाख २० गते) सोमबार दुल्लु नगरपालिका–१२ लम्सुका ३५ वर्षीय पुरुषको मृत्यु भएको  थियो । उनको घरमै निधन भएको हो । त्यसको दुई दिनपछि (बैशाख २२ गते) बुधवार कोरोना भाइरस संक्रमणबाट एक पुरुषको निधन भयो ।

भैरबी गाउँपालिका–४ भैरीकालिकाथुमका ४५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । आरटी–पीसीआर परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी दैलेखस्थित आइसोलेसन अस्पतालमा उपचाररत थिए । उनको स्वास्थ्यअवस्था थप जटिल बन्न थालेपछि स्पतालले सुर्खेत रिफर गरेको थियो ।

थप उपचारका लागि सुर्खेततर्फ लैजाँदै गर्दा दैलेख सुर्खेत सडक खण्डको जीरो पोइन्ट नजिकै उनको मृत्यु भएको हो । कोरोना संक्रमणबाट मृत्यु भएका ती पुरुष शिक्षक हुन् । उनि भैरबी गाउँपालिका–४ स्थित गौरी माध्यामिक विद्यालय बालेकाँडामा कार्यरत थिए ।

त्यसको भोलिपल्टै कोरोना संक्रमणकै कारण नारायण नगरपालिका–८ का ५२ वर्षीय पुरुषको मृत्यु भएको छ । (बैशाख २३ गते) बिहीवार साँझ ती पुरुषको निधन भएको हो । नेपालगन्जबाट रिफर भइ दैलेख अस्पतालको आइसोलेसनमा उपचारत ती पुरुषको उपचारकै क्रममा निधन भएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । अघिल्लो वर्ष कोरोना संक्रमणका कारण ६ जनाको निधन भएको थियो।

जिल्लामा नयाँ भेरिएन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुनेको संख्या तीन सय ७० पुगेको छ । ६७ जना कोरोनाका बिरामी निको भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए ।

उनका अनुसार अहिले दैलेख अस्पतालको आइसोलेसनमा २७ जना उपचाररत छन् । अधिकांश कोरोनाका बिरामीहरु होम आइसोलेसनमै छन् । उनले जिल्लामा कोरोना संक्रमण भयावह रहेको बताए ।

‘दैलेखमा कोरोनाको अवस्था भयावह छ, संक्रमण पुष्टि हुने व्यक्तिहरु नै बिमामा पेश गर्नका लागि रिपोर्ट सार्वजनिक भएकै दिन रिपोर्ट लिन आउने गर्नुहुन्छ,’ रेग्मीले भने ‘निषेधाज्ञाको पालना नगर्ने र जनस्वास्थ्यका मापदण्डहरु पालना नगर्दा कोरोना संक्रमणको अवस्था झन भयावह हुनसक्छ ।’

यता जिल्लामा संक्रमणको दर बढ्न थालेपछि दैलेखमा बैशाख २१ गते मंगलवार राती १२ बजेदेखि  लागु हुने गरी जारी गरिएको निषेधाज्ञा जारी नै छ । जिल्ला प्रशासन कार्यालय दैलेखले एक सताका लागि जारी गरेको निषेधाष बैशाख २८ गते राति १२ सकिदैँछ ।

प्रतिक्रिया