दैलेखमा कोरोनाबाट वृद्धाको मृत्यु, मृतककाे संख्या १४ पुग्याे

दैलेखमा कोरोनाबाट वृद्धाको मृत्यु, मृतककाे संख्या १४ पुग्याे

दैलेख : दैलेखमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित बिरामीको मृत्यु भएको छ । मंगलबार बिहान ८० वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । नारायण नगरपालिका–९ की ती महिलाको उपचारको क्रममा दैलेख अस्पतालमै मृत्यु भएको उनले बताए । 

स्वास्थ्यमा समस्या आएपछि दैलेख अस्पतालमा भर्ना भएकी ती महिलाको एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । 

जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई हजार ७० पुगेको छ । दैलेखमा पहिलो पटक २०७७ जेठ ५ गते आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकलाई कोरोना भाइरस संक्रमणको पुष्टि भयो । त्यसयता झण्डै एघार महिनामा जिल्लामा दुई हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार थप ५५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । 

योसँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई हजार ७० पुगेको हो । हालसम्म एक हजार छ सय १६ जना कोरोनाका बिरामी निको भइसकेका छन् । हाल दैलेख अस्पतालको आइसोलेसनमा ३७ जना कोरोनाका बिरामी उपचाररत छन् भने चार सय ३ जना कोरोनाका बिरामी घरमै छन् । 

प्रतिक्रिया